Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रसुवागढीपछि तातोपानी नाका पनि चीनले बन्द गर्‍यो, नेपाल–चीन व्यापारमा थप धक्का

काठमाडौं । बाढीले नेपाल–चीनको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार पूर्ण रूपमा क्षतिग्रस्त भएको अवस्थामा चीनले सिन्धुपाल्चोकस्थित तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेको छ। दुई प्रमुख नाकामध्ये एकपछि अर्को बन्द हुँदा नेपाल–चीन व्यापार प्रभावित हुने जोखिम बढेको छ।

तातोपानी भन्सार कार्यालयका प्रमुख दीपेन्द्र प्रकाश गिरीका अनुसार चीनले भदौ १४ गतेदेखि नाका अस्थायी रूपमा बन्द गरेको हो। चीनले नाका बन्द गर्ने जानकारी दिए पनि त्यसको स्पष्ट कारण भने खुलाएको छैन।

उनका अनुसार पर्यटक सवारीसाधनको आवागमन भने रोकिएको छैन। तर चीनबाट नेपालतर्फ आउने कार्गो तथा मालवाहक सवारीसाधनलाई प्रवेश दिइएको छैन।

भन्सार विभागका एक अधिकारीका अनुसार चीनले आफ्नो भन्सार कार्यालय मर्मतसम्भारका लागि नाका बन्द गरेको जानकारी दिएको छ। मितेरी पुलनजिक रहेको चिनियाँ भन्सार कार्यालयलाई माथिल्लो स्थानमा सार्ने तयारी भइरहेकाले त्यसकै व्यवस्थापनका लागि नाका बन्द गरिएको ती अधिकारीले बताए।

तातोपानी भन्सारका अनुसार चीनबाट अन्तिम पटक भदौ १२ गते आठवटा कन्टेनर नेपाल आएका थिए। त्यसयता थप कन्टेनर नेपाल प्रवेश गरेका छैनन्।

यता, मुस्ताङस्थित कोरला भन्सार नाका सञ्चालनमा रहे पनि नियमित सवारीसाधनबाहेक मालवाहक सवारीसाधनको जाँचपास हुन सकेको छैन। कोरला भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार नाका सञ्चालनमा रहेकाले चीनबाट सामान बोकेका गाडी आए उपलब्ध संरचना र जनशक्तिबाट काम गर्न सकिने अवस्था छ।

केरुङमा १७६ मालवाहक गाडी रोकिए

रसुवागढी नाका बाढीले बगाएपछि चीनको केरुङ क्षेत्रमा नेपालतर्फ आउनुपर्ने १७६ वटा मालवाहक गाडी रोकिएका छन्।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार तीमध्ये करिब २० देखि २५ वटा गाडी सामान लोड भइसकेको अवस्थामा छन्। ती गाडीमा फलफूल, लत्ताकपडा, जुत्ता–चप्पल, कस्मेटिकलगायत दसैं–तिहार तथा जाडोयामका लागि लक्षित सामग्री रहेका छन्।

केरुङमा रोकिएका मालवाहक कन्टेनर नेपाल ल्याउने विषयमा संघले सोमबार परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गरेको थियो। भेटमा संघले फलफूल कोरला नाकाबाट ल्याउँदा लामो समय लाग्ने र बाटोमै कुहिने जोखिम हुने भएकाले तातोपानी नाकाबाट ल्याउने व्यवस्था मिलाउन आग्रह गरेको कार्कीले बताए।

यसअघि भन्सार विभागले पनि भदौ १३ गते सूचना जारी गर्दै व्यापारीलाई कोरला नाका प्रयोग गर्न आग्रह गरिसकेको छ। विभागले भन्सार परिवर्तनका लागि आवश्यक सहजीकरण गर्ने जनाएको छ। तर त्यसका लागि चिनियाँ पक्षको समेत स्वीकृति आवश्यक पर्ने भएकाले परराष्ट्र मन्त्रालयमार्फत थप पहल गर्नुपर्ने अवस्था छ।

कार्कीका अनुसार अहिले केरुङ क्षेत्रमा करिब ७०–७१ जना नेपाली सवारी चालक रहेका छन्। सबै सामान एकैपटक नेपाल ल्याउन सम्भव नभएकाले सामान ल्याउने नाका निश्चित भएपछि थप चालक पठाएर कन्टेनर ल्याउन सकिने उनको भनाइ छ।

अरनिको राजमार्ग सञ्चालनमा

तातोपानी नाका बन्द भए पनि नेपालतर्फको अरनिको राजमार्गमा भने हाल सवारीसाधन सञ्चालनमा कुनै समस्या नरहेको सडक डिभिजन कार्यालय चरिकोटले जनाएको छ।

सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार गत असार ३१ गते कोदारी खण्डमा पहिरो गएपछि करिब डेढ महिना सडक अवरुद्ध भएको थियो। भदौ ८ गते पहिरो हटाएर यातायात सञ्चालनमा ल्याइएको थियो।

त्यसपछि पनि दुई–तीन पटक पहिरो गए पनि तत्काल हटाएर सडक सञ्चालनमा ल्याइएको भण्डारीले बताए। सम्भावित आकस्मिक पहिरो व्यवस्थापनका लागि हेभी इक्विपमेन्टसमेत तयारी अवस्थामा राखिएको उनले जानकारी दिए।

उनका अनुसार हाल अरनिको राजमार्ग पूर्ण रूपमा सञ्चालनमा छ।

कोरला सडकमा भारी कन्टेनरलाई जोखिम

उता, कोरला नाका जोड्ने कालीगण्डकी करिडोरमा पनि सामान्य सवारी आवागमनका लागि समस्या नरहेको करिडोर कार्यालयले जनाएको छ।

कालीगण्डकी करिडोरका प्रमुख तेजस शर्माका अनुसार गाडी तथा कन्टेनर सञ्चालन गर्न सकिने अवस्था छ। तर दुई स्थानमा रहेका बेलिब्रिजका कारण १८–२० टनभन्दा बढी वजनका कन्टेनर सञ्चालन गर्दा समस्या हुन सक्छ।

गत वर्षको बाढीले कागबेनी र रुप्सेको पुल बगाएपछि ती स्थानमा बेलिब्रिज जडान गरिएको थियो। त्यसैले २० टनभन्दा बढी सामान बोकेका मालवाहक सवारीसाधन सञ्चालन गर्दा जोखिम रहने शर्माले बताए।

यसरी रसुवागढी नाका बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त हुनु र तातोपानी नाका चिनियाँ पक्षबाट अस्थायी रूपमा बन्द गरिनुले नेपाल–चीन व्यापारको मुख्य आपूर्ति मार्गमा दबाब बढेको छ। विशेषगरी दसैं–तिहार र जाडोयामका लागि आयात गरिएका सामान केरुङमा रोकिँदा त्यसको असर नेपाली बजारमा पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ।