Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । बौद्ध क्षेत्रमा तामाङ कल्याण गुठी र काठमाडौं महानगरपालिका वडा नं. ६ को सक्रियतामा सम्पन्न हुने साँस्कृतिक पर्वहरु यस पटक पनि शुरु हुँदैछन् । गुठीको पहलमा नेवार संस्कृतिसँग जोडिएका गाईजात्रा, रोपाइँजात्रा जस्ता ऐतिहासिक पर्वहरुलाई सम्पन्न गर्नका लागि काठमाडौं महानगरपालिकाको संस्कृति संरक्षण कोषबाट आवश्यक जुट्ने गरेको कुरा गाईजात्रा तथा रोपाइँजात्रा (घोनाइ जात्रा) मुल समारोह समिति २०८२ का प्रवक्ता सम्पूर्णकुमार लामाले बताएका छन् । लामाका अनुसार साउन २५ र २६ गते दुई दिन मनाइने यो पर्वका अवसरमा गुठीले १३ शीर्षकमा पुरस्कार समेत घोषणा गरेको छ । विभिन्न समूहमा प्रतिस्पर्धा गराई छनोट गरिने ती पुरस्कारहरुमा हल गोरु, युवा बाउसे, युवा रोपाहार, बाल रोपाहार, बाल बाउसे, व्यङ्ग्य, हास्य, युवा लाखे, बाल लाखे, झाँकी, घोडा, विद्यालयहरु र घोनाई मौलिक नाच रहेका छन् । यो प्रतिस्पर्धामा प्रथम हुनेलाई १० हजार, द्वितीय हुनेलाई ७ हजार, तृतीयलाई ५ र सान्त्वना २५ सय राशिको पुरस्कार व्यवस्था गरिएको कुरा आयोजकले बताएको छ । मुल समारोह समितिका संयोजक वरिष्ठ समाजसेवी जयमंगल लामाले नेपाली साँस्कृतिक पर्वहरुलाई बचाउनका लागि पनि तामाङ कल्याण गुठीको सक्रियता र स्थानीय संघ–संस्था र समाजसेवीहरुको सहयोगमा नेपाली संस्कृतिको संरक्षण गर्न यस्ता कार्यक्रमहरुलाई बचाउँदै जानुपर्ने बताउनुभयो । मुल समारोह समितिले विज्ञप्ति जारी गर्दै भनेको छ– नेपाल विविध धर्म र संस्कृतिको संगमस्थल हो । ऐतिहासिक, धार्मिक एवं साँस्कृतिक नगरी बौद्धको रोपाइँ जात्रा हाम्रो साँस्कृतिक विविधताभित्रको पहिचान हो । यो हाम्रो अमूर्त साँस्कृतिक सम्पदा हो । सँस्कृति राष्ट्रको गौरव हो । यस पर्वलाई स्थानीय तामाङ भाषामा ‘घोनाई’ भनिन्छ। घोनाई पर्व मुख्य गरी जनैपूर्णिमादेखि प्रारम्भ भई गाईजात्रा हुँदै रोपाइँ जात्रामा समापन हुन्छ । जनैपूर्णिमाको दिनलाई स्थानीय तामाङ भाषामा ‘घोनाई ह्या’ भनिन्छ । यस दिन विहानै मन्दिर, चैत्य, कुलदेवता र खेत–खेतमा क्वाँटी र तीतेपाती चढाइन्छ र घर–घरमा क्वाँटी खाने गरिन्छ । नेवारी भाषामा गाईजात्रालाई ‘सापारु’ भनिन्छ । विशेष गरी गाईजात्रा नेवारी समुदायले मनाउने गर्दछन् जुन मृत्युसँस्कारसँग सम्बन्धित पर्व हो । असार महिनाको रोपाइँको काम सकेर फुर्सदिला बनेका किसानहरू रोपाइँको प्रतीकात्मक स्वरूप झझल्को दिने गरी रोपार, बाउसे, हलीको भेषमा अभिनय सहित मनोरञ्जन गर्दै रोपाइँजात्रा मनाउने गर्दछन् । अर्कोतर्फ दिवंगतको स्मृतिमा घर–घरबाट रोपार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन छ ।
