Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राजश्व चुहावटको अभियोगमा मुद्दा

काठमाडौं । सरकारले करिव तीन अर्ब रुपैयाँको नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट गरेको अभियोगमा १५ जना विरुद्ध मुद्दा हालेको छ । राजस्व अनुसन्धान विभागले सुनसरीका गोपालप्रसाद भट्टराई, बिराटनगरका रिमध्वज कार्की, दुई कर सहयोगी, तीन लेखापरीक्षकसहित १५ जना बिरुद्ध दुई अर्ब ९८ करोड ५७ लाख रुपैयाँको बिगो कायम गरी मुद्दा हालेको हो । भट्टराईलाई तीन बर्ष कैद र विगोको दुई गुणा जरिवानाको माग जिल्ला अदालत काठमाडौंसँग गरेको छ । झुट्टा तथा नक्कली विजक तयार एवं विक्री गरी राजस्व छली गरेको आरोप भट्टराईमाथि छ । विनोद धमाला, सन्तोषकुमार कार्की, मेघबहादुर श्रेष्ठ, धनबहादुर भोम्जन, भरतबहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सूचीकार समेतका नाममा विभिन्न ८ वटा फर्महरु दर्ता गराई ठगी गरिएको भेटिएको छ ।
ती फर्महरुको सम्पूर्ण आर्थिक कारोवार गर्ने व्यक्ति गोपालप्रसाद भट्टराई र रिम्वरध्वज कार्की हुन् । त्यस्ता फर्महरुबाट वास्तविक रुपमा बस्तु तथा सेवाको खरिद बिक्री कारोबार नै नगरी झुठ्ठा बिजक तयार गरी तिर्नुपर्ने कर दायित्व नतिर्ने प्रपन्च रचेको विभागको दावी छ । यस्ता फर्महरुले वस्तु तथा सेवाको वास्तविक खरिद(बिक्री कारोबार नै नगरी बिजक मात्र जारी गर्ने गरेको पाइएको छ । उनीहरुले भ्याटको विजक मात्र विभिन्न फर्मका नाममा जारी गरी राजस्व छली गर्ने गरेका थिए । विभागका अनुसार, उनीहरुले ९० करोड १६ लाख ८४ हजार ४९० रुपैयाँको झुट्टा बिजक जारी गरेका थिए । त्यसकैका आधारमा विभागले २ अर्ब ९८ करोड ५७ लाख रुपैयाँको विगो कायम गरेको हो । बाँकी प्रतिवादीलाई भट्टराईको भन्दा आधा सजायको माग विभागले गरेको छ ।