Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले गोकर्णस्थित बागमती करिडोर विस्तारको काम नेपाली सेनासँग समन्वय र सहकार्यमै सम्पन्न गरिएको स्पष्ट पारेका छन्।
मंगलबार जारी विज्ञप्तिमार्फत सांसद पाण्डेले सडक विस्तारका क्रममा सम्बन्धित सेनाको टुकडीलाई आवश्यक जानकारी पुग्न केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा सामान्य असहज अवस्था सिर्जना भएको स्वीकार गर्दै त्यसपछि नेपाली सेनाका प्रमुख सेनानीसँग छलफल र समन्वय गरी सेनाकै पूर्ण सहयोगमा काम सम्पन्न गरिएको बताएका छन्।
उनका अनुसार करिडोर विस्तारको कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण (केभिडिए), अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, पूर्वाधार विकास मन्त्रालय तथा नेपाली सेनाको समन्वयमा सम्पन्न भएको हो।
यसअघि संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पाण्डेले पनि करिडोर विस्तारका क्रममा सेनाका एक अधिकृतलाई समयमै जानकारी नपुग्दा केहीबेर समन्वयमा समस्या देखिए पनि त्यसपछि सेनासँग सहकार्य गरेर काम अघि बढाइएको बताएका थिए।
उनले निर्वाचन अभियानका क्रममा स्थानीयवासीले राखेको मागअनुसार अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण र नेपाल ट्रस्टसँग समन्वय गरी डोजर प्रयोग गरेर सडक खोलिएको जानकारी दिए।
पाण्डेका अनुसार काम सुरु भएपछि त्यहाँ नेपाली सेनाको टुकडी रहेको जानकारी पाएपछि आवश्यक समन्वयको जिम्मेवारी अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्षलाई दिइएको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरू पनि सोही केही मिनेटको समन्वय अभाव भएको अवस्थाका भएको उनको दाबी छ।
सांसद पाण्डेले वास्तविकता नबुझी सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत भ्रम फैलाउने, संस्थाबीच अनावश्यक विवाद सिर्जना गर्ने तथा तथ्यभन्दा फरक निष्कर्ष प्रस्तुत नगर्न सबैसँग आग्रह गरेका छन्।
२०८३ श्रावण १९
ताजा नेपाल
२०८३ श्रावण १९
ताजा नेपाल
२०८३ श्रावण १९
ताजा नेपाल