Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सरकारले शनिबार र आइतबार उपत्यकाका विभिन्न स्थानबाट सुकुमबासी बस्ती खाली गराएको छ। काठमाडौँको थापाथली, सिनामंगल र भक्तपुरको मनोहरामा रहेका सुकुमबासी बस्तीमा डोजर चलाइएको हो। यी बस्ती खाली गर्न नगर प्रहरी र नेपाल प्रहरीले बिहीबार नै घरदैलो गर्दै सूचना दिएका थिए। शुक्रबार साँझ ७ बजेभित्रमा बस्ती खाली गर्न भने पनि अधिकांश घर टहराहरू खाली गरिएको थिएन। शनिबार झिसमिसेमै काठमाडौँ महानगरपालिकाका नगर प्रहरी, ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सुरक्षाकर्मीसँगै घरटहराहरू भत्काउन डोजर पनि लगिएको थियो। यसअघि पनि यो बस्ती खाली गर्न काठमाडौँ महानगरपालिकाले प्रयास गरेको थियो। तर सुकुमबासीहरूले प्रतिकार गर्दा सुरक्षाकर्मीहरू नै घाइते भए। घरेलु हतियारसहित सुकुमबासीले प्रतिकार गर्दा काठमाडौँ महानगर पछि हटेको थियो। त्यतिबेला तत्कालीन सरकारबाट सहयोग नभएको गुनासो काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले गरेका थिए। तर अहिले उनी आफै प्रधानमन्त्री भएपछि बस्ती हटाउन अग्रसरता देखाएका हुन्। बस्तीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। थापाथलीमा सामान्य रुपमै बस्ती हटाउन सफल भएपछि सिनामंगलमा पनि डोजर चलाइएको थियो। त्यहाँको बस्तीमा डोजर चलाएसँगै उनीहरू मनोहरा सरेका थिए। मनोहरामा भने शनिबार सुरक्षाकर्मीमाथि नै ढुंगामुढा भएको थियो। सुकुमबासीहरूले ढुंगामुढा गरेपछि केही सुरक्षाकर्मी घाइते भएका थिए। त्यसअघि दिउँसो थापाथलीमा सुकुमबासी बस्तीमा डोजर चलाउँदै गर्दा नेपाली सेनाको टोली पनि त्यहाँ देखिएको थियो। सुकुमबासी बस्ती खाली गराउन सेना परिचालन गरिएको भन्दै अहिले सामाजिक सञ्जालमा सेनाको विरोध भइरहेको छ। सेनाको टोली बस्तीमा हतियारसहित पुगेको थियो। आइतबार भक्तपुरको मनोहरामा पनि सेनाको टोली देखिएको छ। तर नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुकुमबासी बस्ती हटाउँदा सेना परिचालन नभएको बताए। भक्तपुरको सुरक्षा समितिको टोली सुकुमबासी बस्तीको अनुगमनमा जाँदा त्यहाँस्थित गणका सेनाका प्रमुख सेनानी पनि पुगेको सहायक रथी बस्नेतले बताए। आइतबार दिउँसो मनोहरास्थित सुकुमबासी बस्तीमा भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका गणपति प्रमुख सेनानी निरजप्रताप जबरासहितको टोली पुगेको थियो। त्यसअघि जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठक बसेको र अनुगमन गर्ने भनेर सबै टोली पुग्दा सेनाका गणपति पनि पुगेको बस्नेतले भने। शनिबार थापाथलीमा पनि सेना परिचालन गरेको नभई बन्दोबस्तीका लागि आउजाउका क्रममा उपस्थित भएको सेनाको दाबी छ। त्यही हिसाबले सेना सुकुमबासी बस्तीमा पुगे पनि औपचारिक रुपमा भने परिचालन नभएको प्रवक्ता बस्नेतले बताए। आइतबार डोजर चलेको बस्तीमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्कीसहितको टोली पनि पुगेको थियो। काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८ स्थित गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका सुकुमबासी बस्तीहरू खाली गरिएको छ। त्यहाँ रहेका पक्की घरहरू र टहरामा आइतबार बिहानैबाट ठूलो संख्यामा प्रहरी परिचालन गरेर डोजर चलाइएको हो। बस्तीका भौतिक संरचना भत्काउँदै त्यहाँ रहेका मानिस र सामान निकाल्न र ढुवानी गर्न सुरक्षाकर्मीले सहयोग गरेका छन्। काठमाडौँ महानगरपालिका ९ स्थित गैरीगाउँ र वडा नं ३१ स्थित शान्तिनगरका नदी किनारका बस्ती पनि खाली गराइएको छ। बस्ती खाली गरेपछि विस्थापित भएकाहरूलाई पनि सरकारले तत्कालका लागि होटलमा खाने–बस्ने व्यवस्था गर्ने भनेको छ। बस्तीबाट हटाइएकाहरूको सामान कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग व्यासमा छुट्ट छुट्टै राखिएको छ। विस्थापित हुनु परेकाहरूलाई दशरथ रंगशालामा दर्ता गर्दै व्यवस्थापनको काम पनि सँगसँगै भइरहेको छ। सोमबार दिउँसोसम्ममा यो संख्या २१४ छ। तर बेलुकासम्ममा सरकारले व्यवस्थापन गरेका मानिसहरूको संख्या बढेको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी बसोबास गर्छन्। तीमध्ये काठमाडौँ महानगरभित्र २ हजार २४५ घरधुरी रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ। तथ्यांक अनुसार कागेश्वरी नगरपालिकामा ९०, बुढानीलकण्ठमा १५६, ललितपुर महानगरभित्र १७ र भक्तपुर नगरपालिकामा ७७३ छन्। तर त्यसपछिका तीन वर्षमा यी बस्तीमा संख्या थपिएको आकलन पनि सरकारको छ। होटलमा राखिएका परिवारहरू वास्तविक सुकुम्बासी हुन् वा होइनन् भन्ने पहिचान गर्ने कार्य पनि आजैबाट सुरु भएको छ। यी बस्तीमा रहेका सुकुमबासीहरूले भाडा तिरेर बसेको बताएका छन्। उनीहरूलाई भाडामा लगाउने व्यक्तिहरूको पनि पहिचान गर्ने काम सरकारले गरिरहेको छ।वास्तविक सुकुम्बासीलाई दुई साताभित्र नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित सरकारी अपार्टमेन्टमा राख्ने तयारी छ। यस्तै सरकारले उनीहरूका लागि दीर्घकालीन व्यवस्थापनको काम गर्ने प्रतिबद्धता जनाएको छ।
२०८३ बैशाख १४
ताजा नेपाल
२०८३ बैशाख १४
ताजा नेपाल
२०८३ बैशाख १४
ताजा नेपाल