Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं– नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले स्थानीय तहबाटै कार्यगत एकता सुरु गर्ने तयारी गरेका छन्। २०७५ सालको शीर्ष तहबाट भएको पार्टी एकता टिक्न नसकेको अनुभवपछि यसपटक वडा तहबाट सहकार्य सुरु गर्दै क्रमशः पालिका, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म पुग्ने ‘बटम–अप’ मोडेलमा छलफल अघि बढेको हो।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा दुवै दलले अपेक्षाकृत कमजोर नतिजा व्यहोरेपछि वाम शक्तिबीच सहकार्यको आवश्यकता महसुस गर्दै नयाँ मोडालिटीमा संवाद तीव्र बनाइएको स्रोतले जनाएको छ।
यसै सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्ला दिनमा नियमित संवाद भइरहेको बताइएको छ। सम्भावित सहकार्यको ढाँचा तयार पार्न दुवै नेताले आफ्ना विश्वासपात्र दोस्रो तहका नेताहरूलाई पनि सक्रिय बनाएका छन्।
एमालेका एक नेताका अनुसार स्थानीय आवश्यकता र जनभावनालाई आधार बनाएर वडा तहबाट कार्यगत एकता सुरु गर्ने र त्यसपछि क्रमशः माथिल्ला संरचनासम्म विस्तार गर्ने तयारी भइरहेको छ। स्थानीय कमिटीलाई गठबन्धन, सहकार्य तथा समायोजनका विषयमा निर्णय गर्ने अधिकार दिने विकल्पमा समेत छलफल भइरहेको उनले बताए।
संवादमा सहभागी एक नेताले विगतमा माथिबाट गरिएको एकताले अपेक्षित परिणाम दिन नसकेको उल्लेख गर्दै यसपटक तल्लो तहको मनोविज्ञान र आवश्यकतालाई प्राथमिकता दिइएको बताए।
उता, एमाले अध्यक्ष ओलीको सचिवालयको जिम्मेवारी सम्हालिरहेकी केन्द्रीय सदस्य निरुदेवी पालले अध्यक्ष ओली र प्रचण्डबीच टेलिफोन संवाद भइरहेको पुष्टि गरिन्। उनले लोकतान्त्रिक शक्तिबीच सहकार्यबारे छलफल भइरहे पनि नेकपासँग कार्यगत एकताको औपचारिक निर्णय भने भइनसकेको स्पष्ट पारिन्।
नेकपाका नेता माधव सापकोटाले पनि स्थानीय तहबाटै कार्यगत एकताको प्रारम्भ गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए। कम्युनिस्ट आन्दोलनको रक्षा र सुदृढीकरणका लागि वाम शक्तिबीच सहकार्य अपरिहार्य बनेको निष्कर्षमा शीर्ष नेतृत्व पुगेको उनको भनाइ छ।
उनका अनुसार स्थानीय तहमा समायोजन समिति गठन गर्दै आगामी स्थानीय निर्वाचनमा गठबन्धनको सम्भावनासमेत छलफलमा रहेको छ।
यद्यपि, एकताअघि नेतृत्व प्रणाली, कार्यशैली र वैचारिक आधारजस्ता विषयमा अझै सहमति हुन बाँकी रहेको नेकपाका अर्का एक नेताले बताए। नेतृत्वको विषय टुंगोमा नपुग्दै पार्टी एकतामा जान नहुनेमा आफूहरू स्पष्ट रहेको उनको भनाइ छ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सहकार्यका मापदण्ड र आचारसंहिताबारे छलफल हुन सक्ने बताए। तर, वाम एकताको विषयलाई अनावश्यक रूपमा प्रचार गर्दा अन्य राजनीतिक शक्तिमा शंका उत्पन्न हुन सक्ने भएकाले संयमता अपनाउनुपर्ने उनको धारणा छ।
उनले फागुन २१ को निर्वाचन परिणामपछि प्रत्येक दलले आफ्ना कमजोरीको समीक्षा गरी संगठन सुदृढ नगरी हतारमा एकतामा जान नहुने बताए। विगतको एकता किन टुट्यो भन्ने विषयमा गम्भीर समीक्षा नगरी नयाँ एकताले दीर्घकालीन परिणाम दिन नसक्ने उनको भनाइ छ।
२०७५ जेठ ३ गते एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकता सर्वोच्च अदालतको फैसलापछि २०७७ फागुनमा विभाजित भएको थियो। त्यसयताको अनुभवलाई आधार बनाएर यसपटक चरणबद्ध र स्थानीय तहबाट सुरु हुने सहकार्यको मोडालिटीमा दुवै दल केन्द्रित भएका छन्।
२०८३ असार १८
ताजा नेपाल
२०८३ असार १८
ताजा नेपाल
२०८३ असार १८
ताजा नेपाल