Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । संवेदनशील सूचना चुहावट गरेको आरोपमा सरकारले सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई निलम्बन गरेको छ।
गृह मन्त्रालयका अनुसार दाहालले पदीय आचरणविपरीत कार्य गर्नुका साथै संवेदनशील सूचना चुहावट गरेको आरोपमा निलम्बन गरिएको हो। मन्त्रालयले घटनाबारे थप छानबिन अघि बढाउने निर्णयसमेत गरेको छ।
स्रोतका अनुसार दाहाल निलम्बनमा पर्नुको एउटा प्रमुख कारण पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्ध र अर्को कारण झापाका इनम सापकोटासँगको सम्पर्क रहेको अनुसन्धानबाट देखिएको छ।
पूर्वप्रधानन्यायाधीश जबरालाई असोज ११ गते राति सुरक्षा जोखिम रहेको भन्दै घरबाटै नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुर्याइएको थियो। स्रोतका अनुसार जबरालाई टेकु ल्याएको केही समयमै एआईजी दाहालसमेत त्यहाँ पुगेका थिए।
पदीय जिम्मेवारी र ‘चेन अफ कमान्ड’ लाई बेवास्ता गर्दै दाहाल रातारात प्रहरी कार्यालय पुगेपछि उनीमाथि आन्तरिक अनुसन्धान सुरु गरिएको स्रोतको दाबी छ।
त्यसक्रममा प्रहरीको विशेष ब्युरोले गरेको अनुसन्धानमा दाहाल झापाका इनम सापकोटासँग सम्पर्कमा रहेको खुलेको बताइएको छ। अनुसन्धान स्रोतका अनुसार सापकोटामार्फत दाहालले पूर्वप्रधानन्यायाधीश जबरासँग संवेदनशील सूचना आदानप्रदान गरेको आशंका गरिएको छ।
सापकोटालाई पनि प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको थियो। उनको मोबाइलबाट दाहालसँग भएको सम्पर्क र सूचनाको आदानप्रदानसम्बन्धी विवरण फेला परेको अनुसन्धान स्रोतको दाबी छ। सापकोतालाई भने एक दिनपछि छाडिएको थियो।
गृह मन्त्रालयले घटनाको विस्तृत छानबिनका लागि जाँचबुझ अधिकृत तोक्ने निर्णय गरेको छ। जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान पूरा गरी मन्त्रालयमा प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।
छानबिन प्रतिवेदनमा पूर्वप्रधानन्यायाधीश जबरा, एआईजी दाहाल र सापकोटाबीचको सम्पर्क तथा संवेदनशील सूचना आदानप्रदानसम्बन्धी विषय समेटिने बताइएको छ।
यसअघि असोज ११ गते राति सरकारले सुरक्षा जोखिम रहेको भन्दै पूर्वप्रधानन्यायाधीश जबरालाई निवासबाटै नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा प्रहरी नियन्त्रणमा राखिएपछि उनलाई छाडिएको थियो। जबरालाई घरबाटै रातारात नियन्त्रणमा लिइएको घटनाको शैलीलाई लिएर त्यतिबेला आलोचनासमेत भएको थियो।
२०८३ आश्विन २०
ताजा नेपाल
२०८३ आश्विन २०
ताजा नेपाल
२०८३ आश्विन २०
ताजा नेपाल