Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपा महाधिवेशनमा रवि–बालेनको सन्देश : सरकारको गन्तव्य पूरा नभएसम्म ‘ब्रेक’ लाग्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सञ्चालित सरकारप्रति पूर्ण विश्वास व्यक्त गर्दै सरकार सञ्चालनको जिम्मेवारी प्रधानमन्त्रीकै रहेको बताएका छन्।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले चुनावअघि नै पार्टीले प्रधानमन्त्री शाहलाई सरकार सञ्चालनका लागि आवश्यक समर्थन र विश्वास प्रदान गरिसकेको उल्लेख गरे।

‘सरकार सञ्चालन गर्न चुनावअघि नै पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्‍याइसकेको छ। अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको हो,’ उनले भने, ‘झुक्किएर त्यो बल कहीँ आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो हो।’

महाधिवेशनमा शुभकामना दिन आएका विभिन्न दलका नेताहरूले सरकारको कार्यशैलीबारे उठाएका प्रश्न र आशंकाप्रति संकेत गर्दै लामिछानेले आफू इतिहासप्रति जवाफदेही भएर बोलिरहेको बताए।

‘यहाँ मुख मिठ्याउनेहरू पनि धेरै छन्, चुक्ली लगाइदिने पनि धेरै छन्। म तिनलाई जवाफ दिन बोलिरहेको छैन, म त इतिहासलाई जवाफ दिन बोलिरहेको छु,’ उनले भने।

यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सरकार ‘लोकल रुट’ नभई ‘एक्सप्रेस रुट’ मा अघि बढिरहेको भन्दै गन्तव्यमा नपुगी सरकार नरोकिने स्पष्ट पारे।

एमाले नेता प्रदीप ज्ञवालीले सरकारको गाडीमा समय–समयमा ब्रेक लगाउनुपर्ने सुझाव दिएपछि जवाफ दिँदै प्रधानमन्त्री शाहले सरकार नियन्त्रणबाहिर नरहेको दाबी गरे।

‘हाम्रो गाडी लोकल रुटमा हिँडेको गाडी होइन, एक्सप्रेस रुटमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ,’ उनले भने, ‘हाम्रो गाडी अनियन्त्रित पनि छैन।’

प्रधानमन्त्री शाहले रास्वपा कुनै वाम वा दक्षिण धारको पार्टी नभई विकासवादी राजनीतिक शक्ति भएको दाबी गरे। ‘हाम्रो पार्टी विकास गर्ने पार्टी हो, अघि बढ्ने पार्टी हो, प्रतिशोध साध्ने पार्टी होइन,’ उनले भने।

सरकारको कार्यशैलीमाथि उठिरहेका प्रश्नप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै प्रधानमन्त्री शाहले भ्रष्टाचार र सरकारी सम्पत्तिको दोहनमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याइने बताए।

‘सरकारी जमिन दोहन भएको छ भने त्यहाँ निहुँ खोज्छौँ। आवश्यक परे पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि सोधपुछ गर्न सक्छौँ,’ उनले भने, ‘तर सबै काम कानुनभित्र रहेर नै हुन्छ।’

सभापति लामिछानेले रास्वपा प्रतिशोध र दम्भभन्दा माथि उठेर नागरिकको जिम्मेवारी पूरा गर्न आएको पार्टी भएको बताए। उनले लोकतन्त्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, मानव अधिकार तथा समावेशी व्यवस्थाप्रति पार्टी प्रतिबद्ध रहेको दोहोर्‍याए।

‘देश रास्वपाको हातमा सुरक्षित छ,’ उनले भने, ‘विगतका आन्दोलन र उपलब्धिको सम्मान गर्दै हामी संविधानको परिधिभित्र रहेर अघि बढ्नेछौँ।’

रास्वपाका सांसद गणेश कार्कीले प्रधानमन्त्री शाह र सभापति लामिछानेको सम्बोधनले पार्टीभित्रको एकता र सरकारप्रतिको विश्वासलाई थप बलियो बनाएको प्रतिक्रिया दिएका छन्।

राजनीतिक विश्लेषकहरूले महाधिवेशनमा आएका यी अभिव्यक्तिले सरकार थप आक्रामक र आत्मविश्वासका साथ अघि बढ्ने संकेत गरेको बताएका छन्।