Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजदूत नियुक्तिकाे विज्ञापन खुल्दै

काठमाडौं । नेपाल सरकारले पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्त गर्ने तयारी अघि बढाएको छ।

अहिलेसम्म परराष्ट्र मन्त्रालयका कर्मचारी वा सत्तारुढ दलहरूको सिफारिसका आधारमा राजदूत नियुक्ति हुने परम्परा रहँदै आएको थियो। तर वर्तमान सरकारले यो अभ्यास परिवर्तन गर्दै प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्ति गर्ने योजना बनाएको हो।

परराष्ट्र मन्त्री शिशिर खनालको सचिवालय स्रोतका अनुसार, निश्चित संख्यामा विज्ञापन आह्वान गरी प्रतिस्पर्धाबाट योग्य उम्मेदवार छनोट गरेर राजदूत नियुक्त गरिनेछ। सोमबार मन्त्रालयमा आयोजित सहसचिवहरूको बैठकमा मन्त्री खनालले केही पद खुला प्रतिस्पर्धाबाट भर्ने सोच रहेको जानकारी दिएका थिए। यद्यपि विज्ञापन कहिले खुल्ने भन्ने स्पष्ट मिति भने सार्वजनिक गरिएको छैन।

स्रोतका अनुसार, मन्त्रीले रिक्त पदका लागि विज्ञापन निकाल्ने विषयमा प्रधानमन्त्रीको सहमति प्राप्त गरिसकेको जानकारी बैठकमा दिएका थिए। यसले चाँडै प्रक्रिया सुरु हुने संकेत गरेको छ। सचिवालयका एक सदस्यका अनुसार, अर्को हप्ता नै खुला दरखास्त आह्वान हुनसक्ने सम्भावना छ।

राजदूत नियुक्ति सम्बन्धी निर्देशिका, २०७५ अनुसार कुल पदमध्ये कम्तीमा ५० प्रतिशत क्यारियर कूटनीतिज्ञ (परराष्ट्र मन्त्रालयका कर्मचारी) र बाँकी ५० प्रतिशत राजनीतिक नियुक्तिबाट पूर्ति गर्नुपर्ने व्यवस्था छ।

हाल नेपालका ४४ विदेशस्थित नियोगमध्ये ३४ दूतावास र १० वाणिज्य दूतावास रहेका छन्। अहिले भारत, चीन, अमेरिका, बेलायतलगायत १७ वटा राजदूत पद रिक्त छन्। विगतमा नियुक्त राजदूतहरूलाई नयाँ सरकार गठनपछि फिर्ता बोलाइएको थियो।

यसैबीच, आगामी जुलाई अन्त्यसम्म थप ६ राजदूतको कार्यकाल सकिँदैछ—ब्राजिल, बहराइन, बंगलादेश, म्यानमार, अष्ट्रिया, ओमान र इजिप्टका राजदूतहरूको। त्यसपछि सरकारले एकैपटक २४ जना नयाँ राजदूत नियुक्त गर्ने अवसर प्राप्त गर्नेछ।