Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सरकारको आम्दानी भन्दा खर्च धेरै

चालु आर्थिक वर्ष २०७९,८० को आठ महिनामा सरकारी बजेट खर्च ४३ दशमलव ४४ प्रतिशत भएकोे छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार फागुन मसान्तसम्म सरकारले ७ खर्ब ७९ अर्ब २३ करोड बराबर बजेट खर्च गरेको हो ।
यो अवधिमा चालु खर्च वार्षिक विनियोजनको ५१ दशमलव ४६ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि चालुगत शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड विनियोजन भएकोमा फागुन मसान्तसम्म ६ खर्ब ८ अर्ब ८४ करोड बराबर खर्च भएको देखिएको हो ।
पुँजीगततर्फ चालु आर्थिक वर्षका लागि ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख बराबर विनियोजन भएकोमा आठ महिना अवधिमा वार्षिक विनियोजनको २२ दशमलव १५ प्रतिशत अर्थात ८४ अर्ब २५ करोड ६० लाख बराबर मात्रै खर्च भएको छ ।
त्यस्तै, वित्तीय व्यवस्थापन शीर्षकमा चालु आर्थिक वर्षका लागि दुई खर्ब ३० अर्ब बराबर बजेट छुट्याइएकोमा वार्षिक विनियोजनको ३७ दशमलव ४१ प्रतिशत बराबर खर्च भएको छ । जुन ८६ अर्ब १२ करोड ९६ लाख बराबर रहेको छ ।
वित्तीय व्यवस्थापनतर्फको बजेट सरकारी ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुन्छ । यस अर्थमा चालु आवको आठ महिनामा सरकारी ऋणको साँवा ब्याज भुक्तानीमा भएको खर्च भन्दा पुँजीगत खर्च कम देखिएको छ ।
आठ महिना अवधिमा सरकारको राजस्व सङ्कलन ४१.५३ प्रतिशत बराबर छ । चालु आवका लागि कूल १४ खर्ब ५८ अर्ब ६० करोड बराबर राजस्व असुली गर्ने सरकारको लक्ष्य छ । तर फागुन महिनासम्म ५ खर्ब ८२ अर्ब ७७ करोड बराबर मात्रै राजस्व उठेको छ ।
सरकारले आठ महिनाको अवधिमा कर राजश्व ५ खर्ब २६ अर्ब ४७ करोड तथा गैर कर राजश्व ५६ अर्ब २९ करोड संकलन गरेको छ ।
चालु आवका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेकोमा फागुन मसान्तसम्ममा लक्ष्यको आठ दशमलव ६६ प्रतिशत अर्थात् ४ अर्ब ८० करोड २० लाख बराबर अनुदान आएको छ ।