Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विपक्षी दलहरूले सरकारले महत्त्वपूर्ण विषयहरूमा संसद्लाई छलेर अध्यादेशमार्फत अघि बढ्न खोजेको निष्कर्ष निकालेका छन्। सरकार एकलौटी ढङ्गले सञ्चालन हुन खोजेको भन्दै विपक्षी दलहरूले तत्काल संसद् अधिवेशन आह्वान गरी समसामयिक विषयमा गम्भीर छलफल गर्न माग गरेका छन्।
सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरूको बैठकपछि कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दाम्बेले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसद्मा छलफल हुनुपर्ने विषयहरू धेरै रहेको बताए।
उनका अनुसार बैठकमा बिचौलियासँग जोडिएका विषय, न्यायालयमाथि उठेका प्रश्न, प्रेससँग सम्बन्धित संवेदनशील मुद्दा, प्रहरी प्रशासन तथा प्रधानमन्त्री र उनको सचिवालयसँग सम्बन्धित विषयमा गम्भीर छलफल भएको थियो।
राज्यका महत्त्वपूर्ण तथा विश्वसनीय निकायमाथि नै प्रश्न उठिरहेको अवस्थामा ती निकायबाट हुने कामकारबाही निष्पक्ष र पारदर्शी हुन्छ कि हुँदैन भन्ने आशङ्का पैदा भएको आङ्दाम्बेको भनाइ छ। यस्ता विषयको समाधान संसद्भित्रै खोजिनुपर्ने उनले बताए।
बैठकमा विभिन्न घटनाको छानबिन गर्न गठित समितिहरूको प्रगतिबारे समेत प्रश्न उठाइएको थियो। सुनसरी र कप्तानगञ्जका घटनाको छानबिन गर्न बनेका समितिको अवस्था तथा अन्य छानबिन समितिले गरिरहेको कामकारबाही सार्वजनिक गर्नुपर्ने विपक्षी दलहरूको माग छ।
त्यस्तै, भोटेकोशी बाढीबाट विस्थापित नागरिकले अझै राहत तथा घरभाडा पाउन नसकेको, बजारमा महँगी बढ्दै गएको र नागरिकको दैनिक जीवन प्रभावित भइरहेको विषयलाई पनि संसद्मा उठाउनुपर्नेमा विपक्षी दलहरू एकमत देखिएका छन्।
संसद् अधिवेशन आह्वानका विषयमा सभामुखसँग पनि छलफल गरिने आङ्दाम्बेले जानकारी दिए। सत्तापक्षसँगको भेटघाट भने उनीहरूको प्रस्तुतिका आधारमा तय हुने उनले बताए।
विवादित न्यायाधीशमाथि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको विषयमा भने विपक्षी दलहरूले तत्काल धारणा नबनाएको उनले स्पष्ट पारे। सत्तापक्षले उक्त विषय कसरी अघि बढाउँछ भन्ने हेरेर पार्टीगत छलफलपछि निर्णय लिइने उनको भनाइ छ।
‘सत्तापक्षले विषय कसरी उठान गर्छ, त्यसपछि पार्टीगत रूपमा छलफल गरेर टुङ्ग्याउनुपर्ने विषय हो,’ उनले भने, ‘राम्रा कामका लागि हामी हिजो पनि साथमा थियौँ, आज पनि साथमा छौँ।’
बैठकमा सहभागी नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेश हमालले मुलुकमा बिचौलियाहरूले राज्यसत्तामाथि कब्जा जमाउने प्रयास गरिरहेको आरोप लगाए। उनले वर्तमान राजनीतिक तथा प्रशासनिक अवस्थाबारे संसद्मा व्यापक छलफल आवश्यक रहेको बताए।
बैठकमा विपद्पछिको पुनर्निर्माण, राष्ट्रियता, लोकतन्त्र, संविधानमाथि उठेका प्रश्न तथा जनताका दैनिक सरोकारका विषयमा छलफल भएको हमालले जानकारी दिए।
‘अहिले जुन किसिमको सङ्कट पैदा भएको छ, बिचौलियाहरूले राज्यसत्तामाथि कब्जा गर्ने प्रयत्न गरिरहेका छन्। यी तमाम विषयमा संसद् आह्वान गरेर गम्भीर छलफल गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो,’ उनले भने।
विपक्षी दलहरूले सरकारको कार्यशैली, राज्यका निकायमाथि उठेका प्रश्न र जनजीविकासँग जोडिएका समस्यालाई संसद्मा प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्।
२०८३ कार्तिक १७
ताजा नेपाल
२०८३ कार्तिक १७
ताजा नेपाल
२०८३ कार्तिक १७
ताजा नेपाल