Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साधारणसभा रोकिँदा ढकाल समूह असन्तुष्ट

काठमाडौं । नेकपाको स्थायी समिति जस्तै बनेको नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभा एवं निर्वाचन फेरि पनि रोकिन पुगेको छ । लकडाउन हटे पनिसामाजिक दूरी कायम गर्नुपर्ने अवस्था कायमै रहेका कारण महासंघको साधारणसभा अनिश्चितकालका लागि रोकिन पुगेको हो । अन्तिम अवस्थामा आएर कार्यक्रम रोकिन पुग्दा वरिष्ठ उपाध्यक्ष पदका उमेदवार चन्द्रप्रसाद ढकालले आपत्ति जनाएका छन् ।
ढकाल नेतृत्वको समूहले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन सार्ने महासंघको निर्णय गलत भएको बताए । निर्वाचन सार्ने निर्णय कार्यसमिति बैठकले गर्नुपर्नेमा पदाधिकारी बैठकले नै निर्णय गर्नु विधानविपरीत भएको पनि ढकालले जिकिर गरे ।

निर्वाचन गर्ने विषयमा सरकारलाई पत्र पठाएर अनुरोध गरेको तर सरकारको जवाफ नआउँदै पदाधिकारी बैठकले स्थगितको निर्णय गर्नु गलत भएको ढकालले बताए । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर चुनाव गर्न आफूले प्रस्ताव राख्दा केही पदाधिकारीले स्वास्थ्य भन्दा महासंघ ठूलो भएको भन्दै आफूलाई हतोत्साही पार्न खोजेको ढकालले बताए ।

यो निर्णयले महासंघको कानुनी मात्रै नभएर नैतिक र सामाजिक जग पनि भासिएको उनले टिप्पणी गरे । चुनावी नतिजाको आंकलन गरेर निर्वाचन स्थगित गरिएको ढकालले दावी गरे । महासंघको चुनाव साउन २६ र २७ गतेका लागि तोकिएको थियो । तर बिहीबार बसेको पदाधिकारी बैठकले कोरोना महामारीको जोखिमको कारण देखाउँदै निर्वाचन स्थगितको निर्णय गरेको थियो । आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित नयाँ कार्यसमितिका लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित प्रतिस्पर्धामा छन् ।

ढकाल समूहको पत्रकार सम्मेलनमा पूर्वअध्यक्ष चण्‍डीराज ढकाल र पूर्व वरिष्ठ उपाध्यक्ष भास्करराज राजकर्णिकार पनि सहभागी थिए । पूर्वअध्यक्ष ढकालले गलत नियतले हतारहतार चुनाव स्थगित गरिएको टिप्पणी गरे । कतिपय पदाधिकारी काठमाडौं उपत्यका बाहिर रहेको बेला यो निर्णय गरिएको भन्दै उनले कार्यसमितिले गर्नुपर्ने निर्णय केही पदाधिकारी बसेर निर्णय गर्नु गलत बताए ।