Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

१९ पत्रकारको मृत्यु, सञ्चारगृहहरू तहसनहस हुने स्थितिमा हजारौ बिरामी

काठमाडौं । राज्यको चौंथो अंगका रूपमा मान्यता पाएको सञ्चार जगत कोरोनाको दोस्रो प्रहारले अस्तव्यस्त बनेको छ । फ्रन्टलाइनमा खटिने सञ्चारकर्मीहरू कोरोनाको उच्च जोखिममा छन् भने धेरै संञ्चारगृहहरू आर्थिक संकटबाट गुज्रिरहेका छन् नेपालमा हालसम्म कोरोनाका कारण १९ पत्रकारको मृत्यु भइसकेको नेपाल पत्रकार महासंघले जनाएको छ । यसैगरि, ९ सयभन्दा बढी पत्रकार संक्रमित बनेको तथ्यांक पत्रकार महासंघसँग छ, यद्यपि वास्तविक संख्या योभन्दा धेरै ठूलो हुन सक्छ । २ सय सक्रिय संक्रमितमध्ये ४० जना अस्पतालमा रहेकोमा ५ जना आईसीयूमा उपचार गराइरहेका छन् ।
कोरोनाबाट मरेका पत्रकारहरु
निजी रेडियोहरुको छाता संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बान का अध्यक्ष तथा इटहरीस्थित सप्तकोशी एफएमका सञ्चालक चन्द्रप्रसाद न्यौपानेले पनि कोरोना संक्रमणबाट ज्यान गुमाए । विराटनगरको बिराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको ५० वर्षको उमेरमा गत जेठ १४ गते मृत्यु भएको हो । उनी सरकारद्वारा गठित विज्ञापन बोर्डका सदस्य समेत थिए । अन्नपुर्ण दैनिकमा कार्यरत दोलखाका पत्रकार रविन्द्र गौतमको गत जेठ १६ गते मृत्यु भयो । स्वास्थ्य अवस्था बिग्रिएपछि दोलखाबाट हेलिकोप्टरमा काठमाडौं ल्याएर उपचार गरिए पनि उनको ज्यान जोगिन सकेन । डेढ दशकदेखि स्वतन्त्र पत्रकारिता गर्दै आएका पाचँथरका एकराज भण्डारीको १५ गते मृत्यु भयो । उनी पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष समेत थिए । झापाको विर्तासिटी अस्प्तालमा उनको मृत्यू भएको थियो । विभिन्न पत्रिकामा साहित्यिक पत्रकारिता गर्दै आएका धनुषाका पत्रकार माधव आर्चायको गत ८ गते कोरोना संक्रमणका कारण मृत्यु भयो । रेडियो नेपालमा कार्यरत खोटाङका कृष्णप्रसाद ओझाको कोरोना संक्रमणका कारण जेठ ७गते ५४ वर्षको उमेरमा मृत्यु भएको थियो ।
रुपन्देहीका पत्रकार हिक्मत चौधरीको कोरोना संक्रमणका कारण ६० वर्षको उमेरमा गत जेठ ५ गते निधन भयो । उनी रेडियो लुम्बिनीमा कार्यरत थिए । पत्रकारहरुको श्रम समस्या समाधान गर्नुका साथै कोभिड १९ को सतर्कताका लागि विभिन्न सामग्री वितरण गरिरहेको महासंघका महासचिव रोशन पुरीले बताए । पुरीका अनुसार पत्रकारहरुलाई ४५ हजारभन्दा बढी मास्क, स्यानिटाइजर वितरण गरिएको छ भने केन्द्रिय कार्यालयमा ५ बेडको अक्सिजनसहितको बेडहरु तयार गरिएको छ । दाङका ३२ वर्षीय पत्रकार लक्ष्मण बस्नेतको जेठ ५ गते निधन भयो । दाङको रेडियो हापुरेमा स्टेसन मेनेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य थिए ।जनता टाइम्स अनलाइनका सम्पादक तथा सौर्य दैनिकका सहसम्पादक शान्तिराम कार्कीको गत जेठ २ गते मृत्यु भयो । उनी नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठानका अध्यक्षसमेत थिए । ३४ वर्षिय कार्कीको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कास्कीका पत्रकार गणेश पौडेलको बैशाख ३० गते कोरोना संक्रमणका कारण ज्यान गुमाए । उनी गण्डकी टेलिभिजनमा निर्देशकको रुपमा कार्यरत थिए । रौतहटको रेड टेलिभजनकी अध्यक्ष रमादेवी यादबको २९ वर्षको उमेरमा कोरोना संक्रमणका कारण मृत्यु भयो । उनको जिल्ला अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको हो । नागरिक दैनिकमा कार्यरत मुगुका सुमन मल्लको बैशाख ३० गते मृत्यु भयो । ४२ वर्षका उनी मधुमेह र उच्च रक्तचापका कारण दुई वर्षदेखि थलिएका थिए । आर्थिक अभावका कारण राम्रो उपचार नपाएर मृत्यू भएको परिवारले बताएका छन् । रौटहटको मधेश एफएमका स्टेशन म्यानेजर तथा ‘जनकपूर टुडे’का सम्वाददाता मनोज चौधरीको उपचारको क्रममा बैशाख २९ गते मृत्यु भयो । उनको १२ दिनअघि कोरोना पुष्टि भएको थियो । सि पोष्ट न्युज डट कमका सम्पादक तथा प्रकाशक दिनेश दाहालको वैशाख २५ गते कोरोना संक्रमणका कारण ज्यान गयो ।यसअघि पहिलो पनि ६ जना पत्रकार तथा पूर्वपत्रकारले ज्यान गुमाएका थिए । त्यसबेला कोरोना संक्रमणबाट मृत्यू हुनेहरुको नाम आधिकारिकरुपमा खुलाइएको थिएन । त्यसैले पहिलो लहरमा ज्यान गुमाउनेहरुको नाम अहिले पनि महासंघले सार्वजनिक गरेको छैन ।


सम्बन्धित समाचार