Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युक्रेन युद्ध अन्त्यको संकेत

काठमाडौं । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, ‘पश्चिम र किएभ’ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाइ छ। रूसी राष्ट्रपतिले मंगलबार मस्कोमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए।
गत महिना प्रकाशित चीनको योजनाले रूसी सेनालाई युक्रेनी भूभाग छाड्न स्पष्ट आह्वान गरेको छैन। १२ बुँदाहरू सूचीबद्ध योजनामा कुनै विशेष सर्तविना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ। युक्रेनले कुनै पनि वार्ताका लागि रूसले आफ्नो भूभाग छाड्नुपर्ने बताएको छ। तर रूस त्यसो गर्न तयार भएको संकेत देखिँदैन।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सोमबार ‘युक्रेनी भूभागबाट रूसी सेनालाई हटाउनबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रूसको जितलाई अनुमोदन गर्न बल पु¥याउने’ बताएका थिए। जिनपिङसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने,‘चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ। तर, त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ।’ तर, रूसले युद्धको दोस्रो पक्षबाट यस्तो तत्परता देख्न नसकेको उनले बताए।
रूसी नेतासँगै उभिएका जिनपिङले आफ्नो सरकार शान्ति र वार्ताको पक्षमा रहेको र चीन इतिहासको सही पक्षमा रहेको बताए। उनले बेइजिङलाई सम्भावित शान्ति निर्माणका रूपमा प्रस्तुत गर्न खोज्दै युक्रेन युद्धबारे चीन निष्पक्ष रहेको दाबी गरे।
यी दुई शीर्षस्थ नेताले आफ्ना देशहरूबीचको बढ्दो व्यापार, ऊर्जा र राजनीतिक सम्बन्धका बारेमा पनि छलफल गरेका थिए। ‘चीन रूसको प्रमुख वैदेशिक व्यापार साझेदार हो,’ राष्ट्रपति पुटिनले चीनसँगको गत वर्ष सुरू भएको उच्चस्तरीय व्यापार सम्बन्ध कायम राख्ने वाचा गर्दै भने।
यसअघि जिनपिङले चीन र रूसलाई महान छिमेकी शक्ति तथा रणनीतिक साझेदारको संज्ञा दिएका थिए। पश्चिमा देशहरूलाई चीनले रूसलाई सैन्य सहायता उपलब्ध गराउनेबारे चिन्ता बढ्दो छ। ब्रसल्समा सैन्य संगठन नेटोका प्रमुख यान्स स्टोलटेनबेर्गले सहयोगी राष्ट्रहरूले चीनले रूसलाई घातक हतियार उपलब्ध गराएको कुनै प्रमाण नदेखेको बताए।
तर, रूसले हतियारका लागि अनुरोध गरेको र बेइजिङमा त्यसबारे विमर्श भइरहेको संकेतहरू देखिएको उनको भनाइ छ। चीन र रूसले जारी गरेको संयुक्त विज्ञप्तिमा दुई देशबीचको साझेदारी अन्तर्गत सैन्य–राजनीतिक गठबन्धन नगरेको जनाइएको छ। यो सम्बन्ध गुटबन्दी नगर्ने, आक्रामक नहुने र तेस्रो देशविरूद्ध निर्देशित नहुने उनीहरूले बताएका छन्। पुटिनले पत्रकार सम्मेलनमा पश्चिमले पारमाणविक अवयवसहित हतियारहरू तैनथ गरेको आरोपसमेत लगाए। उनले ब्रिटेनले युरेनियम निर्मित गोला बारुद युक्रेनमा पठाए रूस त्यसको प्रतिक्रिया जनाउन बाध्य हुने चेतावनी दिए। ब्रिटेनको रक्षा मन्त्रालयले भने युरेनियमको पारमाणविक अस्त्रसँग कुनै सम्बन्ध नभउको जनाएको छ।


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल