Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लामिछानेको नागरिकता विवादमा सुनुवाइ हुँदै, मन्त्री र सांसद पद जाने सम्भावना

गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका विषयमा सर्वोच्च अदालतले मुख्यतः तीन विषयमा छिनोफानो गर्नेछ । पहिलो लामिछानेले विदेशको नागरिकता त्याग गरेको पाइएको कारण स्वतः नेपाली नागरिक रहने, दोस्रो नागरिकता त्याग गरेको निस्सा दर्ता नगरेको कारण उनको नागरिकता कायम नरहेको र तेस्रो लामिछानेले दोहोरो नागरिकता प्रयोग गरेको कारण फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न आदेश दिने ।
लामिछानेको सम्बन्धमा बुधवारबाट सुनुवाइ हुँदा वादी पक्षका अधिवक्ताहरूले लामिछाने नेपाली नागरिक कायम नभएको र उनले आफूसँग नभएको अधिकार प्रयोग गरी दल दर्ता, उम्मेदवारी दर्ता, सांसद पदमा निर्वाचित भएको भन्दै उनको सबै पद बदर गर्न माग गर्दै फौजदारी कसुरमा अनुसन्धान गरी सजायसमेत गर्न माग गर्ने तयारी गरेका छन् । वादी पक्षका वकिलहरूले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० र ११ लाई नै मुख्य विषय बनाई लामिछाने नेपाली नागरिक वा उनले नागरिकता पुनः प्राप्ति नगरेको कारण उनी नेपाली नागरिक नरहेको दाबी गर्नेछन् । सोही आधारमा उनले प्राप्त गरेको पद कायम हुन नसक्ने वादी पक्षको दाबी रहनेछ
प्रतिवादी पक्षका वकिलहरूले भने नेपालमा रहेका कुनै पनि व्यक्ति नागरिकताविहीन रहन नसक्ने र लामिछानेले अमेरिकाको नागरिकता त्याग गरिसकेपछि स्वतः नेपाली नागरिक रहने भन्दै लामिछानेको बचाउ गर्नेछन् । लामिछाने नेपालमा आइ बसोबास गरिरहेको र उनले विदेशी नागरिकता त्याग गरिसकेको कारण पहिले कै नागरिकता कायम हुने भएकाले थप केही गरिरहनु नपर्ने जिकिर गर्नेछन् ।
सर्वोच्च अदालतमा पेस गरिएको मिसिलमा लामिछानेले एकैपटक दोहोरो नागरिकता तथा दोहोरो पासपोर्ट प्रयोगमा ल्याएको भन्दै सो को कागजात समेत पेस भएको बताइएको छ । विदेशी नागरिक रहेकै समयमा निष्क्रिय भइसकेको नेपाली नागरिकता प्रयोग गरेमा त्यसलाई फौजदारी कसुर मानिन्छ र त्यो अपराध गरेको ठहर हुन्छ । यद्यपि त्यसको स्वतन्त्र पुष्टि हुन भने बाँकी नै छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा दर्ता भएको मुद्दा पूर्ण सुनुवाइ हुन लागे लगत्तै अब कस्तो फैसला आउला भन्ने विषय चर्चामा आउन थालेको छ । सर्वोच्चले नागरिकता स्वतः कायम हुने वा स्वतः कायम नहुने मुख्यतः यी नै दुई विषयमा फैसला गर्नेछ । त्यसबाहेक फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न समेत निर्देशनात्मक आदेश दिन सक्नेछ ।
लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गरेको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको कारण सो विषयमा अनुसन्धान गरी मुद्दा दायर गर्नसमेत सरकारलाई निर्देशनात्मक आदेश दिन सक्नेछ ।
लामिछानेको मुद्दामा सुनुवाइपछि विदेशी नागरिकता त्याग गरेको अवस्थामा स्वतः नेपाली नागरिक कायम रहने व्याख्यासहितको फैसला भएमा लामिछानेले निष्क्रिय भइसकेको नागरिकता प्रयोग गरी अपराध गरेको भन्ने आरोप खण्डित हुने छ उनले दल दर्ता गरेकोदेखि सांसद र मन्त्री बनेको समेत विषयले वैधानिकता पाउनेछ । त्यसको नागरिकता निष्क्रिय भइसकेको भन्ने विवाद समाप्त हुनेछ ।
संवैधानिक इजलासबाट नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता स्वतः खारेज हुने र पछि विदेशी मुलुकको नागरिकता त्याग गरेको अवस्थामा सो को निस्सा बुझाएपछि प्रक्रिया पूरा गरेर मात्रै नेपाली नागरिकता प्राप्त भएको मानिने व्याख्या गरेमा उनको सम्पूर्ण पद खारेज हुनेछ र पुनः नागरिकता प्राप्त गर्न प्रक्रियामा जानुपर्नेछ ।
त्यसबाहेक लामिछानेले दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गरेको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको कारण सो विषयमा अनुसन्धान गरी मुद्दा दायर गर्नसमेत सरकारलाई निर्देशनात्मक आदेश दिन सक्नेछ ।
नेपालले दोहोरो नागरिकता स्वीकार नगरेको र निष्क्रिय भइसकेको नागरिकता र पासपोर्ट प्रयोग गरेमा त्यसलाई अपराध मानिने कानुनी व्यवस्था रहेको कारण दोहोरो नागरिकता वा पासपोर्ट प्रयोग पुष्टि भएमा उनीमाथि फौजदारी कसुरमा कारबाही समेत हुन सक्नेछ ।

 


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल