Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विदेशमा रहेकी महिलाविरुद्ध करोडौँ रुपैयाँ ठगी आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले वर्षौँअघिको आर्थिक लेनदेन विवादमा अमेरिकामा बस्दै आएकी कुस्मा बुढाथोकीविरुद्ध प्रहरीसँग सहयोग मागेकी छन्। तामाङका अनुसार कुस्माले उनका श्रीमान् थोमससँग १ करोड ३५ लाख रुपैयाँ लिएर फिर्ता नगरेको आरोप लगाइएको छ।

आशिकाका अनुसार सन् २०१० मा जर्मनीमा बस्ने क्रममा कुस्मासँग चिनजान भएको थियो। त्यतिबेला कुस्मा र थोमसबीच प्रेम सम्बन्ध रहेको र विवाहको आश्वासन दिँदै कुस्माले नेपालमा एमबीबीएस अध्ययन गर्ने भन्दै ठूलो रकम लिएको दाबी उनले गरेकी छन्।

उनले दिएको जानकारीअनुसार थोमसले दुई चरणमा गरी १ लाख २८ हजार युरो (करिब १ करोड ३५ लाख रुपैयाँ) नेपाल पठाएका थिए। उक्त रकम नेपालमा चलचित्र निर्माणलगायत अन्य प्रयोजनमा प्रयोग भएको दाबी पनि उनले गरेकी छन्।

आशिकाले पछि थोमससँग विवाह गरेको र उनीहरूले लामो समय उक्त रकम फिर्ता माग्न छाडेको बताएकी छन्। तर हालै अर्का एक व्यक्तिले आफू पनि सोही महिलाबाट आर्थिक रूपमा ठगिएको जानकारी दिएपछि कानुनी प्रक्रिया अघि बढाउने निर्णय गरिएको उनको भनाइ छ।

उनका अनुसार कुस्माले पछि रकम फिर्ता गर्ने भन्दै चेक दिएको भए पनि चेक बाउन्स भएको छ। प्रहरीले कानुनी प्रक्रियाअनुसार आवश्यक समय पूरा भएपछि मात्रै औपचारिक मुद्दा दर्ता गर्न सकिने जानकारी दिएको उनले बताइन्।

अर्का पीडितको पनि समान दाबी

यसैबीच झापाका जीवन बास्कोटाले पनि आफू कुस्मासँग करिब ६–७ वर्ष ‘लिभ–इन’ सम्बन्धमा बसेको र त्यसक्रममा विभिन्न बहानामा झण्डै ३ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको दाबी गरेका छन्।

बास्कोटाका अनुसार कुस्माले सेयर बजारमा लगानी, ऋण तिर्ने र विदेश जाने खर्चका नाममा रकम लिएकी थिइन्। पछि अमेरिका गएर सम्पर्कविहीन भएको तथा आफूले दिएको १ करोड ८५ लाख रुपैयाँको चेक पनि बाउन्स भएको उनले बताएका छन्।

उनले आफूले दिएको रकम सम्बन्धी प्रमाण सुरक्षित रहेको दाबी गर्दै कानुनी प्रक्रियामार्फत न्यायको अपेक्षा गरेको बताएका छन्।

आरोप पुष्टि हुन बाँकी

उक्त घटनामा कुस्मा बुढाथोकीको प्रतिक्रिया सार्वजनिक भएको छैन। उनीमाथि लगाइएका आरोपहरू सम्बन्धित निकायबाट प्रमाणित भइसकेका छैनन्।

प्रहरीले कानुनी प्रक्रिया अनुसार आवश्यक प्रमाण संकलन र अनुसन्धानपछि मात्रै थप निर्णय हुने जनाएको छ।