Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविको स्वास्थ्य समस्या कस्तो हो ?

काठमाडौं । चुनावको मिति नजिकिँदा जाँदा मैदानमा रविलाई नदेखिएको धेरै भयो । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको खुट्टामा लागेको चोटले दुख दिएपछि अस्पताल भर्ना हुनु परेको छ । उनलाई हिजो चिकित्सकहरूको सल्लाहअनुसार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । रविलाई चोट लागेको धेरै दिन भइसकेको थियो । गत माघ ५ गते रास्वपाका प्रधानमन्त्री उम्मेदवार बालेन्द्र साहसँगै रवि जनकपुरमा आयोजित आमसभामा सहभागी भएका थियो । आमसभामा जाँदै गर्दा उनलाई चोट लागेको रविका प्रमुख स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए । सभामा जाने क्रममा ठूलो भिडले रविलाई पछ्याएको थियो । भिडबाटै धकेलिँदै गर्दा उनलाई अगाडि रहेको इँट्टाको होचो पर्खाल देखेनन् । पर्खालमा रहेको कुनै वस्तुमा रविको देब्रे खुट्टाको घुँडाभन्दा मुनिको हड्डीमा ठोक्किएको आचार्य बताउँछन् । घटनाबारे सुनाउँदै उनले भने, मञ्चमा उक्लिनुअघि एउटा पर्खाल रहेछ, भिडले गर्दा उहाँले देख्नुभएन । भिडमा धकेलिँदै गर्दा सायद इँट्टाको धारमा उहाँको खुट्टा बजारिएछ । तत्कालै रगत बगेन, तर निलो भएर बसेको थियो । त्यसबेला के भयो भनेर हेर्न मिल्ने समेत स्थिति थिएन । उनले केमा ठोकियो भनेर समेत मेसो पाएका थिएनन् । दुखाइको परवाह नगरी रवि मञ्चमा उक्लेर भाषण गरेका थिए । रविलाई लागेको चोटबारे त्यसबेला कसैले पनि थाहा नपाएको आचार्य बताउँछन् । जनकपुरको सभा सकेर बालेन झापा लागे भने रवि पर्सा आए । भोलिपल्ट पर्साको अदालतमा उनको मुद्दाको पेसी थियो भने चुनावको मनोनयन दाखिला गर्ने दिन पनि थियो । अदालतले उनलाई एक करोड धरौटी माग्यो । धरौटी तिरेर मात्रै छुट्नुपर्ने भएपछि रवि मनोनयनपत्र दाखिला गर्न चितवन जान भ्याएनन् । र, वारेसमार्फत मनोनयन दर्ता गरियो । रवि धरौटी बुझाएर बेलुकी मात्रै चितवन फर्किए । दुखाइ बढ्दै गएपछि भोलिपल्ट चितवनकै मेडिकलमा चेकअप गराएका थिए । एक्सरेमा ठूलो घाउ वा फ्र्याक्चर नदेखिएकाले डाक्टरले मामुली औषधि लेखिदिए । त्यसपछि रवि आफ्नो सेड्यूल अनुसार काठमाडौं आए । दुखाइकै कारण रवि केही दिन सार्वजनिक कार्यक्रममा जान सकेनन् । यद्यपि, उनी बेडरेस्टमा भने थिएनन् । पार्टीका मानिसहरूसँग भेटघाट गरिरहेका थिए । बीचमा एक दिन पार्टी कार्यालय पनि गए । पार्टीका नेताहरूसँग अनौपचारिक छलफल गरे । खुट्टाको समस्याले अझै दुस्ख दिइरहेपछि रवि हिजो टिचिङ अस्पताल पुगेका हुन् । चिकित्सकले घाउ इन्फेक्सन भइसकेको र समस्या उत्पन्न हुन सक्ने भनेर अस्पतालमै बस्न सुझाव दिएका थिए । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै खुट्टाको घाउमा ‘सेलुलाइटिस’ भएको जनाएको छ । सेलुलाइटिस भनेको त्वचाको गहिरो तह (डर्मिस र सबक्युटेनियस टिस्यु) मा हुने ब्याक्टेरियल संक्रमण हो । यो सामान्यतया स्टेप्टोकोकस वा स्ट्याफिलोकोकस जस्ता ब्याक्टेरियाले गर्दा हुन्छ, जसले छालामा चोटपटक, घाउ, काटिएको ठाउँ वा अन्य कुनै खुला भागबाट शरीरभित्र प्रवेश गर्छ । यो संक्रमणले प्रभावित क्षेत्रमा सुन्निने, रातो हुने, तातो महसुस हुने र दुख्ने समस्या निम्त्याउँछ । चिकित्सकहरूका अनुसार यदि समयमै उपचार नगरेमा यो संक्रमण छिट्टै फैलिन सक्छ र गम्भीर जटिलता (जस्तै सेप्सिस, रगतको संक्रमण वा अंग फेल) निम्त्याउन सक्छ । रवि अस्पतालको हाडजोर्नी विभागमा भर्ना भएका छन् । नशाबाट एन्टिबायोटिक्स दिएर उपचार भइरहेको अस्पतालका प्रवक्ता डा गोपाल सेढाईले बताएका छन् । रविको खुट्टामा ब्यान्डेज गरिएको छ । तर, हिजो पूरै खुट्टा प्लास्टर गरिएको एआईनिर्मित तस्बिरहरू भाइरल भएका थिए ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल