Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रास्वपा सभापति रवि लामिछाने साउनमै चीन भ्रमणमा जाने तयारी

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने साउनभित्रै चीन भ्रमणमा जाने भएका छन्। उनी पार्टीका केही नेता तथा सांसदसहित बेइजिङ जाने तयारीमा रहेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार भ्रमणका क्रममा लामिछानेले चिनियाँ विदेशमन्त्री वाङ यीसहित उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। अन्य अधिकारीसँग हुने भेटबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।

रास्वपा स्रोतका अनुसार भ्रमणमा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य तथा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। फागुन २१ पछि विकसित राजनीतिक परिस्थितिबारे विश्वासको वातावरण निर्माण गर्ने प्रयास पनि भ्रमणको उद्देश्य रहेको बताइएको छ।

चार सदस्यीय टोली चीन जाने टुंगो लागिसकेको भए पनि टोलीमा रहने अन्य सदस्यहरूको नाम सार्वजनिक गरिएको छैन।

यसैबीच, प्रधानमन्त्री वालेन्द्र शाहले सरकार गठनपछि हालसम्म भारत र चीनका राजदूतसँग औपचारिक एकल भेटवार्ता नगरेको चर्चा भइरहेका बेला लामिछानेको चीन भ्रमणलाई कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि लामिछाने भारत भ्रमणमा पनि गएका थिए। उनले भारतीय जनता पार्टीका नेताहरू, कूटनीतिक अधिकारी तथा त्यहाँस्थित नेपाली समुदायका प्रतिनिधिसँग भेटवार्ता गरेका थिए। अब चीन भ्रमणमार्फत उनले बेइजिङका उच्च नेतृत्वसँग द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल गर्ने तयारी गरेका छन्।

यद्यपि, लामिछानेको चीन भ्रमण पार्टीस्तरको भएकाले भेटवार्तामा नेपाल सरकारका आधिकारिक प्रतिनिधि सहभागी नहुने बताइएको छ।