Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रूसले सिरिया गुमायोः चोट भनेको चोट हो, पीडा भनेको पीडा हो

  • अलेक्जेन्डर दुगिन

पुटिनका ’मस्तिष्क’ मानिएका अलेक्जेन्डर दुगिन तर्क गर्छन् कि सिरियाको घटना रूसलाई कमजोर पार्ने व्यापक योजनाको सबैभन्दा कमजोर कडी थियो । उनका अनुसार असदको पतन बाइडेनले ट्रम्पलाई फसाउन तयार पारेको चाल थियो । सिरियाको स्थिति वास्तवमा सार्है पीडादायक छ । यो मुलरूपमा वाशिङ्टन स्थित ह्वाइट हाउसका वैश्विकतावादीहरूको योजना ’बी’ थियो । उनिहरूले जहाँ–जहाँ रुसको रणनीतिक चासो छ, जस्तो कि जर्जिया, मोल्डोभा, आर्मेनिया, रोमानिया, सिरिया र मध्यपूर्वजस्ता स्थानहरूमा तनाव उत्पन्न गरेर त्यहाँ द्वन्द्वलाई बढावा दिन चाहन्छन । यसको उदेश्य यी रणनीतिक स्थानहरूमा रुसको स्थितिलाई एक पछाडि अर्को गर्दै कमजोर बनाउने हो । ट्रम्पको विजय र वाशिङ्टनमा नयाँ प्रशासनको सम्भावनाले वाइडेन प्रशासनलाई सताइरहेको छ । जसको कारण रुसलाई कमजोर बनाउने सम्पूर्ण योजनाहरूलाई उनीहरूले तीव्र पारिरहेका छन् । ट्रम्पलाई असफल बनाउने र जालमा पार्ने उद्देश्यले वाशिङ्टनले अहिले रुसको क्षेत्रीय महत्त्वलाई कम गर्न आफ्ना प्रयासहरू तीव्र पारेका छन् । यदि रुस आफ्नो क्षेत्रीय चासो र आफ्ना सहयोगीहरूको चासोलाई सुनिश्चित गर्न कमजोर र अस्थिर देखिएको खन्डमा, यसले ट्रम्पलाई भ्रमित पार्न सक्छ । जसले गर्दा उनले रुसलाई द्वितीय क्षेत्रीय शक्तिको रूपमा गलत रूपमा बुझी व्यवहार गर्ने गलत बाटोमा लैजान सक्छ । मेरो विचारमा यो नै सम्पूर्ण सिरियाको स्थिति पछाडिको निहित योजना हो । सिरिया यो शृङ्खलाको सबैभन्दा कमजोर कडी थियो । यसपटक, वैश्विकतावादीहरू र इजरायलले आफ्ना सबै कार्डहरू, सबै दबाब र सबै सम्भावनाहरू सिरियामै लगानी गरे । ताकि एकैचोटि असदविरुद्ध प्रहार गर्न सकियोस् । सम्भवतः भ्रष्ट सिरियाली सेनाले पश्चिमसँग केही गोप्य सम्झौताहरू गरेका थिए । सायद असद परिवारका केही सदस्यहरू पनि उनिहरूसँग संलग्न थिए । उनीहरूको लक्ष्य भनेको रूसलाई सिरियाबाट बाहिर निकाल्ने र असदलाई सत्ताच्युत गर्ने थियो । इरानीहरूलाई सिरियाबाट खेद्ने, र कमजोर सिरिया मार्फत इजरायललाई समर्थन गर्ने थियो । यसको उदेश्य ट्रम्पको आँखामा रूसको छवि परिवर्तन गर्ने हो ।
अहिले, बाइडेनको अन्त्यकालीन कार्यकालमा रहेको अन्तरिम सरकारका वैश्विकतावादीहरूले रूस र अमेरिका बीचको सम्बन्धलाई सामान्यीकरण हुनबाट रोक्नका लागि रूसलाई यथासम्भव क्षति पु¥याउने प्रयास गरेका छन् । म भन्न सक्छु कि उनीहरूले अल कायदा, आईएसआईएस, कुर्दहरू र सिरियाली सेनाका गद्दारहरू प्रयोग गरेर असदको सरकारविरुद्धको द्वेषपूर्ण आन्दोलनलाई सक्रिय पारे र त्यसैको आधारमा सफलतापूर्वक असदलाई सत्ता च्युत गरेका छन् । वैश्विकतावादीहरूको यो योजना करिब १० वर्षभन्दा पहिले अरब स्प्रिङ सुरु भएदेखि नै चलिरहेको थियो । उनीहरूको उद्देश्य सबै परम्परागत नेताहरूलाई सत्ताच्युत गर्नु थियो । जुन ट्युनिसिया र पछि इजिप्टमा सफल भयो । उनीहरूले लिबिया र इराकमा हालसम्म सोही योजना मुताविक गृहयुद्धहरू उक्साइरहेका छन् । सिरिया, रूस र चीन सधैं उनीहरूको लक्ष्यको सूचीमा छन । रूस र चीनले संयुक्त रूपमा सिरियालाई सहयोग गरे । रूसले