Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
कोरोनाको दोस्रो लहरका कारण गत एक महिनादेखि देशमा निषेधाज्ञा जारी छ । निषेधाज्ञाले जनजीवन प्रभावित बनेको छ । निषेधाज्ञाकै कारण मनोरञ्जनसँग सम्बन्धित सबै गतिविधिमा ब्रेक लागेको छ । निषेधाज्ञाको असर टेलिभिजनबाट प्रसारण भइरहेका लोकप्रिय टेलिशृङ्खलाहरूमा समेत परेको छ ।नियमित प्रसारण हुँदै आएका धेरै टेलिशृङ्खला अहिले बन्द भएका छन् । केहीका भने स्टक सकिन लागेकाले के गर्ने भन्ने अन्योलमा छन् ।लोकप्रिय टेलिशृङ्खला ‘सक्किगो नि’ नयाँ भाग प्रसारण नभएको एक महिना बढी समय भएको छ । निषेधाज्ञाको जारी भएपछि एक साता निरन्तरता पाएको शृङ्खलाको नयाँ भाग नभएपछि टेलिभिजनले अहिले पुरानै भागले काम चलाउँदै आएको छ ।‘सक्किगो नि’ रोकिएको करिब ४ हप्ता भएको टेलिशृङ्खलाका निर्देशक तथा कलाकार कुमार कट्टेल ‘जिग्री’ले बताए । ‘हामीसँग टेलिशृङ्खलाको स्टक भाग थिए । त्यसैले नयाँ प्रसारण रोकिएको छ,’ कट्टेलले भने ‘निषेधाज्ञा खुले पनि फेरि सुटिङ गरेर नयाँ भाग ल्याउँछौं ।’ तत्काललाई केही विकल्प नभएकाले रोक्नु बाहेकको बाटो आफूसँग नरहेको उनले सुनाए । उनले थपे, ‘टेलिशृङ्खलालाई फेरि निरन्तरता दिने हो । तर कहिले भन्न सक्दिनँ ।‘सक्किगो नि’मा अर्जुन घिमिरे, कुमार कट्टेल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, दीपक आचार्य लगायतका कलाकार देखिँदै आएका छन् ।यस्तै टेलिशृङ्खला ‘हर्के हल्दार’ पनि अहिले बन्द छ । निषेधाज्ञा सुरु भएदेखि शृङ्खला बन्द भएको निर्देशक तथा कलाकार विष्णु सापकोटाले बताए ।‘हामीले प्रत्येक साता खिच्दै देखाउँदै आएका थियौँ,’ सापकोटाले भने, ‘नयाँ भाग छायाङ्कन असम्भव भएका कारण अहिले बन्द छ ।’ नयाँ भाग प्रसारण नभए पनि पुरानो भने रिपिट भइरहेको हुन सक्ने सापकोटाले भने ।निषेधाज्ञाका कारण सुटिङ रोकिएपछि सापकोटा भने जन्मघर हेटौँडा पुगेका छन् । अहिले खेतबारीको काम गर्ने, गाईबस्तु गोठाला लाग्ने यस्तै आफ्नो दिनचर्या रहेको सापकोटाले बताए ।‘हर्के हल्दार’मा विष्णु सापकोटा, शिवहरी बैरागी, रोशनी सापकोटा, सुरेन्द्र केसी, शिव शर्मालगायत नियमित देखिँदै आएका कलाकार हुन् ।टेलिशृङ्खला ‘भद्रगोल’ पनि अहिले बन्दै छ । निषेधाज्ञापछि यो शृङ्खला पनि बन्द भएको हो । शृङ्खला नयाँ भाग खिच्न नसकेका कारण बन्द भएको निर्देशक कलाकार शङ्कर आचार्यले जानकारी दिए । कोरोना समयमा जोखिम मोलेर सुटिङ गर्न नसकिएकाले शृङ्खला बन्द भएको उनी बताउँछन् । भन्छन्, ‘खुल्ने बित्तिकै फेरि शृङ्खला सुरु हुन्छ । अहिले बन्द भएको टेलिशृङ्खला सदैका लागि बन्द गरिएको भने होइन ।’टेलिशृङ्खला ‘गोलमाल’ पनि बन्द भएको केही साता भइसकेको छ । निषेधाज्ञाकै कारण यो शृङ्खला बन्द भएको हो । निर्देशक नेत्र राउतले शृङ्खलाको छायाङ्कन गर्ने वातावरण नभएकाले रोकिएको बताए ।‘हामीले शृङ्खलाका नयाँ भाग दिन सकिरहेका छैनौँ,’ राउतले भने ‘टेलिभिजनले पुरानो भाग रिपिट गरेर काम चलाएको छ कि के गरेको छ, थाहा छैन ।‘गोलमाल’मा पवन खतिवडा, नविना सिल्वाल, विनोद राई, शिवहरि आचार्य, खपबुलगायत देखिँदै आएका छन् । निषेधाज्ञा खुले पनि शृङ्खलाले फेरि निरन्तरता पाउने निर्देशक राउत बताउँछन् ।यी माथिका त उदाहरण मात्र हुन् । सुरज खनाल निर्देशित ‘अति भो’, किशोर भण्डारी निर्देशित ‘अड्डा’, ‘हाम्री झ्याउँकिरी’, शिवहरि पौडेल निर्देशित ‘कुलबहादुर काका’ लगायत थुप्रै हास्यटेलिशृङ्खला छन्, जो निषेधाज्ञाको मारमा परेर रोकिएको छ
२०८१ चैत्र २६
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल
२०८१ चैत्र १५
ताजा नेपाल