Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

विवादको भूमरि तोडेर राजनीतिको यात्रा ?

काठमाडौं । विदाईका हात हल्लाउँदै अघि बढेकी निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनको गाडीसम्मै छोड्न पुगे नयाँ राष्ट्रपति रामचन्द्र पौडेल। सोमबार दिउँसो पौडेलको सपथ ग्रहण सकिएसँगै शितल निवासबाट विदा भएर विद्यादेवी भण्डारी आफ्नी छोरीको घरमा गइन्। २०७२ साल कात्तिक ११ गते पहिलोपटक राष्ट्रपतिमा निर्वाचित भएपछि देवर कैलाश भण्डारीको घरबाट सिधै शितल निवास सरेकी भण्डारी सात वर्षपछि त्यो निवास छोडेर छोरी उषाकिरण अधिकारीको घर गइन्। आँगनभरि आफन्तहरुले उनलाई स्वागत गरे। छोरी उषाले दैलोमा कलस बालेर आमालाई भित्र्याइन्। उनी शितल निवासबाट देवरकै घर जाने योजना थियो तर त्यहाँ सुरक्षाकर्मीलगायतलाई पर्याप्त ठाउँ नभएपछि छोरीको घर गएकी हुन्। छोरी उषाको घर बालुवाटारमा छ। भण्डारीको निजी निवास बुढानीलकण्ठमा छ। तर त्यो घर मर्मत भइरहेको छ।

सक्रिय राजनीतिक जीवनबाट एकाएक ‘आलांकारिक’ पदमा पुगेपछि गणतन्त्र नेपालका पहिलो राष्ट्रपति रामवरण यादवले त्यसपछि राजनीतिमा चासो राखेनन्। उनी पनि करिब ७ वर्ष राष्ट्रपति पदमा रहे। २०७२ मंसिर ३ गते संविधान जारी गरेर उनी विदा भएपछि भण्डारी राष्ट्रपति चुनिएकी हुन्। विद्यादेवी दुई पटक राष्ट्रपति चुनिइन्। र, अहिले विदा भइन्। प्रथम राष्ट्रपति यादव अहिले सरकारले नै दिएको काठमाडौंस्थित एउटा निवासमा बस्छन्। सामाजिक अभियानहरूमा अहिले उनी प्रवचनहरू दिँदै हिँड्छन्। पदावधि सकिए पनि उनले राज्यबाट औषाधोपचारका नाममा करोडौं रकम लगेको भन्दै उनको बेलाबेला आलोचना पनि भइरहेको छ। तर उनी सक्रिय राजनीतिबाट भने टाढा छन्। खासगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ‘खल्तीमा राखेको’ भनेर निवर्तमान राष्ट्रपति भण्डारीको पनि खुब आलोचना भयो। यद्यपि राष्ट्रपतिका रूपमा गर्नुपर्ने दायित्व नै उनले निभएकी थिइन्, तर ओली प्रधानमन्त्री भएका बेला राष्ट्रपतिले चालेका कतिपय कदमहरू ओलीकै स्वार्थअनुकुल थिए। जसले गर्दा उनको समेत चर्को आलोचना भयो।
सात वर्षपछि शितल निवासबाट बाहिरिएकी विद्यादेवी भण्डारी बाँकी जीवन के गर्लिन् ? धेरैको आंकलन छ, ‘राजनीतिमा जान्छिन्‘।’ राष्ट्रपति हुँदा नै सक्रिय राजनीतिमा जस्तै निर्णयहरू सदर गरेका कारण उनको आगामी कदमबारे यसो भनिएको पनि हुनसक्छ। तर भण्डारी आफै वा उनका परिवारले यसबारे अझै केही भनेका छैनन्। राष्ट्रपतिको चुनाव लड्दा उनी एमालेको उपाध्यक्ष थिइन्। निर्वाचित भइसकेपछि उनले त्यो पदबाट राजीनामा दिइन्।

‘अहिले नै त्यो भनिहाल्न अलि हतारो हुन्छ कि’ एमालेका एकजना पदाधिकारी भन्छन् ‘सात वर्षसम्म उहाँ राष्ट्राध्यक्ष भएर भूमिका निभाउनु भयो। अहिले नै राजनीतिमा आउनु राम्रो पनि नहोला।’ उनका अनुसार संवैधानिक पदमा लामो समय बसेर तटस्थ भूमिका निभएको व्यक्ति हठात् राजनीतिमा आउँदा त्यो छबि धमिलिनसक्छ। ‘यसबारेमा अहिले नै केही कुरा भएको छैन। उहाँ भर्खर फेरि निजी जीवनमा फर्किनुभएको छ’ उनले भने ‘समय अझै बाँकी छ। पछि के हुन्छ त्यो त कसले के भन्नसक्छ र ?’

