Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

श्रीलंकाका प्रदर्शनकारीले प्रधानमन्त्रीको निवास जलाए

एजेन्सी । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेको निजी निवासमा प्रदर्शनकारीहरूले आगो लगाइदिएका छन्। त्यसअघि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। तर, प्रदर्शनकारी प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए। प्रधानमन्त्री विक्रमसिंघे पदबाट राजीनामा दिन तयार भइसकेका बेला यो घटना भएको हो। उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेर यस घटनाको पुष्टि आफैं गरेका छन्।
त्यसअघि प्रधानमन्त्री कार्यालयले पनि विक्रमसिंघे राजीनामाका लागि तयार भैसकेको बताएको थियो। सर्वदलीय सरकार गठनका लागि मार्गप्रशस्त गर्न उनले राजीनामा दिन चाहेको प्रधानमन्त्री कार्यालयले जनाएको थियो। विक्रमसिंघेले आफ्ना पार्टीका नेताहरूलाई पनि सर्वदलीय सरकार बनाउन आफू राजीनामा दिन तयार रहेको बताएका थिए।
विपक्षले माग गरिरहेअनुसार नागरिकको सुरक्षा सुनिश्चित गर्न आफू राजीनामा दिन तयार रहेको प्रधानमन्त्री कार्यालयले दाबी गरेको थियो। उता विपक्षका सांसद हर्ष डि सिल्वाले राष्ट्रपति र प्रधानमन्त्री दुवैले तत्काल राजीनामा दिने बैठकमा सहमति भएको बताएका छन्।
उनकाअनुसार बढीमा ३० दिनका लागि त्यहाँका संसदका सभामुख संविधानअनुसार राष्ट्रपतिका रूपमा काम गर्ने सहमति भएको हो। सर्वदलीय अन्तरिम सरकार गठन गरेर चाँडै चुनाव गराउन सहमति भएको डि सिल्वाले बताएका छन्।
प्रधानमन्त्री निवासमा प्रवेश गर्नुअघि प्रदर्शनकारी दिउँसो राष्ट्रपति गोटाबाया राजपक्षेको सरकारी निवासमा प्रवेश गरेका थिए। प्रदर्शनकारीहरू पुगेका बेला राष्ट्रपति गोटाबाया त्यहाँ दिएनन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार उनलाई सुरक्षित स्थानमा लगिएको छ। यद्यपि राष्ट्रपत गोटाबाया अहिले कहाँ छन् यसबारे पुष्ट जानकारी आएको छैन।
यसैबीच राष्ट्रपति गोटाबाया श्रीलंकाबाट निस्कन चाहिरहेको दाबी गरिएको छ। सार्वजनिक भएका तस्बिरहरूमा प्रदर्शनकारी राष्ट्रपति भवनमा रहेका कुर्सीमा बसिरहेको देखिन्छ। कतिपय स्विमिङ पुलमा पौडी खेलिरहेको तस्बिरहरू सार्वजनिक भएका छन्।
राष्ट्रपति निवास घेराउ गर्न पुगेका प्रदर्शनकारीमाथि प्रहरील हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो। झडपमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्। पछिल्लो समय श्रीलंका ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। त्यहाँ इन्धन, खाद्यान र औषधिको अभाव भएको छ।
श्रीलंकामा राजनीतिक अशान्ति फैलिएको बेला अस्ट्रेलिया र श्रीलंकाबीच टेस्ट म्याच भैरहेको छ। म्याच शनिबार पनि जारी रह्यो। श्रीलंकाको गाले सहरमा म्याच खेलिएको हो। यो ठाउँ राजधानी कोलोम्बोबाट १२४ किलोमिटरको दूरीमा पर्दछ।