Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसक्दा राजनीतिक गतिरोध चुलिएको छ। सरकार गठनमा अन्योल कायम रहेका बेला इरानसँगको सैन्य तनाव पुनः बढ्न सक्ने संकेत देखिएको छ।
इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो राजनीतिक अस्तित्व जोगाउन इरानसँग नयाँ सैन्य मुठभेडलाई हतियार बनाउन सक्ने चेतावनी दिएका छन्।
सामाजिक सञ्जाल एक्समा लेख्दै गोलानले इरानसँग युद्धको अर्को चरण सुरु हुने सम्भावना तीव्र रूपमा बढिरहेको बताएका छन्। अमेरिकामा आउँदो मङ्गलबार हुने मध्यावधि निर्वाचनलगत्तै वासिङ्टन र तेल अभिभले इरानमाथि ठूलो सैन्य आक्रमण गर्न सक्ने भन्दै इजरायली र अमेरिकी सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
नेतान्याहुको असफलतामाथि विपक्षीको प्रश्न
इजरायलका पूर्वउपसेनाप्रमुखसमेत रहेका गोलानले इरानसँग बारम्बार युद्धको अवस्था सिर्जना हुनु नेतान्याहुको असफलताको प्रमाण भएको टिप्पणी गरेका छन्।
‘हामी इरानविरुद्ध बारम्बार युद्ध लड्नुपर्ने स्थितिमा पुगेका छौँ। यसले नेतान्याहु कति असफल भइसकेका छन् भन्ने देखाउँछ। उहाँसँग अर्को युद्ध सञ्चालन गर्ने न नैतिक वैधता छ, न त आधारभूत क्षमता नै,’ उनले भनेका छन्।
प्रधानमन्त्री नेतान्याहु, रक्षामन्त्री इजरायल कात्ज र राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन–गभिरको हातमा देशको सुरक्षा जिम्मेवारी रहिरहनु इजरायलका लागि जोखिमपूर्ण भएको गोलानको भनाइ छ। उनले वर्तमान नेतृत्वबाट सुरक्षा व्यवस्थापन हुन नसक्ने भन्दै यसको तत्काल अन्त्य हुनुपर्ने माग गरेका छन्।
निर्वाचनमा कसैको बहुमत पुगेन
गत अक्टोबर २७ मा सम्पन्न १२५औँ नेसेट अर्थात् इजरायली संसद्को निर्वाचनमा कुनै पनि पक्षले सरकार गठनका लागि आवश्यक ६१ सिटको बहुमत प्राप्त गर्न सकेन।
प्रधानमन्त्री नेतान्याहुको सत्तारूढ लिकुड पार्टी र उसका धार्मिक तथा कट्टरपन्थी सहयोगी गठबन्धनले १२० सदस्यीय संसद्मा ५३ सिट जितेका छन्। विपक्षी यहुदी दलहरू गादी इसेनकोट, नाफ्ताली बेनेट र याइर गोलानलगायतले ४८ सिट प्राप्त गरेका छन्।
त्यस्तै, अरब तथा प्यालेस्टिनी दलहरू जोइन्ट लिस्ट र राअमले १९ सिट जितेका छन्। उनीहरू सरकार गठनका लागि निर्णायक अवस्थामा पुगेका छन्।
संसद्मा नेतान्याहुविरोधी कित्तामा ६५ सिट रहेकाले गोलानले अरब दलहरूको समेत समर्थनमा वैकल्पिक सरकार गठन गर्न आग्रह गरेका छन्। इजरायलको राष्ट्रिय सुरक्षा र नागरिकको रक्षाका लागि तत्काल नयाँ सरकार गठन गर्नुपर्ने उनको तर्क छ।
निर्वाचनपछि इजरायलमा अरब दलहरूको समर्थनमा वैकल्पिक सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार गठन गर्ने वा पुनः मध्यावधि निर्वाचनमा जाने विकल्पबारे बहस भइरहेको छ।
नेतान्याहुमाथि कानुनी संकट
७६ वर्षीय प्रधानमन्त्री नेतान्याहु राजनीतिक संकटसँगै गम्भीर कानुनी चुनौतीको पनि सामना गरिरहेका छन्। उनीमाथि घुसखोरी, ठगी र पदको दुरुपयोगसम्बन्धी आरोपमा अदालतमा मुद्दा चलिरहेको छ। दोषी ठहरिएमा उनलाई जेल सजाय हुन सक्छ।
त्यस्तै, सन् २०२३ अक्टोबरदेखि गाजा क्षेत्रमा जारी युद्धका क्रममा प्यालेस्टिनीहरूमाथि युद्ध अपराध र मानवताविरुद्धको अपराध गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले सन् २०२४ मा नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
निर्वाचनबाट स्पष्ट बहुमत प्राप्त नहुँदा नेतान्याहुको सत्ता निरन्तरतामाथि प्रश्न उठेको छ। यस्तो अवस्थामा आन्तरिक राजनीतिक संकटबाट ध्यान मोड्न इरानसँगको सैन्य तनाव चर्काउन सक्ने विपक्षी नेताको चेतावनीले इजरायलको आगामी राजनीतिक र सुरक्षा परिस्थितिलाई थप संवेदनशील बनाएको छ।
२०८३ कार्तिक १७
ताजा नेपाल
२०८३ कार्तिक १७
ताजा नेपाल
२०८३ कार्तिक १६
ताजा नेपाल