Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

२०८१ साल हिले दशैं हुने बताउँछन् मौसमविद

काठमाडौं । यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस वर्षको मनसुन बहिर्गमनको सम्भावना नभएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन् , दशैंसम्म मनसुन रहनसक्ने सम्भावना छ । त्यो भनेको वर्षा हुन सक्छ भनेको हो । सन् २०२२ मा पनि दशैंको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो ।

यस वर्षको मनसुन सरदर मिति जुन १३ भन्दा तीन दिन छिटो जुन १०अर्थात् जेठ २८ गते नेपाल भित्रिएको थियो । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ ।

यस वर्षको अक्टुबर २ असोज १७ गते घटस्थापनाको अघिल्लो दिन परेको छ । यसैगरी दशैंको टीका असोज २६ गते परेको छ । मौसमविदहरु मनसुनको प्रणालीलाई हेर्दा दशैंको टीकाको दिनसम्मै मनसुन नेपालबाट बाहिरिने सम्भावना नरहेको बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेल पनि यस वर्ष हिले दशैं हुने बताउँछन् । यस वर्ष दशैंसम्म मनसुन नबाहिरिने सम्भावना देखियो, डा. पोखरेलले भने, मंगलबारदेखि दशैंसम्मै वर्षाको सम्भावना छ ।

मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।
नेपालमा विगत एक दशकलाई हेर्दा सरदर मितिभन्दा पछिसम्म मनसुन कायम रहेको देखिएको छ । मनसुन बहिर्गमनको सरदर मिति ९अक्टुबर २० आउन १० दिन बाँकी छ । यतिबेलासम्म भारतको राजस्थानबाट मनसुन बाहिरिँदै गएको देखिन्थ्यो र त्यसको केही दिनपछि नेपालबाट पनि बाहिरिन्थ्यो ।

तर अहिलेसम्म मनसुन बाहिरिने कुनै पनि संकेत नदेखिएको जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी पोखरेल बताउँछिन् । ‘दशैंको बेलामा मनसुन बाहिरनका लागि यतिबेलासम्म विथड्रलको संकेतहरु देखिन्छ । तर अहिलेसम्म हाम्रो सिस्टमले कतै पनि विथड्रलको संकेत देखाएको छैन, उनले भनिन् । विगतका वर्षहरुमा पनि अक्टोबरसम्म मनसुन कायम रहेको र यस वर्ष पनि त्यस्तै सम्भावना रहेको उनले बताइन् ।

नेपालमा मनसुनी वर्षाको विवरण राख्न थालेको वर्ष १९६८ देखि हालसम्म सबैभन्दा ढिलो सन् २०१३ मा मनसुन बाहिरिएको थियो । सो वर्ष १९ अक्टुबरमा मनसुन बाहिरिएको रेकर्ड छ । यसैगरी सबैभन्दा छोटो अवधि सन् १९७९ मा ७३ दिनसम्म जुन २४ देखि सेप्टेम्बर ४ सम्म मात्र मनसुन कायम थियो ।

जुन, जुलाई, सेप्टेम्बर र अक्टुबर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यी चार महिनाको सरदर ११२ दिनको अवधिमा झण्डै १५ सय मिलिमिटर वर्षा हुन्छ । यस वर्ष भदौ अन्तिम सातासम्म ९७ प्रतिशत वर्षा भइसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल