Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रबिको फोटो खिच्नेलाई कारबाही कि खिच्न दिनेलाई के कारबाही

४ पुस, काठमाडौं । २ कात्तिकदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा बस्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको फोटो बुधबार सार्वजनिक भयो । सुरुमा यो फोटो कसको हो र कहाँको भन्ने अन्यौल भयो । तर पछि प्रहरी हेडक्वाटरले यो फोटो रवि लामिछानेकै भएको पुष्टि गर्‍यो ।

सामाजिक सन्जालमा फोटो भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई बिहीबार बिहानै टेलिफोन गरी फोटोको वास्तविकताबारे सोधपुछ गरेका थिए । गृह स्रोतका अनुसार जवाफमा कुँवरले उक्त फोटो कास्की प्रहरी हिरासतकै रहेको र सुत्ने व्यक्ति रवि नै रहेको बताएका थिए । हिरासतको फोटो बाहिरिएपछि कास्की प्रहरीलाई यसबारे छानबिन गर्न भनेको पनि आईजी कुँवरले बताएको गृह स्रोत बताउँछ ।

आफूलाई सामाजिक अभियन्ता दाबी गर्ने निकोलस भुसालले उक्त तस्बिर आफूले खिचेको सामाजिक सञ्जाल फेसबुकमार्फत नै बताएका थिए । पछि फेसबुकमा लाइभमा आउँदै उनले उक्त तस्बिर आफूले सीसीटीभी फुटेजबाट लिइएको खुलाएका छन् ।

उनले भनेका छन्, मैले यो फोटो सीसीटीभी क्यामेराको फुटेजबाट खिचेको हुँ । खास मैले नखिच्नुपर्ने थियो । तर खिचेछु । उहाँ रविको प्रेसर बढेको भन्ने सुनेर म बुझ्न गएको थिएँ, हौसला दिउँ भनेर गएको थिएँ । त्यतिबेला मैले सीसी क्यामेराको फुटेजबाट फोटो लिएको हो । प्रहरीलाई बद्नाम गराउने मेरो नियत पनि होइन ।

भुसालले भनेजस्तै उक्त तस्बिर सीसीटीभी फुटेजबाट लिएको देखिएको पनि प्रहरीको आन्तरिक छानबिनले देखाएको छ । हिरासत कक्षमा भेट्न जाने व्यक्तिहरुलाई मोबाइल लैजान नदिने गरेको र फोटोको अवस्था हेर्दा पनि उक्त तस्बिर सीसीटीभीको डेक्सटपमा देखिएको दृश्यबाट दिइएको देखिन्छ प्रहरी स्रोतले भन्यो ।

कास्की प्रहरी स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा ६ वटा हिरासत कक्ष छन् । ती हिरासत कक्षमा करिब २० वटा सीसीक्यामेरा जडान गरिएको छ । रविलाई भने कास्की प्रहरीको दोस्रो तलाको हिरासत कक्षमा राखिएको छ ।

उक्त सीसी क्यामेराको निगरानी कन्ट्रोल रुमबाट गरिएको हुन्छ । कास्की प्रहरीको कन्ट्रोल रुम अर्कै भवनमा गेट नजिक छ । कन्ट्रोल रुममा बरिष्ठ सई र सञ्चार शाखाको निगरानीमा हुन्छ । त्यहाँ २४ सैं घण्टा अन ड्युटी हुन्छ । उक्त फोटो कन्ट्रोल रुममा गएर डेक्सटपबाट खिचिएको खुलेको छ ।

स्क्रिनको फोटोको समय हेर्दा उक्त फोटो डिसेम्बर १४ तारिख मंसिर २९ गते को दिन दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेण्डमा खिचेको पाइएको छ ।

प्रहरीको २४ सैं घण्टा निगरानीमा हुने उक्त कन्ट्रोल रुमसम्म पहुँच पुर्‍याएर हिरासतको फोटो खिच्नु र त्यो बाहिरिनुलाई अधिकारीहरु सुरक्षामा गम्भिर कमजोरी भएको बताउँछन् ।

गण्डकी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी भोलाबहादुर रावल भन्छन्, फोटोको बारेमा छानबिन गरेर वास्तविकता पत्ता लगाउन भनेर लेखी पठाएका छौं । सम्बन्धित मान्छेले स्वीकारेको भन्ने कुरा पनि आएको छ । अब त्यतिबेला को–कसको ड्युटी थियो । घटना कसरी भयो भन्नेबारे छानबिनपछि मात्रै खुल्ला । त्यसपछि कारबाहीको विषयमा निर्णय हुने उनी बताउँछन् ।

