Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

साफ उपविजेता नेपाली फुटबल टिमलाई भव्य स्वागत

काठमाडौँ । पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश फिर्ता भएको छ । माल्दिभ्सको मालेमा आयोजना भएको १३औं साफमा नेपाल दोस्रो भएको हो । नेपाल फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । नेपाली टिम बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लिएको थियो । नेपाली टोलीलाई खेलकुद मन्त्री महेश्वर गहतराज तथा अखिल नेपाल फुटबल संघ एन्फाका उपदाधिकारी लगायतले भव्य स्वागत गरेका थिए । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताई भने फाइनल अघि नै राजीनामा दिइसकेका कारण माल्दिभ्सबाट कुवेत पुगेका छन्। यस्तै राष्ट्रिय टोलीका सदस्य रोहित चन्दसमेत नेपाल झरेनन् । व्यावसायिक फुटबलका लागि इन्डोनेशिया लिग वान खेलिरहेका रोहित जाकार्ता नै लागेका छन् । यसअघि रोहित जाकार्ताबाट सिधै माल्दिभ्स पुगेका थिए । पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो । भारतले भने राउण्ड रोबिन लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको हो । लिग चरणमा नेपालले माल्दिभ्सलाई १–० र श्रीलंकालाई ३–२ ले हराएको थियो । यस्तै भारतसँग १–० ले पराजित हुँदा अन्तिम खेलमा बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।