Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संसदीय दलको नेता बन्न देउवालाई चुनौती

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता बन्ने दौडमा देखिएका छन् । सरकारको नेतृत्व गर्नका लागि संसदीय दलको नेता बन्नैपर्ने बाध्यात्मक परिस्थितिका कारण देउवा त्यसतर्फ अग्रसर देखिएका हुन् । पार्टीको संस्थापन पक्षबाट देउवा निर्विकल्प रुपमा संसदीय दलको नेताका लागि अगाडि आएका छन् ।
संस्थापन इतरबाट नेता शेखर कोइराला कि महामन्त्री गगन थापा भन्ने अन्योल कायमै छ । संसदीय दलमा देउवासँग आफै भिड्ने शेखर कोइरालाको तयारी छ । १४ औं महाधिवेशनमा देउवाका निकटतम प्रतिद्वन्द्वी कोइराला पार्टीभित्र वैकल्पिक नेताको स्थान गुमाउने पक्षमा छैनन् । संसदीय दलमा थापालाई समर्थन गरेर जाँदा आफ्नो राजनीति संकटमा पर्ने कोइरालामा भय देखिन्छ ।
संसदीय दलमा थापाको आक्रामक तयारीले कोइरालामा अलमल देखिएको छ । अहिलेसम्म गगनको पक्षमा नउभिएका उनी स्पष्ट ढंगले अगाडि आउने अवस्था पनि छैन । संसदीय दलको नेताको रेसबाट महामन्त्री थापा ‘ब्याक नहुने देखेपछि कोइरालाको प्रस्टता हराएको छ ।
१४ औं महाधिवेशनमा प्रकाशमान सिंह प्यानलबाट चुनाव जितेका महामन्त्री विश्वप्रकाश शर्माले थापाको प्रस्तावक बस्ने घोषणा गर्दा कोइरालाले कित्ता क्लियर गरेको पाइँदैन । ए बाबा १ कसैले समर्थन गरेर वा संसदीय दलको नेता बन्छु भनेर हुने कुरा होइन, यो नम्बरको कुरा हो, कोइराला भन्छन्, संख्या पुयाउनु परेन भनेको रु नम्बर गेम जसले पुयाउन सक्छ, त्यही दलको नेता बन्छ ।

नम्बर गेममा सभापति देउवाकै बर्चस्व देखिएको उनको भनाइ छ । हामी कसरी जाने भन्ने विषयमा सभापतिसँग कुरा गरेरै अगाडि बढ्ने हो । अन्य साथीहरुसँग पनि कुरा गर्छौं, कोइरालाले भने ।
कोइराला र थापाबीच पटक–पटक छलफल हुँदा पनि एक जनाको नाममा सहमति हुन सकेको छैन । संसदीय दलमा कोइरालाको साथ पाउनेमा महामन्त्री थापा आशावादी नै छन् । संसदीय दलमा उम्मेदवारीबाट म पछाडि फर्किने ठाउँ नै छैन । शेखर कोइरालालाई सभापति बनाउन इमानदारितापूर्वक म लागेको हुँ । मलाई शेखर कोइरालाको आशीर्वाद प्राप्त हुन्छ, उनी भन्छन् ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि संसदीय दलको नेतामा चुनाव लड्ने तयारीमा छन् । प्रधानमन्त्रीका दौडमा देखिएका पौडेलले पार्टीभित्र र गठबन्धन दलका नेतासँगको भेटघाट गरिरहेका छन् । पार्टीका नेताहरुलाई भेटेर संसदीय दलमा आफूलाई सहयोग गर्न पौडेलले आग्रह गर्दै आएका छन् ।
सम्बद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर उनले प्रधानमन्त्रीका लागि लबिङ गरिरहेको पाइन्छ ।
संसदीय दलमा प्रतिस्पर्धा र सर्वसम्मत दुवै कुरालाई मध्यनजर गरी आफ्नो दाबी प्रस्तुत गरेको पौडेलको तर्क छ । मैले प्रतिस्पर्धा र सर्वसम्मत दुवै कुरालाई मध्यनजर गरी आफ्नो दाबीलाई अत्यन्त न्यायोचित सोचेर नै आफूलाई प्रस्तुत गरेको छु । म सबै परिस्थितिलाई फेस गर्न तयार भएर नै अग्रसर भएको हुँ ।
आफू चुनाव लड्न पनि तयार रहेको भन्दै पौडेलले आफ्नो नाममा सर्वसम्मत हुने विश्वास व्यक्त गरे । पर्यो भने चुनाव लड्न पनि तयार छु तर कांग्रेसमा चुनाव लड्नुपर्ने स्थिति नआउला । मेरो नाममा सर्वसम्मत हुने धेरै आधार छन्, पौडेल भन्छन् ।
यता देउवाले भने प्रधानमन्त्रीमा आकांक्षा राख्ने नेताहरुलाई समेत आफ्नो पक्षमा उभ्याउँदै लगेको अवस्था छ । प्रकाशमान सिंह, शशांक कोइराला र विमलेन्द्र निधि देउवाको पक्षमा उभिएको अवस्था छ । निधिले देउवालाई संसदीय दलमा समर्थन गर्नु आफ्नो कर्तव्य भएको बताए । यस्तै कोइरालाले अहिले संसदीय दलको नेतामा उपयुक्त पात्र देउवानै भएको बताए ।

