Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजनीतिक प्रभाव गुमाउँदै शेरबहादुर देउवा, कांग्रेसभित्र पनि कमजोर बन्दै प्रभाव

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पछिल्लो समय राजनीतिक रूपमा कमजोर बन्दै गएको विश्लेषण हुन थालेको छ। एक समय नेपाली राजनीतिका प्रभावशाली नेताका रूपमा चिनिएका देउवा अहिले उपचारका लागि विदेशमा रहेका छन् भने उनी कहिले स्वदेश फर्किने भन्ने विषय पनि चासोको केन्द्र बनेको छ।

२०८१ असार १७ गते नेकपा एमालेसँग सात बुँदे सहमति गरी सत्ता साझेदारी गरेपछि देउवाको राजनीतिक प्रभाव क्रमशः खस्किएको टिप्पणी राजनीतिक वृत्तमा हुन थालेको छ। उक्त सहमतिपछि उनी आफ्नै पार्टीभित्र समेत आलोचनाको केन्द्र बनेका थिए।

एमाले–कांग्रेस गठबन्धन सरकारको नेतृत्वमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि देशव्यापी असन्तुष्टि चुलिएको थियो। सरकारको उक्त निर्णयविरुद्ध सुरु भएको आन्दोलन पछि ‘जेन–जी आन्दोलन’ का रूपमा विकसित भएको थियो।

भदौ २४ गते आन्दोलन हिंसात्मक बनेपछि सिंहदरबार, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो। सोही क्रममा बूढानीलकण्ठस्थित निवासमा आक्रोशित भीडले आक्रमण गरेपछि देउवाले सुरक्षाकर्मीको सहयोगमा ज्यान जोगाएका थिए।

जेन–जी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको थियो। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग गरेपछि पार्टीभित्र ध्रुवीकरण बढेको थियो।

उपचारका लागि विदेश गएका देउवाले विशेष महाधिवेशनको माग अस्वीकार गर्दै नियमित महाधिवेशनको मिति घोषणा गरे पनि त्यसले पार्टीभित्रको असन्तुष्टि झन् बढाएको थियो।

पार्टीभित्रको विवाद चर्किंदै जाँदा विशेष महाधिवेशनमार्फत गगन थापा नयाँ सभापतिमा निर्वाचित भएका थिए। निर्वाचन आयोगले समेत थापा नेतृत्वलाई आधिकारिकता दिएपछि देउवा पक्ष थप कमजोर बनेको थियो।

गगन थापाको नेतृत्वलाई चुनौती दिँदै देउवा पक्ष अदालत पुगे पनि सर्वोच्च अदालतले थापा नेतृत्वलाई नै वैधानिकता प्रदान गरिदिएको थियो। त्यसपछि कांग्रेसभित्र देउवाको प्रभाव थप कमजोर बन्दै गएको देखिएको छ।

यद्यपि पार्टी एकताका लागि दुवै पक्षबीच केही चरणमा छलफल भए पनि हालसम्म ठोस सहमति हुन सकेको छैन।

पछिल्लो समय देउवा परिवार विभिन्न अनुसन्धानको घेरामा समेत परेको छ। पूर्वपरराष्ट्रमन्त्री तथा देउवापत्नी आरजु राणा देउवा ई–पासपोर्ट खरिद प्रक्रियामा भएको भनिएको अनियमितता सम्बन्धी अनुसन्धानमा तानिएकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा सम्बन्धित अधिकारी तथा विदेशी कम्पनीका प्रतिनिधिहरूमाथि समेत अनुसन्धान अघि बढाएको छ।

यस घटनाक्रमले देउवा परिवारमाथि राजनीतिक र कानुनी दबाब थपिएको विश्लेषण गरिएको छ।

पार्टी नेतृत्व परिवर्तन, चुनावी पराजय, परिवारमाथिको अनुसन्धान तथा लामो समय विदेश बसाइका कारण देउवाको आगामी राजनीतिक भूमिकाबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।

यद्यपि कांग्रेसभित्र अझै पनि देउवा समूह प्रभावशाली रहेको र भविष्यमा उनी पुनः सक्रिय राजनीतिमा फर्किन सक्ने आकलन समेत गरिँदै आएको छ।