Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । तस्कर र माफियाका लागि नेपाल स्वर्णभूमि बन्दैछ । तस्करहरुले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाइरहेका छन् । कहिले कुन बाटो त कहिले कुन बाटो गरेर आफ्नो धन्दा चलाइहेका छन् । चिनियाँ तस्करले प्रशासनको कमजोर उपस्थिति भएका उत्तरी नाकाबाट सुन तस्करी थालेका छन् । सुरक्षा उपस्थिति नभएका उत्तरका नाकाबाट स्थानीय बासिन्दालाई संलग्न गराएर तस्करीको सुन नेपाल भित्र्याएको पुष्टि भएको हो । दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने चीनको रोङजिया नाका हुँदै भित्रिएको चार केजी सुनसहित बुधबार एकै गाउँका पाँच जना पक्राउ गरेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो । सूचनाका आधारमा बिगु–३ जामुनेमा सीता तामाङको घरमा डेरा बस्ने बिगु–१ लामाबगरका २८ वर्षीय केशर तामाङको कोठाबाट ४ केजी सुन प्रहरीले बरामद गरेको थियो । त्यसकै आधारमा बुधबार राति ३ र बिहीबार दिउँसो २ जना गरी ५ जना पक्राउ परेका छन् । तस्करीमा संलग्न आरोपमा तामाङसहित बिगु–१ लामाबगरकै १८ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, लामाबगरकै ५५ वर्षीय नुर्वछिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरिएको हो । पेम्बा र माधवले उक्त सुन नेपाल–चीन सीमा रोङजियाबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् । उक्त सुन पेम्बाले केशरलाई दिएको खुलको छ । सुन काठमाडौं लैजान नुर्व र सुनमाला चरिकोट आएका थिए । लामाबगरबाट रोङजिया नाका पुग्न एक दिन हिँड्नुपर्छ । बिगु–१ चीनसँग ३ वटा सीमा जोडिएको वडा हो । चीनले एक साताका लागि रोङजिया र कोल्दिम नाका खुलाए पनि लप्ची नाका खुला गरेको छैन । गत आइतबार चीनले उक्त नाका एक साताका लागि खुलाएको थियो । हिमाली क्षेत्रको जंगलको बाटो भएर मात्रै रोङजिया पुगिन्छ । त्यहाँबाट चीनको टिङ्ग्री काउन्टीको फलाक बजार नजिकै पर्छ । बरामद भएको सुन फलाकबाट आएको खुलेको दोलखाका डीएसपी दीपक खड्काले बताए । रोङजिया नाका खुलाउने क्रममा आइतबार चिनियाँ पक्षले स्थानीयलाई नागरिकता र बोर्डर पास लिएर आउन भनेको थियो । जसका कारण तस्करले स्थानीयलाई प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका केशरसहित अन्य स्थानीय पनि उक्त नाका पुगेका थिए । सुन बरामद भएपछि केही स्थानीय सम्पर्कविहीन छन् । रोङजिया नाका लामाबगरबाट मात्रै जान सकिन्छ । लामाबगरमा सीमा प्रहरी चौकी, सीमा प्रशासन, सशस्त्रको बीओपी र भन्सार कार्यालय पनि छ । तर स्थानीयको चिनजानको फाइदा उठाएर तस्करले यो रुट प्रयोग गरेको देखिन्छ । लामाबगरभन्दा तल गोगरमा रोल्वालिङ प्रहरी चौकी छ । सोही स्थानमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा आउनेजानेको सोधीखोजी र जाँचका लागि समेत चेकपोस्ट छ । उक्त क्षेत्रमा स्थानीयलाई खासै निगरानी नहुने भएकाले तस्करले स्थानीयलाई प्रयोग गरेको प्रहरीको भनाइ छ । लामबगरका एक स्थानीयका अनुसार महिना दिनदेखि यो क्षेत्रमा फरक खालको गतिविधि भइरहेको थियो । पक्राउ परेकालाई दोलखा जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान बढाइएको डीएसपी खड्काले बताए । पैदलमार्गबाट ठूलो परिमाणमा अवैध ढंगले सुन भित्रिएको अनुमानका आधारमा प्रहरीले उक्त क्षेत्रमा निगरानी बढाएको छ । सुरक्षा संयन्त्र नपुगेको उत्तरी विकट भेगबाट भित्रिएको ४ केजी सुन दोलखा प्रहरीले बरामद गरेसँगै यस्तै अन्य नाका पनि तस्करीमा प्रयोग भएको आशंका छ । त्यसलाई रोक्न सरकारी संयन्त्रको उपस्थिति भने शून्यप्रायः छ । नेपालबाट १५ जिल्लाको १ हजार ४ सय १४ किलोमिटर लम्बाइमा चीनसँग सीमा कायम छ । त्यसमध्ये हिउँ पग्लेको अवस्थामा करिब डेढ दर्जन नाकाबाट मानव आउजाउ गर्न मिल्ने सशस्त्र प्रहरी बलले जनाएको छ । उत्तरी नाकाबाट हुने आवागमन व्यवस्थापन र निगरानी गर्न न सरकारी संयन्त्र छ, न सरकारी प्रयास नै प्रभावकारी बन्न सकेको छ । त्यसको फाइदा उठाएर गिरोहले तस्करी धन्दा चलाउन थालेको हो । भारततर्फ सीमा समस्या देखिएका कालापानी क्षेत्रबाहेक सबै ठाउँमा सुरक्षा उपस्थिति छ । अन्य सरकारी निकाय पनि भारततर्फका सीमा नाकामा तैनाथ छन् । उत्तरतर्फ राज्यको उपस्थिति कमजोर हुँदा यी नाका तस्करीमा प्रयोग हुन सक्ने जोखिम बढेको हो । केही नाकामा उपस्थिति बढाउन पहल भए पनि स्रोतसाधन र सुरक्षा जनशक्ति थप्न नसकिने कारण देखाएर सरकार पन्छिँदै आएको छ । सीमा सुरक्षा र बीओपी विस्तारकै लागि सशस्त्रले करिब ४ हजार ५ सय जनशक्ति बढाउन गत वर्ष गृहमा प्रस्ताव गरे पनि यो अघि बढेको छैन । बीओपी तैनाथ गरिएका नाकाको संरचना पनि मजबुत छैन ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल