Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि उठेका प्रश्नको अध्ययनका लागि संसदीय छानबिन समिति बनाउने भएको छ। संसदको आगामी अधिवेशनमा विपक्षीको मागबमोजिम गुरुङका सम्बन्धमा संसदीय छानबिन समिति बनाउने रास्वपाको तयारी छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग साझेदारी रहेको र संदिग्ध सेयर कारोबार गरेको विषयमा चौतर्फी आलोचना भएपछि गुरुङले वैशाख ९ मा गृहमन्त्रीबाट राजीनामा दिएका थिए। गत चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङ आफूमाथि छानबिनको माग राख्दै २७ दिनमै राजीनामा दिएर मन्त्रालयबाट बाहिरिएका थिए। रास्वपा सभापति रवि लामिछानेले गुरुङमाथि चाँडै छानबिन सुरु हुने बताएका छन्। छानबिनको प्रक्रियाबारे भने उनले प्रस्ट खुलाएनन्। तर, रास्वपाका एक पदाधिकारीले गुरुङको सम्पत्ति र साझेदारीबारे अध्ययनका लागि संसदीय समिति बन्ने बताए। उनले भने, अहिले संसद बन्द छ। विपक्षीले त्यहाँ सुधन गुरुङमाथि छानबिनको माग गर्नुहुन्छ होला। विपक्षीबाट माग हुँदा संसदीय छानबिन समिति बनाउन हामी तयार छौँ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गृहमन्त्रीबाट राजीनामा दिएर मात्र सुधन गुरुङमाथि उठेका विषयको निरुपण नभएको बताए। कांग्रेसले सदनमा सुधनको विषयमाथि छानबिनका लागि आवाज उठाउने उनको भनाइ छ। निवर्तमान गृहमन्त्री गुरुङमाथि छानबिनका लागि संयुक्त रूपमा संसदमा आवाज उठाउने विपक्षी दलहरूको तयारी छ। आज बसेको विपक्षी दलहरूको संयुक्त बैठकले तत्काल संसद् अधिवेशन आह्वानको माग पनि गरेको छ। वैशाख ७ मा कांग्रेस प्रवक्ता देवराज चालिसेले गुरुङले राजीनामा दिएर अनुसन्धानलाई निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गर्नुपर्ने माग राखेका थिए। सोही विषय आगामी संसद् अधिवेशनको पहिलो दिनमै उठाउने कांग्रेस संसदीय दलको रणनीति छ। गृह मन्त्रालयको कार्यभार अहिले प्रधानमन्त्री बालेन्द्र शाहले सम्हालिरहेका छन्। गुरुङको विषयमा छानबिन गर्ने र निर्दोष देखिए पुनर्वहाली गराउने प्रधानमन्त्री शाहको तयारी देखिन्छ। प्रधानमन्त्रीलाई कार्यभार तोकिए पनि गृह मन्त्रालय भने निवर्तमान गृहमन्त्री गुरुङकै टिमले चलाइरहेको छ। गुरुङका स्वकीय सचिव जेम्स कार्कीले गृह मन्त्रालयमा कामकाज गरिराखेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य कार्कीले यसअघि प्रधानमन्त्री शाहको सचिवालयमा पनि काम गरेका थिए। उनी रास्वपामा प्रधानमन्त्री शाह निकट नेता मानिन्छन्। गुरुङले मन्त्रीबाट राजीनामा दिए पनि उनलाई मन्त्रीको स्वकीय सचिवकै हैसियतमा गृह मन्त्रालय हेर्न प्रधानमन्त्री शाहले खटाएका छन्। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार पार्टीका तर्फबाट अर्को नाम सिफारिस नभएसम्म गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै राख्ने छन्। नयाँ गृहमन्त्री नियुक्तिबारे कुनै छलफल नभएको सरकारका प्रवक्ता सस्मित पोखरेल बताउँछन्। रास्वपा प्रवक्ता मनिष झाका अनुसार अहिले गृह मन्त्रालय सहयोगीको भरमा प्रधानमन्त्रीले नै चलाउने छन्। निवर्तमान गृहमन्त्री गुरुङका स्वकीय कार्कीलाई यथावत् राखेर प्रधानमन्त्री शाहले मंगलबार गृह मन्त्रालय अन्तर्गत स्वकीय अधिकृतका रूपमा सुजन देवकोटालाई नियुक्त गरेका छन्।
२०८३ बैशाख १७
ताजा नेपाल
२०८३ बैशाख १७
ताजा नेपाल
२०८३ बैशाख १७
ताजा नेपाल