Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शान्ति सुरक्षा कायम गर्न प्रहरी सफल

मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर १ सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङमा जडान सम्पन्न भएको सिसिटिभीको सोही कार्यालयमा सोमबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले संचालनमा आएका उक्त सिसीटिभी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल मार्फत जिल्ला प्रहरी कार्यालय मोरङलाई हस्तान्तरण समेत गर्नुभयो ।
मोरङ जिल्लाका सीमा क्षेत्र तथा राजमार्गमा प्रथम चरणमा १ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको लागतमा जडान गरिएका ५८ वटा सिसिटिभी जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालयहरु बेलबारी र पथरीले मोनिटरिङ गर्नेछन् । उक्त सिसिटीभीमध्ये विराटनगर क्षेत्रमा ३२ वटा, बुढीखोलादेखि बाउन्नेसम्म १३ वटा र पथरी उर्लाबारीसम्म १३ वटा जडान भएका छन् । अप्टिकल फाइबर जडान भएका उक्त सिसिटीभी काठमाडौंपछिको दोस्रो ठूलो नेटवर्क हो । प्रहरी सेवालाई प्रविधिमैत्री बनाई समाजमा घटने अपराध न्यूनीकरण तथा नियन्त्रण गर्न, अपराधको वस्तुनिष्ठ अनुसन्धान गर्न तथा शान्ति सु-व्यवस्था कायम गर्न १ नम्बर प्रदेश सरकारको सहयोगमा उक्त सिसिटिभी जडान गरिएको हो ।
उद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री राईले नेपाल प्रहरीको विद्यमान सुदृढिकृत सुरक्षा पद्धतिलाई थप प्रभावकारी बनाई सेवा प्रवाहको गुणस्तरीय अभिवृद्धि गर्न प्रविधिको उपलब्धता निशर्त आवश्यकता रहेको चर्चा गर्दै भन्नुभयो, अपराध रोकथाम नियन्त्रण तथा अनुसन्धान गरी समाजमा शान्ति सुरक्षा व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरिरहेको नेपाल प्रहरीलाई प्रविधियुक्त बनाउँदै लैजानुको विकल्प छैन् ।
मुख्यमन्त्री राईले समग्र सुरक्षा व्यवस्थापनमा प्रविधिको महत्वलाई आत्मसात गर्दै १ नम्बर प्रदेश सरकारले प्रदेश अन्तर्गतका प्रहरी इकाईहरुको परिचालनमा प्रविधिको प्रयोगलाई विशेष प्राथमिकतामा राखी आवश्यक पूर्वाधार तयारीमा लगानी अभिवृद्धि गरिरहेको बताउनुभयो । हाल जडान गरिएका सिसिटिभीको प्रयोगबाट सडक सुरक्षा मजबुत बनाउनुको साथै अपराध रोकथाम तथा सफल अनुसन्धान गरी नागरिकको जिउधनको सुरक्षाको लागि प्रहरी कार्य गर्न सहज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अहिलेको सन्दर्भमा अपराध नियन्त्रण, अनुसन्धान, रोकथाम र शान्ति सुरक्षाका लागि प्रहरीले प्रविधिमैत्री भएर काम गर्नुपर्ने अपरिहार्यता रहेको बताउनुभयो । प्रदेश सरकारको सहयोगमा सिसिटिभी हस्तान्तरणले अत्यन्त महत्वपूर्ण सन्देश सम्प्रेषण गरेको उल्लेख गर्दै उहाँले १ नम्बर प्रदेशबाट सुरु भएको यस सहयोगबाट सुरक्षा संयन्त्रलाई थप बलियो, भरपर्दो र प्रविधियुक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
प्रदेश प्रहरीलाई कस्तो बनाउनुपर्छ भन्ने प्रदेश सरकारको सोच अनुसार अगाडि बढिरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउने र व्यवहारमा पनि अत्यन्त शालिन तथा कानुनको पालना गर्ने गराउन दृढतापूर्वक उभिने इमानदार प्रहरी बनाउने सन्दर्भमा १ नम्बर प्रदेशबाट भएका काम अनुरुप अगाडि बढेको बताउनुभयो । नेपाल प्रहरीलाई Intlleigence led policing र Technology base policing तर्फ बढाउँदै लैजाने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नागरिकमा सुरक्षा अनुभूति गराउनका लागि प्रहरीले जुन व्यवस्थापन, काम र सेवा प्रवाह गर्छ त्यो थप परिष्कृत र अत्यन्त नमूनायोग्य हुनुपर्छ ।’
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले विराटनगर महानगरलाई स्मार्टसिटीको रुपमा विकास गर्दै लैजान नेपाल प्रहरी लगायत सबै सरोकारवाला निकायसँग सहकार्य गरिने बताउनुभयो ।
प्रहरीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञावालीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा १ नम्बर प्रदेशका मन्त्रीहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षक, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधिहरु, संचारकर्मी, विभिन्न विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थी तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम पश्‍चात् प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १ नम्बर प्रदेश अन्तर्गतका प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो ।