Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको तथा घटनापछि उनलाई कुटपिट गरी भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पीडित बालिकाका ५५ वर्षीय ससुरा र २३ वर्षीय श्रीमान् रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित पीडितकै घरमा ५५ वर्षीय जयराम दर्जीले आफ्नी १४ वर्षीया बुहारीमाथि जबरजस्ती करणी गरेको आरोप छ ।
घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले दर्जीलाई पक्राउ गरेको थियो । उनलाई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनापछि दर्जीका २३ वर्षीय छोराले आफ्नी आमासमेतको उपस्थितिमा पीडित बालिकालाई घटनाबारे सोधपुछ गर्दै कुटपिट गरेको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो क्रममा खिचिएको भिडियो उनले आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपछि घटना बाहिरिएको थियो ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएको विषयलाई गम्भीरतापूर्वक लिँदै प्रहरीले कुटपिट तथा भिडियो अपलोड गरेको आरोपमा पीडितका श्रीमानलाई बुधबार पक्राउ गरेको जनाएको छ ।
उनीमाथि इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराधसम्बन्धी कसुर र बालविवाहसम्बन्धी कसुरमा समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक ९डीएसपी० महेन्द्रकुमार मिश्रले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका नागरिकविरुद्ध हुने अपराधमा शून्य सहनशीलताको नीति अवलम्बन गरी गम्भीरतापूर्वक अनुसन्धान तथा कारबाही अघि बढाइँदै आएको बताए ।
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल
२०८३ मंसिर ११
ताजा नेपाल