Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रोल्पामा पाँच दिनमा पहिरोमा परी १८ जनाको मृत्यु

रूपन्देही । लगातारको वर्षासँगै आएको पहिरोका कारण रोल्पामा पाँच दिनको अवधिमा १८ जनाको मृत्यु भएको छ।

गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा थप एक जनाको मृत्यु भएपछि मृतकको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

प्रहरीका अनुसार घरमा सुतिरहेको अवस्थामा माथिबाट खसेको पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो। उनको शव घरभित्रबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।

यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो। उक्त घटनामा अझै एक जना बेपत्ता छन् भने दुई जनाको बुटवलमा उपचार भइरहेको छ।

त्यस्तै, बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको थियो।

लगातार भइरहेको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको प्रहरीले जनाएको छ। स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।