Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रपति निर्वाचनमा छिमेकीको सकसक

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता गर्न प्रस्ताव गरेको बताएका छन्। ओलीले आफूसँग चार घन्टा लामो भेटवार्ता गरेको र पार्टी एकता गरेर ठूलो पार्टी बनाउन प्रस्ताव गरेको बताएका हुन्। बुधबार बसेको पार्टी पदाधिकारीहरूको बैठकमा नेता नेपालले यस्तो बताएका हुन्। राष्ट्रपति निर्वाचनका लागि प्रमुख राजनीतिक दलहरूबीच उम्मेदवार चयन गर्र्ने विषयमा रस्साकस्सी चलिरहेको बेला एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग भेटेर पार्टी एकताका साथै राष्ट्रपति उम्मेदवार बन्न चर्चा चलिरहेको छ।
नेता नेपालले भने ओलीसँग तत्काल सहकार्य हुने सम्भावना नरहेको बैठकमा बताएका थिए। माओवादी केन्द्र पनि ओलीसँगको सहकार्यबाट अलग हुन खोजेको नेपालको भनाइ थियो। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ओलीसँगको सहकार्यबाट टाढिन खोजेको नेपालले बताएका छन्। ‘प्रचण्डजी पनि ओलीसँगको सहकार्यबाट अलग भइसक्नु भएको मलाई लागेको छ। राष्ट्रपतिको चुनावपछि पुरानै गठबन्धन ब्युतिन्छ मलाई लागेको छ,’ अध्यक्ष नेपालको भनाइ उद्धृत गर्दै एकीकृत समाजवादीका एक नेताले बताए। राष्ट्रपति निर्वाचनको सन्दर्भलाई जोडेर राजनीतिक दलहरू तत्कालीन पाँचदलीय गठबन्धन ब्यँुत्याउनपतर्m पनि अगाडि बढि रहेका छन्।
पछिल्लो समय शीर्ष नेताहरूबीच भइरहेको भेटवार्ता र राष्ट्रपति निर्वाचनको सन्दर्भमा पनि यो विषय उठ्न थालेको छ। कांग्रेस र एकीकृत समाजवादीको बैठक चलिरहेकै बेला कांग्रेस उपसभापति पूर्णबहादुर खड्का बैठक छाडेर बालुवाटार पुगे। एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेता घनश्याम भुसाल र महासचिव बेदुराम भुसालसँग कांग्रेस नेताहरूको सभापति देउवा निवासमा बैठक चलिरहँदै खड्का बालुवाटार पुगेका थिए। राष्ट्रपति चुनावकै सन्दर्भमा तत्कालीन गठबन्ध ब्युँत्याउने विषयमा नेताहरूबीच छलफल भएको बताइएको छ।
कांग्रेस सभापति देउवाले बुधबार नै जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन्। देउवाको निवास धुम्बराही पुगेर यादवले भेटवार्ता गरेका हुन्। भेटका क्रममा देउवाले राष्ट्रपति निर्वाचनमा आफूहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। जवाफमा यादवले ठूला दलहरूलाई मिल्नु पर्ने बताएका थिए। ‘उहाँले राष्ट्रपतिमा हामीलाई सहयोग गर्नुुस् भन्नुभयो, मैले तपाईंहरू मिल्नुस् हामी साथमै छौं भने,’ यादवले भने।

छिमेकीको सकसक
राष्ट्रपति चयन गर्न राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहेको बेला छिमेकी मुलुकहरूले पनि चासो व्यक्त गर्न थालेका छन्। राष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरू कसरत गरिरहेका बेला प्रधानमन्त्री प्रचण्डसँग भारतीय र चिनियाँ राजदूतले भेटवार्ता गरेका छन्। चिनिया राजदूत छन् सोङले प्रधानमन्त्री प्रचण्डलाई भेटेपछि भारतीय राजदूत नवीन श्रीवास्तवले उनीसँग भेटवार्ता गरेका हुन्। दुवै विदेशी कूटनितिज्ञहरूले राष्ट्रपति निर्वाचनबारे चासो राखेको बताइएको छ। जवाफमा प्रचण्डले राजनीतिक दलहरूबीच सहमतिको प्रयास भइरहेको बताएका थिए। चिनियाँ राजदूत सोङले आजै एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग पनि भेटवार्ता गरेका थिए। फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यक्रम छ।