Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साझा न्यूनतम कार्यक्रममै अघि बढ्लान त देउवा ?

काठमाडौँ । नमच्चिने पिङका सय झड्का काँगेस सभापति शेरबहादुर देउवालाई सुम्पिएको कुन चाहिँ न्यूनतम कार्यक्रम पूरा होला ? तैपनि सत्तारुढ गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रम तय गर्न गठित सत्ता गठबन्धनको कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरूलाई बुझाएको छ । शुक्रबार बिहान कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएको हो । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनको मूल उद्देश्य पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले भत्काएका प्रणालीलाई ‘लिक’मा ल्याउने भन्ने छ । सत्ता गठबन्धनले बनाएको कार्यदलले बुधबार आचारसंहिता, सरकार सञ्चालन कार्याविधि र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएको थियो । सरकारनिकट स्रोतका अनुसार न्यूनतम साझा कार्यक्रम, मन्त्रीहरुको आचारसंहिता र कार्यविधि मुख्य रुपमा कोभिड नियन्त्रण, शान्ति सुरक्षा र सामाजिक रुपान्तरणका मुद्दामा केन्द्रित छ । संघीय कार्यान्वयनमा जोड दिने, सबै नागरिकलाई आउँदो चैत मसान्तसम्म कोभिड(१९ विरुद्धको खोप लगाइसक्नेलगायतका विषय पनि समेटिएको छ । त्यस्तै मन्त्रीहरू भ्रष्टाचारजन्य कुनै पनि गतिविधि मुछिए तत्काल पदमुक्त गर्ने, मन्त्रीहरुले कुनै कूटनीतिक नियोगका पदाधिकारी भेट्नु परे अनिवार्य रुपमा परराष्ट्र मन्त्रालयको अनुमति लिनुपर्नेलगायतका विषय पनि समेटिएका छन् । त्यस्तै मन्त्रीहरुले कुनै पनि नियुक्ति गर्नुपर्दा नातावादलाई प्रश्रय दिन नहुने र समावेशी रूपमा नियुक्त गर्नुपर्ने, अनुचित खालका सुविधा लिन नहुने, मितव्ययी भएर चल्नुपर्ने पनि उल्लेख छ ।