Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शेखर–गगन भिडेपछि देउवालाई हाइसञ्चो

काठमाडौं । महाधिवशेनमा जोडिएको गगन शेखर गठबन्धन संसदीय दलको नेता छान्ने बेलासम्म आइपुग्दा एकजुट रहने छाँट देखिएन । प्रतिनिधिसभाको अकंगणितलाई दह्रिलोगरी हेरिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार संसदीय दलको नेता चयन हुनेमा ढुक्क देखिन्छन्। पार्टीको संस्थापन पक्षबाट एक्ला उम्मेदवार र संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूको संख्याले देउवालाई संसदीय दलको नेता बन्न त्यति धेरै गाह्रो छैन। अधिकांश सांसद संस्थापन पक्षकै निर्वाचित भएर आउनु र यो पक्षबाट दलका नेताका लागि अरू कसैले दाबेदारी पेस नगर्नु संसदीय दलको नेताका रूपमा देउवाको आगामी यात्रालाई सहज बनाइदिएको छ। अंकगणितको हिसाबले संस्थापनभन्दा कमजोर देखिएको इतर पक्ष भने देउवालाई चुनौति दिन साझा उम्मेदवार बनाउन सकिरहेको छैन।
यो समूहबाट महामन्त्री गगन थापा र नेता शेखर कोइरालाले संसदीय दलको नेताका लागि दाबेदारी पेस गरेका छन्। तर, इतर समूहका नेताहरू भने थापा र कोइरालालाई सहमतिमा ल्याएर साझा उम्मेदवार दिने कसरतमा जुटेका छन्। अंकगणितको हिसाबले ‘कमजोर’ रहे पनि पार्टीभित्र आफ्नो समूहलाई जोगाइ राख्न पनि उनीहरू साझा उम्मेदवारी दिने प्रयासस्वरूप अन्तिम कसरतमा जुटेका हुन्। महामन्त्री थापाले आम चुनावमा होमिनुअघि आफूलाई ‘भावी प्रधानमन्त्री’ का रूपमा प्रस्तुत गरेका थिए। कांग्रेस संसदीय दलको विधानअनुसार प्रधानमन्त्रीमा नियुक्त हुन संसदीय दलको नेता बन्नुपर्ने हुन्छ।
चुनावमा मतदातामाझ गरेको वाचाअनुसार थापा जसरी पनि संसदीय दलको नेता बन्न चाहिरहेका छन्।
त्यही समूहबाट नेता कोइराला पनि संसदीय दलको नेताका लागि आकांक्षी छन्। सुरूवाती क्रममा मौन बसेका कोइराला यतिबेला संसदीय दलको नेतामा भिड्ने प्रष्ट संकेत दिइसकेका छन्। संख्याको हिसाबले कमजोर रहेको इतर समूहबाटै दुई–दुई जना उम्मेदवार हुँदा समूह थप कमजोर हुने आकलनसहित नेताहरू कोइराला र थापालाई समझदारीमा ल्याउन प्रयासरत छन्। कोइराला र थापामध्ये एक जनालाई साझा उम्मेदवार बनाउन यो समूहबाट निर्वाचित सांसदहरू सोमबार बिहानैदेखि छलफलमा जुटेका छन्। ‘साथीहरूसँग छलफलमा छौं, साझा उम्मेदवार बनाउने प्रयास भइरहेको छ,’ इतर समूहबाट निर्वाचित एक सांसदले भने,‘साझा उम्मेदवार नै दिने निर्णय भएको छ। प्रयास जारी छ।’ ती सांसदका अनुसार कोइराला र थापा दुवै जना आफ्नो अडानमा कायम देखिएका छन्।
‘दुवै जना आफ्नो अडानमा कायम देखिनुभएको छ, सहमति जुटाउने प्रयास भइरहेको छ,’ उनले भने। पहिलो चरणमा साझा छलफल भएको थियो। तर, सहमति जुट्न नसकेपछि संसदीय दलका नेताका दुवै दाबेदारलाई बाहिर राखेर यो समूहका नेताहरू दोस्रो चरणको छलफलमा जुटेका छन्। सहमति नजुटे पनि संसदीय दलको नेतामा कोइरालाको उम्मेदवारी निश्चित रहेको उनीनिकट एक नेताले बताए। ‘साझा उम्मेदवार बनाउने प्रयासस्वरूप छलफल चलिरहेको छ। सहमतिमै उम्मेदवार टुङ्गिने हाम्रो विश्वास हो,’ ती नेताले भने,‘सहमति नजुटे महमान्त्रीज्यूले के गर्नुहुन्छ थाहा भएन तर शेखर दाइको उम्मेदवारी जसरी पनि रहन्छ।’ संसदीय दलमा सभापति देउवासँग ५२ सांसद छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री शशांक कोइराला समूहसँग १० सांसद छन्। यस्तै प्रकाशमानसिंह समूहमा ३ सांसद छन्। कोइराला समूहमा २३ सांसद छन्।
१४ औं महाधिवेशनमा प्रकाशमान समूहबाट महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले अर्का महामन्त्री थापा संसदीय दलको चुनाव लडे आफ्नो समर्थन रहने घोषणा गरिसकेका छन्। यस्तै पूर्वमहामन्त्री शशांकले ‘दाइ शेखर कोइराला दलको नेतामा चुनावमा लडे पनि सभापति देउवालाई समर्थन गर्ने’ बताएका छन्। संसदीय दलको अंकगणितलाई हेर्ने हो भने रामचन्द्र–शशांक समूह, प्रकाशमान समूह र इतर समूह एकै ठाउँमा उभिँदा पनि देउवालाई दलको नेतामा हराउन कठिन देखिन्छ।