‘लड्छु भनेरमात्र हुँदैन । गगनजीलाई अहिले हेर्दा गाह्रो छ । हुन त शेखर कोइराला मेरो दाइ हो, उनी भन्छन्, तर संसदीय दलको नेतामा उपयुक्त पात्र शेरबहादुरजी नै हो ।
शशांक र विमलेन्द्रले देउवालाई समर्थन गर्ने संकेत देखाउँदा प्रकाशमान पनि त्यही लाइनमा छन् । देउवाको पक्षमा मोहाल बनाउन सिंह आन्तरिक रुपमा सक्रिय रहेको पाइन्छ । सिंह निकट एक केन्द्रीय सदस्यका अनुसार संसदीय दलको नेताको रेसबाट उनी ‘ब्याक’ भइसकेका छन् ।
सिंहले २०७४ को चुनावमा देउवासँग संसदीय दलमा प्रतिस्पर्धा गरेका थिए । तर अहिले उनी पनि देउवाको पक्षमा उभिएपछि संसदीय दलका संस्थापन पक्षको पल्ला भारी देखिएको छ । रामचन्द्र पौडेल र शेखर कोइरालालाई पनि आफ्नो पक्षमा उभ्याउने देउवाको प्रयास जारी छ ।
शेखर कोइरालासँग देउवा पक्षका नेताहरुको बाक्लो भेटघाट भइरहेको छ । प्रवक्ता डा। प्रकाशशरण महत, एनपी साउद लगायतका नेताले भेटघाट गरेका थिए । कोइराला आफै संसदीय दलको नेतामा चुनाव नलडेको अवस्थामा देउवालाई सघाउने महतको विश्वास छ ।
‘उहाँले गगनजी आफूखुसी अगाडि बढेको जस्तो कुरा गर्नुभयो । उहाँ आफै संसदीय दलको नेता लड्नु भएन भने सभापतिजीलाई सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ, उनी भन्छन् ।
पौडेलले अहिले संसदीय दलको नेताका लागि प्रयास गरे पनि चुनाव हुने अवस्थामा देउवालाई नै साथ दिने महत बताउँछन् । पौडेलले पनि पार्टीभित्र देउवासँगको सम्बन्ध विश्वासिलो भएको बताएका थिए ।

देउवासँग धेरै कुरामा आफ्नो सहमति र सहयात्रा भएको उनको भनाइ छ । तर महामन्त्रीद्वय थापा र शर्मा भने चुनावले रुपान्तरणको सन्देश दिएको भन्दै देउवालाई विस्तापित गर्ने अडानमा छन् ।

संसदीय दलको अंकगणित भने देउवाको पक्षमा देखिन्छ । कांग्रेसमा प्रत्यक्ष निर्वाचित ५७ र समानुपातिक ३२ गरी ८९ सांसदमध्ये करिब ६० जना देउवा समर्थक छन् ।
गणितीय हिसाबले संसदीय दलमा देउवा कम्फर्ट जोन देखिन्छन् । तर महामन्त्री थापाप्रतिको जनसमर्थनले सांसदहरुलाई बहकाउन सक्ने भय देउवा पक्षमा देखिन्छ । चुनावताका देखि महामन्त्री थापाले आक्रामक तयारी थालेकाले संस्थानप पक्षले उनलाई कमजोर आँकेको छैन ।

त्यसैले देउवाको सचिवालयले आफू पक्षीय सांसदलाई दायाँ–बायाँ हुन नदिने रणनीति बनाएको छ । स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित सांसदलाई बालुवाटार बोलाएर बधाइ दिने तथा उनीहरुको मनोभाव बुझ्ने काम भइरहेको छ ।

समानुपातिक सांसद बन्ने सम्भावना भएका उम्मेदवारको पनि विश्वास लिने काम भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

 


सम्बन्धित समाचार

२०८३ जेष्ठ ८

ताजा नेपाल

मान्यहरूले गर्दैछन् सभापतिसँग छलफल

२०८३ जेष्ठ ८

ताजा नेपाल