सैन्य सहयोग गरेको छ भने चीनले आर्थिक रूपमा सहयोग गरिरहेको थियो । असदको धर्मनिरपेक्ष शासनलाई जोगाउन, नरसंहार रोक्न साथै जातीय र धार्मिक अल्पसंख्यकहरूको विनाश रोक्न अहम् भुमिका खेलेको थियो । जुन कार्य हामिले यो १० वर्षभन्दा बढी समयसम्म सफलतापूर्वक गरिरहेका थियौं । अब अन्ततः, वैश्विकतावादीहरूले शत्रु शक्तिहरू बीचको समन्वयलाई सफलतामा परिणत गरेका छन् । म भन्न चाहन्छु, यो ठूलो क्षति हो । तर यो हाम्रो लागि युक्रेन जस्तो अस्तित्वगत क्षति भने होइन । हामी युक्रेनमा अन्तिम साससम्म लड्नेछौं । सिरिया यति उच्च प्राथमिकताको विषय होइन । तथापि, यो बहुध्रुवीय विश्व र मध्यपूर्वमा हाम्रो रणनीतिक स्थितिको हिसाबले निकै महत्त्वपूर्ण छ । यसले त्यहाँका नागरिकहरूलाई दिइने मानवीय सहयोगमा ठूलो प्रभाव पारेको छ । अब के हुने हो भनेर म मुश्किलले कल्पना गर्न सक्छु । पक्कै पनि, शत्रुतापूर्ण समूहहरूबीचको लडाइँ सुरु हुनेछ । सिरियाको नागरिक समाज, अल्पसंख्यकहरू जस्तै इसाई र शिया समुदाय सबै खतरामा छन् । सिरियामा डरलाग्दा घटनाहरू हुनेछन् । हामीसँग अब सिरियाली जनतालाई मद्दत गर्ने शक्ति छैन । हामीले सकेसम्म सबै प्रयास गर्यौं । हामीले यो प्रहारलाई प्रहारको रूपमा स्वीकार गर्नुपर्छ । पीडालाई पीडाको रूपमा र क्षतिलाई क्षतिको रूपमा । यो अस्तित्वको दुःखद पक्ष हो । तर हामीले यस दुःखान्तबाट पाठ सिक्नुपर्छ । मेरो विचारमा यो घटनाले वैश्विकतावादीहरूको मानव विरोधी एजेन्डा र विश्व वर्चस्वको सोचलाई अनिवार्यरूपमा अझ छिटो पराजयतर्फ धकेल्नेछ ।
म सोच्दछु कि रूस, चीन, भारत र हाम्रो बहुध्रुवीय संसारका अन्य ध्रुवहरूले हाम्रो संसारमा न्याय र वास्तविक लोकतन्त्र ल्याउन अझ धेरै प्रयास गर्नुपर्छ । सबै अल्पसंख्यकहरूलाई कट्टरपन्थी उग्रवादी आतंकवादी विचारधारा र कार्यबाट बच्न बचाउन सहयोग गर्नुपर्छ । मध्यपूर्वमा छोटो अवधिका लागि म कुनै समाधान देख्दिनँ । परिस्थिति झन् जटिल हुँदै गम्भीर बिन्दुमा पुग्नेछ । सिरियामा हामीले उनीहरूको समाजलाई बचाउने प्रयास ग¥यौं । तर हामी असफल भयौं । हामीले स्वीकार गर्नुपर्छ कि यसले अन्य मोर्चाहरूमा वैश्वीकरणविरुद्धको हाम्रो संघर्षलाई असर गर्नेछ । यदि ट्रम्पले आफ्नो कार्यकाल सुरु गर्नु अघि वाशिङ्टनबाट दूरी कायम राख्न सके भने, उनले केही हदसम्म वैश्वीकरणको एजेन्डालाई सन्तुलनमा राख्न सक्ने सम्भावना छ । तर त्यही समयमा इजरायल र नेतन्याहु, बेन गभिर, बेजालेल स्मोट्रिच जस्ता इजरायली कट्टरपन्थी समूहहरूप्रति ट्रम्पको पूर्ण निष्ठा परिस्थितिलाई अझ कठिन बनाउन सक्छ । अब कुनै कुरा निश्चित छैन । अहिले, विश्व अशान्ति र रक्तपातपूर्ण अराजकताको अवस्थामा छ । यो मध्यपूर्वमा मात्र सीमित छैन । हामीले देशहरू, राष्ट्रहरू, जातीय समूहहरू, धर्महरू बीच वैकल्पिक सम्बन्ध स्थापना गर्ने कुरामा नेतृत्व लिनुपर्छ । तर पश्चिमले गरिरहेको भन्दा फरक तरिकाले । पश्चिमले मानवतालाई नेतृत्व दिन सक्दैन । यसले द्वन्द्व सिर्जना गर्न, युद्ध सुरु गर्न र नष्ट गर्न सक्छ । तर यसले निर्माण र सृजना गर्न सक्दैन । उनीहरूले केही पनि रचना गर्न सक्दैनन् तर, उनिहरूमा नष्ट गर्ने क्षमता भने अत्यन्त विशाल छ ।(अनुवादः मोहनप्रसाद ज्ञवाली)


सम्बन्धित समाचार