Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। पार्टीका तीन पूर्वअध्यक्ष तथा एक वरिष्ठ नेताले शुक्रबार बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि पार्टीभित्रको असन्तुष्टि थप उजागर भएको हो।
काठमाडौंमा आयोजित केन्द्रीय समिति बैठकमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा तथा पार्टीका उपाध्यक्ष विक्रम पाण्डे अनुपस्थित रहे। उनीहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठकमा सहभागी नभएको स्रोतले जनाएको छ।
पार्टीभित्र धवलशम्शेर राणाको समूह बाहिरिएपछि आन्तरिक विवाद मत्थर हुने अपेक्षा गरिए पनि पछिल्लो घटनाक्रमले नेतृत्वप्रतिको असन्तुष्टि अझै कायम रहेको संकेत गरेको छ। बहिष्कारमा उत्रिएका नेताहरूले अध्यक्ष लिङ्देनले सामूहिक नेतृत्वको भावना विपरीत पार्टी सञ्चालन गरिरहेको आरोप लगाएका छन्।
यसअघि बिहीबार बसेको कार्यसम्पादन समिति बैठकमा पनि ती नेताहरूले अध्यक्षको खुलेर आलोचना गरेका थिए। पार्टी सञ्चालन, निर्णय प्रक्रिया तथा संगठनात्मक गतिविधिमा पर्याप्त परामर्श नगरी अध्यक्षले एकल ढंगले निर्णय लिने गरेको उनीहरूको गुनासो रहेको बताइएको छ। असन्तुष्टि जनाउँदै तीन पूर्वअध्यक्ष बैठक नसकिँदै बाहिरिएका थिए भने उपाध्यक्ष पाण्डे अन्त्यसम्म बसेका थिए।
विवादको मुख्य कारणमध्ये एक केन्द्रीय समिति बैठकमा गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा राप्रपाबाट उम्मेदवार बनेर पराजित भएका व्यक्तिहरूलाई सहभागी गराउने प्रस्ताव रहेको बताइएको छ। अध्यक्ष लिङ्देनले ती उम्मेदवारहरूलाई छलफलमा भाग नलिने तर बैठकमा उपस्थित हुन पाउने व्यवस्था गर्न प्रस्ताव गरेका थिए।
तर, पूर्वअध्यक्षहरू र उपाध्यक्ष पाण्डेले उक्त प्रस्ताव पार्टी विधानविपरीत रहेको भन्दै आपत्ति जनाएका थिए। उनीहरूको भनाइमा केन्द्रीय समिति सदस्य नभएका व्यक्तिलाई बैठकमा सहभागी गराउने निर्णयले संगठनात्मक पद्धति र विधानको मर्ममाथि प्रश्न उठाउनेछ। अध्यक्ष लिङ्देन आफ्नो प्रस्तावबाट पछि नहटेपछि असन्तुष्ट नेताहरूले बैठक बहिष्कार गर्ने निर्णय लिएको स्रोतको दाबी छ।
राप्रपाभित्र पछिल्लो समय नेतृत्व, संगठन विस्तार तथा पार्टी सञ्चालन शैलीलाई लिएर विभिन्न धारणा देखिँदै आएका छन्। पार्टीका वरिष्ठ नेताहरूबीच नेतृत्वको भूमिका, निर्णय प्रक्रियामा सहभागिता तथा भावी रणनीतिबारे मतभेद बढ्दै गएको देखिन्छ।
राजसंस्था पुनर्स्थापना र हिन्दु राष्ट्रको एजेन्डालाई केन्द्रमा राखेर राजनीतिक गतिविधि गरिरहेको राप्रपामा पछिल्ला दिनमा संगठनात्मक एकताभन्दा आन्तरिक विवाद बढी चर्चामा आउन थालेको छ। वरिष्ठ नेताहरूको बैठक बहिष्कारलाई पार्टीभित्रको शक्ति संघर्ष र नेतृत्वप्रति बढ्दो असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।
पार्टी नेतृत्वले भने संगठनलाई थप सशक्त बनाउने उद्देश्यले विभिन्न तहका नेता–कार्यकर्ताको सहभागिता बढाउन खोजिएको बताउँदै आएको छ। यद्यपि, वरिष्ठ नेताहरूको असन्तुष्टि समाधान गर्न नसकिए आगामी दिनमा पार्टीभित्रको विवाद थप गहिरिन सक्ने राजनीतिक वृत्तमा चर्चा भइरहेको छ।
२०८३ असार ६
ताजा नेपाल
२०८३ असार ६
ताजा नेपाल
२०८३ असार ५
ताजा नेपाल