Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग कुरा नमिलेपछि काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाहले आफूले छुट्टै पार्टी हाँक्ने तयारी गरेका छन्। लौरो चुनाव चिह्न लिएर निर्वाचन आयोगमा दर्ता भएको देश विकास पार्टीको नेतृत्व आफूले सम्हाल्ने उनले बुधबार निकटस्थहरूलाई बताएका छन्। सोमबार राति रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच लामो वार्ता भएको थियो। निकटस्थहरूले यसलाई ‘सुखद सुरुवात’ पनि भनेका थिए। तर, सो वार्तामा शक्ति बाँडफाँटमा कुरा नमिलेको, रविले बालेनलाई होच्याउने गरी प्रस्ताव गरेको र रविले लगत्तै बोली फेरेको बालेन पक्षको आरोप छ।
रविले चितवन पुगेर दिएको अभिव्यक्तिले बालेन अझ बढी झस्किएको उनी निकटस्थहरूले बताए। सोही कारण मिलेर जानसक्ने सम्भावनाबारे पुनर्विचार गर्ने निर्क्यौलमा उनी पुगेका हुन्। रास्वपाले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारे मात्रै मिल्न सकिने उनको भनाइ छ। रास्वपाका सभापति रवि लामिछानेसँग शक्ति बाँडफाँट सम्मानजनक हुनुपर्छ भन्नुको अर्थ आउने चुनावमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन तयार हुनुपर्छ भन्ने हो, प्रधानमन्त्रीको उम्मेदवार हाम्रो बटमलाइन हो, बालेनका एक सहयोगीले भने, यदि भएन भने देशविकास पार्टीलाई अगाडि लाने हो, त्यही अनुसार तयारी अघि बढिसक्यो। बालेनले काठमाडौँ महानगरपालिकाको मेयर लौरो चुनाव चिह्न लिएर जितेका थिए। लगत्तै सोही चिह्न लिएर हाम्रो नेपाली पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो। सोही पार्टीको नाम अहिले परिवर्तन गरेर देश विकास पार्टी राखिएको छ। देश विकास पार्टीको अध्यक्ष अनन्तराज घिमिरे छन्। सोमबार राति रविसँग लामो वार्तामा खासगरी शक्ति बाँडफाँटमा कुरा नमिलेपछि रास्वपासँग संवाद जारी राख्ने तर आफ्नै पार्टीलाई अगाडि बढाउने तयारी थालेका हुन्। बुधबार बालेनले आफ्ना सहयोगीहरूसहित काठमाडौँको ज्वागलमा रहेको कुमार बेनको घरमा ९ घण्टा विभिन्न व्यक्तिसँग छलफल गरे। रविसँगको भेटपछि प्रत्यक्ष निर्वाचित कार्यकारी मुलुकको हितमा नहुने निष्कर्षमा आफू पुगेको पनि बालेनले सो छलफलमा बताए। संविधान मानेर जाने हो। संविधानमा सामान्य संशोधन हुन सक्छन्। तर, एक जना व्यक्तिलाई कार्यकारी अधिकार भनेर असीम अधिकार दिँदा के हुँदो रहेछ, मैले महसुस गरेँ, बालेनको भनाइ उधृत गर्दै ती सहयोगीले भने, कसैलाई पनि अपार अधिकार दिने व्यवस्था गरियो भने हाम्रो देशको भूराजनीति मिल्दैन। जे पनि हुनसक्छ। त्यही भएर संविधानमा प्रत्यक्ष निर्वाचित भन्ने कुरामा हामी नलागौँ। सुशासनका कुरा गरौँ, विकासको कुरा गरौँ। पार्टीको नामै देशविकास पार्टी छ।
रास्वपाका नेता असीम शाहको घरमा सोमबार ६ घण्टा बालेन–रविबीच छलफल भएको थियो। बालेनले मिलेर जाने भए शक्ति बाँडफाँट, संरचनमा आफ्नो उपस्थिति लगायतका कुरा रविसँग सोधेका थिए। तर, त्यसबारे रविले सकारात्मक जवाफ नदिएको बरु पार्टी प्रवेश गर्न वा साधारण सदस्य भएर आउन भनेको बालेनले आफू निकटस्थलाई बताएका छन्। यो अभिव्यक्तिले अप्ठेरो मानिरहेका बालेनलाई रविले चितवन पुगेर बोलेको कुराले अझ झस्कायो। मंगलबार चितवन पुगेका रविले बालेनलाई प्रधानमन्त्री दिएर जाने विषयमा छलफल नभएको बताएका थिए। यो अभिव्यक्तिले बालेन बिच्किएको उनी निकटस्थहरू बताउँछन्। यसपछि आफ्नै अगुवाइमा गठन भएको पार्टी चलाउने निष्कर्षमा उनी पुगेका हुन्। यद्यपि, केही नेताहरूले रास्वपासँग बालेनलाई मिलाउन अझै पनि प्रयास जारी राखेका छन्। रास्वपासँग मिल्नै नसक्ने घोषणा बालेन पनि गरिसकेका छैनन्। बुधबार बालेनले भगवान कोइराला, सम्भव सिरोहिया, विनोद चौधरी, ज्ञानेन्द्र शाही, रेशम चौधरी लगायत सय बढी मानिससँग एक्लाएक्लै र सामूहिक छलफल गरेका छन्। बालेन कुलमान घिसिङसँग भेट गर्ने तयारीमा छन्।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल