Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि १ करोड खोप सुनिश्चित गरे

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने काम गरिरहेको बताए । वर्तमान सरकारले आफ्नो करिब ३ महिने कार्यकालमा १ करोड थप खोप लगाउने काम गरेको उनको भनाई छ ।

राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि पनि १ करोड खोप सुनिश्चित गरिएको बताए । उनले भने, ‘करिब ३ महिनाको अवधिमा १ करोड थप खोप लगाइसकिएको जानकारी गराउन चाहन्छु । किनभने हामीले १ करोेड ७७ लाख खोप ल्याइसकेका छौं । यो दसैँसम्म ३३ प्रतिशत जनतालाई खोप लगाइसक्ने जानकारी पनि गराउन चाहन्छु ।’राज्यमन्त्री श्रेष्ठले हाल आएर एक दिनमा ३ लाख जनतालाई खोप लगाइरहेको समेत जानकारी दिए । उनले भने,  फ्रन्ट लाईनरहरुलाई खोपमा उच्च प्राथमिकता दिइएको छ । १४ वटा हिमाली जिल्लाहरुमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियानलाई सुरु गरिएको छ । बालबालिकाहरुका लागि पनि १ करोड खोपको सुनिश्चित गरिएको छ ।’

राज्यमन्त्री श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरूको सुधार गर्न सरकार लागि परेको बताए । कार्यक्रममा बोल्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगबाट बच्नका लागि धुम्रपान तथा प्रदूषणबाट बच्ने र नियमित शारीरिक व्यायाम गर्न सबै नागरिकलाई आह्वान गरे । उनले नेपालमा मुटु रोगको भयावह अवस्था देखिएको उल्लेख गर्दै त्यसको उपचारका लागि सहज हुने व्यवस्था गर्न सरकारलाई पनि सुझाव दिए । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मुटुरोग लाग्न नदिने गरी व्यायाम गर्न आफूले ललितपुर महानगरपालिका भित्र साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएको जानकारी दिए । उनले साइकल चढेर नागरिकहरुले शारीरिक व्यायाम गरुन् भनेर ललितपुर महानगरपालिका भित्रको चक्रपथमा १५ दशमलव ८ किलोमिटर साइकल ट्रयाक बनाउने योजना तय गरेको समेत बताए । कार्यक्रममा मुटुरोग विशेषज्ञ डा. रवि मल्ल, क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्रप्रसाद बराल, मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्ले, स्नायु रोग विशेषज्ञ डा.वसन्तराज पन्त र समाजसेवी कृष्ण कँडेललाई सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल

छुद्रताको प्रतिफल खाँदै ओली

२०८२ फाल्गुन २७

ताजा नेपाल