Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा गर्ने कार्यक्रम रहेको छ।
भरतपुरस्थित गेष्टहाउस चौरमा आयोजना हुने उद्घाटन समारोहका लागि आवश्यक तयारी लगभग पूरा भएको पार्टीले जनाएको छ। समारोहस्थललाई रवि लामिछाने र बालेन शाहका तस्बिरसहित सजाइएको छ।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिहरूबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको छ। महाधिवेशनस्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायतका कार्यहरू अन्तिम चरणमा पुगेका छन्।
उनका अनुसार महाधिवेशनको तयारीका लागि १८ वटा उपसमिति गठन गरिएको थियो। राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदनहरू पनि तयार भइसकेका छन्।
महाधिवेशनमा पार्टी विधान संशोधनको प्रस्ताव पनि प्रस्तुत गरिनेछ। प्रस्तावित संशोधनअनुसार केन्द्रीय समितिको आकार बढाएर १५१ सदस्यीय बनाइनेछ।
नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, एक महिलासहित तीन उपसभापति, दुई महामन्त्री, एक महिलासहित पाँच सहमहामन्त्री, एक प्रवक्ता, एक महिलासहित तीन सहप्रवक्ता, एक कोषाध्यक्ष तथा एक महिलासहित दुई सहकोषाध्यक्ष रहने व्यवस्था गरिनेछ।
हालको विधानमा पदाधिकारीमा महिला अनिवार्य व्यवस्था नभए पनि संशोधित विधानले महिला सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
प्रस्तावित विधानअनुसार १५१ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् भने बाँकी ५१ जना सदस्य पार्टी सभापतिले मनोनयन गर्न सक्ने व्यवस्था रहनेछ।
समावेशितालाई प्राथमिकता दिँदै प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच जना केन्द्रीय सदस्य सुनिश्चित गरिने प्रस्ताव छ। साथै, प्रदेश सभापतिहरूलाई पदेन सदस्य बनाउने व्यवस्था पनि समावेश गरिएको छ।
पार्टी नेतृत्वका अनुसार महाधिवेशनले संगठन सुदृढीकरण, भावी राजनीतिक रणनीति निर्धारण तथा नयाँ नेतृत्व चयनलाई प्राथमिकतामा राख्नेछ।
विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयहरूमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ। महाधिवेशनले आगामी कार्यदिशा तय गर्नुका साथै संगठन विस्तार र जनसम्बन्ध सुदृढ बनाउने विश्वास पार्टीले व्यक्त गरेको छ।
प्रवक्ता झाले रास्वपाले प्राप्त निर्वाचन मतलाई संगठन विस्तारको आधारका रूपमा लिएको उल्लेख गर्दै टोलस्तरसम्म पार्टी संरचना विस्तार गर्ने योजना रहेको बताए। उनले पार्टीले भ्रातृ संगठन नबनाउने नीति यथावत् रहने पनि स्पष्ट पारे।
महाधिवेशनमा ३ हजार ९१८ प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। तीमध्ये ३०० प्रतिनिधि पार्टीका दुई महामन्त्रीमार्फत मनोनयन गरिएका छन्।
पार्टीका अनुसार हाल रास्वपाको सदस्य संख्या पाँच लाख पुगेको छ। सचिवालय सदस्य हरि ढकालका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने ४ हजार ६३ वडामा संगठनात्मक प्रक्रिया पूरा गरिएको छ।
यस्तै, सातमध्ये ६ प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न गरी प्रतिनिधि छनोट गरिसकिएको छ। मधेश प्रदेश तथा अधिवेशन हुन बाँकी १३ जिल्लाबाट भने तदर्थ समितिमार्फत प्रतिनिधि महाधिवेशनमा सहभागी हुने व्यवस्था गरिएको छ।
२०८३ असार ७
ताजा नेपाल
२०८३ असार ७
ताजा नेपाल
२०८३ असार ७
ताजा नेपाल