लगातार दुई कार्यकाल राष्ट्राध्यक्षको जिम्मेवारी सम्हालेकी भण्डारी पटक–पटक विवादमा मुछिइन्। संघीय संसदले दुई–दुईपटक बहुमतका साथ पारित गरिसकेको विधेयक प्रमाणीकरण नगरेपछि भण्डारी विवादमा मुछिएकी थिइन्। संघीय संसदबाट पारित भएको विधेयक प्रमाणीकरणका लागि शीतल निवास पुग्दा भण्डारीले सुझावसहित फिर्ता पठाइदिएकी थिइन्। पहिलोपटक सुझावसहित विधेयक फिर्ता पठाउनु राष्ट्रपति भण्डारीको निर्णय विल्कुलै संवैधानिक थियो। उनले पठाएको सुझावमाथि प्रतिनिधिसभाले छलफल नै नगरी नागरिकता विधेयक हुबहु पारित ग¥यो। र, प्रमाणीकरणका लागि फेरि शीतल निवास पठायो। दोस्रोपटक पुगेको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुबाहेक राष्ट्रपतिसामू अर्को विकल्प संविधानले दिएको छैन। तर, राष्ट्रपति भण्डारीले दोस्रोपटक पुगेको विधेयक फिर्ता पठाइनन्, प्रमाणीकरण पनि गरिनन्। संघीय संसदको दुवै सदनबाट दुई–दुईपटक पारित भइसकेको विधेयक प्रमाणीकरण नगर्ने कदमले भण्डारीलाई विवादमा मुछ्यो। दुईपटक लगातार राष्ट्रपति भइसकेकी भण्डारी विवादमा मुछिएको त्यो पहिलो घटना थिएन। त्यसअघि पनि उनी पटक–पटक विवादमा परेकी थिइन्।

२०७५ सालमा राष्ट्रपति कार्यालय परिसरभित्रै हेलिप्याड तयार पार्ने निर्णयका कारण राष्ट्रपति भण्डारीको आलोचना भएको थियो। त्यसबेला मन्त्रिपरिषदले राष्ट्रपति कार्यालयसँग रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई काभ्रको पनौतीमा सार्ने निर्णय गरेको थियो। त्यो निर्णय ‘राष्ट्रपतिको चाहनामा भएको’ र प्रहरी प्रशिक्षण प्रतिष्ठान रहेको स्थानमा हेलिप्याड बनाइने बताइएको थियो। यद्यपि त्यस बेलाको सरकारले मन्त्रिपरिषदको त्यो निर्णय ‘राष्ट्रपतिको आग्रहमा नभइ सरकारले आवश्यक ठानेर’ गरेको प्रष्ट पारेको थियो।

२०७५ सालमा पोखरास्थित विन्ध्यवासिनी मन्दिरमा नवनिर्मित लिफ्टको उद्घाटन गर्न गएकोबारे पनि उनले आलोचना खेप्नु परेको थियो। राष्ट्रपति पदमा रहेका व्यक्ति एकदमै सामान्य खाले कार्यक्रमहरूमा सहभागी हुन गएको भन्दै उनको आलोचना भएको थियो। उनले राष्ट्रपतिको मर्यादा राख्न नसकेको त्यतिबेला धेरैले टिप्पणी गरेका थिए।

विभिन्न देशहरूले कतारमा लामो समयदेखि नाकाबन्दी लगाएको बेला उक्त देशको भ्रमण गर्दा पनि कतिपयले भण्डारीको आलोचना गरेका थिए। दोस्रोपटक राष्ट्रपति बनेपछि उनको त्यो पहिलो विदेश भ्रमण थियो। केही कूटनीतिज्ञहरूले उनको त्यो भ्रमणलाई ‘अपरिपक्व’ भन्दै सञ्चारमाध्यममा टिप्पणी गरेका थिए।

त्यसै वर्ष वडादसैंमा राष्ट्रपति टिकाका कारण पनि आलोचित हुन पुगिन्। उनले टिका लगाइदिएका केही तस्बिरहरू सार्वजनिक भएका थिए। त्यसबेला केही बहालवाला र पूर्वविशिष्ट अधिकारीहरूले भण्डारीको हातबाट टिका लगाउँदा उनको अगाडि घुँडा टेकेको तस्बिरहरू सार्वजनिक हुँदा विवाद भएको थियो। राष्ट्रपतिका सल्लाहकारहरूले भने त्यसको बचाउ गरेका थिए।

तत्कालीन नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति भण्डारीले त्यस दलका नेताहरूलाई राष्ट्रपति कार्यालयमा सामूहिक रूपमा भेटेकी थिइन्। त्यस विषयमा पनि उनले आलोचनाको सामना गर्नुप¥यो। त्यतिबेला ‘राष्ट्रपतिले पार्टीभित्रको विवाद मिलाउन खोजेको’ आरोप लागेको थियो। उनले २०७७ असारमा तत्कालीन नेकपाका नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालाई राष्ट्रपति कार्यालयमै भेटेकी थिइन्। पार्टी अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रपतिविरूद्ध महाभियोग लगाउने षडयन्त्र भइरहेको’ दाबी गरेका बेला तीन नेताले राष्ट्रपतिसँग भेट गरेका थिए।

पार्टीभित्रका विवाद बढेपछि तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी नयाँ चुनावको घोषणा गर्न गरेको सिफारिसलाई केही घण्टाभित्रै सदर गरिदिएपछि पनि भण्डारीको आलोचना भएको थियो। ओलीले पहिलोपटक २०७७ पुस ५ गते र दोस्रोपटक २०७८ जेठ गते मध्यरातमा संसद विघटन गरेका थिए। ओलीले दोस्रोपटक रातको १२ बजेपछि संसद विघटन गरेका थिए। राष्ट्रपति भण्डारीले भने त्यसको एक घण्टाभित्रै सदर गरेकी थिइन्। राष्ट्रपतिको त्यो कदमप्रति विपक्षी दलसहित नागरिक समाजका व्यक्तिले कडा आलोचना गरेका थिए। उनीहरूले राष्ट्रपतिले निष्पक्ष भूमिका खेल्न नसकेको बताएका थिए।


सम्बन्धित समाचार