Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीबाट भएको क्षति, उद्धार, राहत तथा पुनर्स्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्।

तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिबारे छलफल गर्न लामिछानेले बैठक आह्वान गरेका हुन्।

रास्वपा सचिवालयका अनुसार बैठक बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई आमन्त्रण गरिएको छ।

बुधबार आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति भएको छ। भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा रहेका कतिपय बस्ती बाढीले बगाएको छ भने ठूलो संख्यामा मानिस प्रभावित भएका छन्।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखेका छन्। सर्वदलीय बैठकमा प्रभावितको उद्धारसँगै तत्काल राहत, पुनर्स्थापना तथा आगामी दिनमा अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ।