Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय समितिलाई तत्काल पूर्णता नदिने भएका छन्। विधानले सभापतिलाई मनोनयनमार्फत केन्द्रीय समिति तथा रिक्त पदाधिकारी पदपूर्ति गर्ने अधिकार दिए पनि लामिछानेले त्यसलाई क्रमशः कार्यान्वयन गर्ने संकेत गरेका छन्।
रास्वपाको विधानअनुसार सभापतिले ५१ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्छन्। त्यस्तै, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्षसमेत सभापतिले मनोनीत गर्नुपर्ने व्यवस्था छ।
विधानमा मनोनयनका लागि निश्चित समयसीमा तोकिएको छैन। यही व्यवस्थालाई आधार बनाउँदै लामिछानेले केन्द्रीय समिति पूर्ण गर्न हतार नगर्ने संकेत गरेका हुन्।
बुधबार रास्वपा सांसदहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले केन्द्रीय समितिलाई पूर्णता दिने काम पाँच वर्षभित्र गर्न सकिने बताएका छन्। शुक्रबार बस्ने केन्द्रीय समिति बैठकको एजेन्डामा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको विषय राखिएको छ। तर लामिछानेको अभिव्यक्तिअनुसार उक्त बैठकबाट सबै रिक्त पदमा एकैपटक मनोनयन हुने सम्भावना छैन।
उनले मनोनयन क्रमशः हुने संकेत गर्दै “भोलि चार जना गरौँला, पर्सी पाँच जना गरौँला, अर्को दिन १० जना गरौँला” भनेका छन्।
रास्वपाभित्र रिक्त पदाधिकारी र केन्द्रीय सदस्यमा प्रधानमन्त्री बालेन्द्र शाहनिकट पक्षको सहभागिताबारे पनि चर्चा छ। नेताहरूका अनुसार एक उपसभापति र एक महामन्त्रीसहित ५१ केन्द्रीय सदस्यमध्ये १८ जना बालेन पक्षबाट ल्याउने सम्भावनाबारे छलफल भइरहेको छ।
तर बालेन पक्षका नेताहरूले भने शुक्रबार हुने बैठकबाट आफ्नो पक्षका कुनै पनि व्यक्ति मनोनीत नहुने दाबी गरेका छन्। मधेश प्रदेशको अधिवेशनपछि मात्रै प्रधानमन्त्री शाहले नाम अघि सार्ने उनीहरूको भनाइ छ।
मधेश प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ। कतिपय वडा र पालिका तहका अधिवेशनसमेत बाँकी रहेकाले मधेशको संगठनात्मक अवस्थालाई हेरेर मात्रै केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने नाम टुंगो लगाइने बालेन पक्षका नेताहरू बताउँछन्।
लामिछानेले भने पार्टीभित्र दुई धारका आधारमा नाम संकलन भइरहेको भन्ने चर्चा अस्वीकार गरेका छन्। उनका अनुसार मनोनयनका लागि कसैले छुट्टाछुट्टै नाम दिनेभन्दा पार्टीभित्र छलफल गरेर योग्य व्यक्तिलाई जिम्मेवारी दिइनेछ।
यसैबीच सभापति लामिछाने मधेश प्रदेशमा पार्टीका अधिवेशनको वातावरण बनाउन आफैँ मधेश यात्रामा जाने तयारीमा छन्।
रास्वपाका नेताहरूका अनुसार उनले पर्साको ठोरीबाट यात्रा सुरु गर्ने र मधेशका विभिन्न जिल्लाको संगठनात्मक अवस्था बुझ्ने तयारी गरेका छन्। भदौ १२ पछि लामिछाने मधेश यात्रामा निस्कने तयारी रहेको बताइएको छ।
मधेश प्रदेशको अधिवेशन सम्पन्न नगरी रास्वपाले केन्द्रीय महाधिवेशन गरेको थियो। त्यसैले अब बाँकी संगठनात्मक प्रक्रिया पूरा गर्दै केन्द्रीय समितिमा मधेशको प्रतिनिधित्व सुनिश्चित गर्ने विषय पनि सभापति लामिछानेको प्राथमिकतामा देखिएको छ।
२०८३ भाद्र ५
ताजा नेपाल
२०८३ भाद्र ५
ताजा नेपाल
२०८३ भाद्र ५
ताजा नेपाल