Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सम्भव भएसम्म घरमै बसौं : स्वास्थ्य मन्त्रालय

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताए । उनले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राखे । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उनको भनाइ छ । उनले सङ्क्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गरे ।
प्रवक्ता डा. गौतमले सङ्क्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गरे । सकारात्मक सोच र चिन्तन गरी सबैले आ–आफ्नो ठाउँबाट सङ्क्रमणको रोकथाम र नियन्त्रणमा एकजुट हुन जरुरी रहेको उनको भनाइ छ । उनका अनुसार कोभिड–१९ को रोकथामको प्रमुख उपाय खोप र जनस्वास्थ्यका मापदण्डको पालना रहेको छ । बिहीबार एकै दिन एक हजार १११ जनामा सङ्क्रमण देखिएको छ भने आठ जनाको सङ्क्रमणका कारणले निधन भएको छ । उनले संक्रमणको रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारीलाई सहानुभूति प्रकट गर्न आग्रह गरे । “नेपालमा सवै अङ्ग सङ्क्रमणको रोकथाम र नियन्त्रण गर्न अहोरात्र खटिएका छन्, खटिएका कर्मचारीका परिवार पनि सङ्क्रमणबाट पीडित भएका छन्”, उनले भने, “यस्तो कठिन घडी सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न खटिएका कर्मचारी र परिवारप्रति सबैले सहानूभुति राख्नुहोस् ।” सङ्क्रमणको नियन्त्रण र रोकथामका लागि विश्वमा भइरहेका अनुसन्धान प्रयासको सरकारले अध्ययन गरिरहेको उनले बताए । विश्वका कतिपय देशले परीक्षण गरिरहेका कतिपय खोप, औषधी सफल परीक्षणपश्चात हाम्रो देशका नागरिकले पनि राहत पाउने उनको भनाइ छ । कोभिड–१९ बाट आफू र आफ्नो परिवारलाई बचाउनसमेत उनले अनुरोध गरेका छन् ।