यता कास्की प्रहरीले पनि घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ । कास्की प्रहरीका प्रमुख तथा एसपी श्यामबाबु ओलियाले घटनाबारे छानबिन सुरु गरिएको बताए । फोटो के–कसरी खिचे, कसरी एक्सेस पुर्‍याए भन्नेबारे अहिले छानबिनकै क्रममा रहेकाले केही भन्ने सक्ने अवस्था नरहेको उनी बताउँछन् । खिच्नेलाई हुने कारबाहीबारे पनि अध्ययनपछि मात्रै भन्न सकिने उनले बताए ।

प्रहरीको सुरक्षा घेराभित्र रहेको र हिरासतजस्तो संवेदनशील ठाउँको फोटो बाहिरिनु सुरक्षाको दृष्टिकोणले राम्रो नभएको जानकारहरुको बुझाइ छ । यसमा व्यक्तिको गोपनीयताको कुरादेखि मानव अधिकारका कुराहरु पनि जोडिने र सुरक्षाको दृष्टिले पनि जोखिमपूर्ण मानिने जानकारहरु बताउँछन् ।

नेपाल प्रहरीका पूर्वएआईजी बमबहादुर भण्डारी भन्छन्, यदि हिरासतकै फोटो बाहिरिएको हो भने सुरक्षाको दृष्टिले राम्रो होइन । फोटो सत्य हो भने यसमा सुरक्षा कमजोरी भएको देखिन्छ ।

हिरासतको फोटो बाहिरिनुले सुरक्षाको कमाण्डमा प्रश्न उठ्नु स्वाभाविक रहेको जानकारहरुको बुझाइ छ । जेल, हिरासत, राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थल, अति संवेदनशील क्षेत्रको सेक्युरिटी एरियाको फोटो बाहिरिनुले थप सुरक्षा चुनौती हुन्छ । यस्तोमा सुरक्षा कमाण्डको भूमिकामा प्रश्न उठ्छ । सुरक्षामा लापरबाही देखिन्छ पुष्टि हुन्छ एक पूर्वएआईजी भन्छन् ।

अहिलेको अवस्थामा यो फोटोलाई सुरक्षाको दृष्टिले मात्रै नहेरी अन्य कोणबाट पनि विश्लेषण गनुपर्ने तर्क केही प्रहरी अधिकारीहरुको छ । सुरक्षाको दृष्टिकोणले त नराम्रो होला । जुन तरिकाले मानव अधिकार हनन् भयो भन्ने कुरा आएको थियो । यो कोणबाट पनि हामीले हेर्नुपर्छ पूर्वडीआईजी हेमन्त मल्ल भन्छन् ।

कानुनका जानकारहरुका अनुसार यसरी कसैको अनुमति विना फोटो र भिडियो खिच्न र सार्वजनिक गर्न पाइँदैन । अधिवक्ता विनोदमणि भट्टराई भन्छन्, ‘कसैको फोटो अनुमति विना खिच्नु, तोडमोड गर्नु र सार्वजनिक गर्नु दण्डनीय छ । मुलुकी संहितामै यो व्यवस्था छ । न्यायिक हिरासतमा राखेको व्यक्तिको पनि फोटो भिडियो सार्वजनिक गर्न पाइँदैन ।

फोटो खिच्नेलाई विद्युतीय अपराधको कसुरमा कारबाही गर्ने प्रहरीको तयारी छ । यदि भुसालले भनेजस्तै उनैले यो फोटो खिचेर बाहिर ल्याएको पुष्टि भएमा उनी साइबर कसुरमा पक्राउ पर्न सक्ने छन् । यसबारे कास्कीका प्रहरी प्रमुख एसपी ओलिया भन्छन्, थप पुष्टि गर्ने र बुझ्ने काम भइरहेको छ । प्रमाणित भएको अवस्थामा कारबाहीको दायरामा ल्याउँछौं ।

फोटो खिच्नेलाई साइबर अपराधमा कारबाही हुने बताइए पनि फोटो खिच्न दिने वा आफ्नो सुरक्षामा रहेको कन्ट्रोल रुमको राम्रो निगरानी नगर्नेलाई के कारबाही हुने भन्नेबारे प्रहरीले केही बताएको छैन । यसबारे गण्डकी प्रदेशका डीआईजी भन्छन्, छानबिनपछि मात्रै कारबाहीको टुंगो लाग्छ । अहिले केही भन्न सक्ने अवस्था छैन ।