रोपाइँजात्राको उद्भव सम्बन्धी ठोस प्रमाण र आधार प्राप्त हुन सकेको छैन । यद्यपि लोक धारणा र प्रचलित किम्बदन्तीको आधारमा यस जात्राको बारेमा चर्चा गर्नुपर्ने हुन्छ । रोपाइँजात्रालाई गाईजात्राको प्रचलित जनश्रुतिको आधारमा व्याख्या गरिएको पाइन्छ । कान्तिपुरका मल्लकालीन राजा प्रताप मल्ल (सन् १६४१–१६७४) ले गाईजात्रा चलाएको हो भन्ने इतिहासलाई आधार मान्ने हो भने सोह्रौं÷सत्रौं शताब्दीदेखि नै रोपाइँजात्रा मनाउन थालिएको प्रतीत हुन्छ । राजा प्रताप मल्लको छोरा चक्रवतीन्द्र मल्लको कलिलै उमेरमा मृत्यु भएकोले पुत्र शोकबाट भावविह्वल आफ्नी रानी अनन्तप्रियालाई सान्त्वना दिन प्रताप मल्लले यो जात्रा चलाउन थालेका थिए भनिन्छ । बौद्धको सन्दर्भमा आफ्ना दिवंगत आफन्तजनको आत्माको शान्तिका लागि घर – घरबाट रोपार, बाउसे बनाई रोपाइँजात्रामा सहभागी गराउने चलन अधावधि चलेको पाइन्छ । राजा प्रताप मल्लले गाईजात्रा चलाएको हो भनिए तापनि जयस्थिति मल्लको समयभन्दा पहिले नै गाईंजात्रा शुरु भएको हो भनेर संस्कृतिविद् बताउँदछन् । गाई यात्रालाई जात्राको रूपमा विकास भने कान्तिपुरका राजा प्रताप मल्ल, भक्तपुरका राजा जगतप्रकाश मल्ल र ललितपुरका राजा सिद्धिनरसिंह मल्लको समयमा भएको हो भनिन्छ । त्यस बेलादेखि गाईजात्रामा बाजागाजाको संस्कार थपिएको हो भनिन्छ । गाईजात्रा तथा रोपाइँजात्रा शोक र मृत्युसँग सम्बन्धित पर्व हो । नेपाली संस्कृतिले शोकसँगै हाँसोमा पनि साथ दिन्छ भन्ने प्रतीकात्मक अर्थ बोकेको पर्वका रूपमा गाईजात्रा तथा रोपाइँजात्रालाई लिन सकिन्छ । रोपाइँजात्राका दिन आफ्नो आफन्तको मृत्युको शोकबाट दुःखी भएका परिवारजनले शोक र दुःखलाई बिर्सेर मृत्यु शाश्वत सत्य हो भन्ने आत्मानुभूति गर्दै हास्यव्यङ्ग्य, झाँकी, ख्याली आदिको रमाइलो अनुभूति गर्दछन् । अतः जसरी र जहिले शुरु भएको भए तापनि गाईजात्रा तथा रोपाइँजात्रा हाँसो, आँसु र उमङ्गको संगमको रूपमा रहिआएको छ ।
जबसम्म व्यक्ति वा समुदायमा आफ्नो संस्कृति आफैले वा आफ्नो समुदायले जोगाउन पर्छ भन्ने चेतना आउँदैन तबसम्म चुनौतीहरू हाम्रा सामु आई नै रहन्छन् । हाम्रा पूर्खाले नासोको रूपमा सुम्पेका हाम्रो पहिचान बनेका अमूर्त साँस्कृतिक सम्पदाको संरक्षण एवम् सम्बद्र्धनमा हाम्रो ध्यान जानु आवश्यक छ । यसै कुरालाई हृदयंगम गरी श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा काठमाडौं महानगरपालिका वडा नं. ६ को विशेष सहयोगमा रोपाइँजात्रालाई भव्य, सभ्य, मर्यादित र व्यवस्थित बनाउन गाईजात्रा तथा रोपाइँजात्रा ( घोनाई जात्रा) मूल समारोह समिति – २०८२ गठन गरिएको छ । जात्राको सफलताको लागि कार्य विभाजन समेत गरिएको छ । लाखे, रोपार, बाउसे, हाँस्यव्यङ्गय, घोडा, जोगी, झाँकी आदि प्रस्तुतिहरू रोपाइँजात्रामा समावेश हुनेछन् । साथै विद्यालयस्तरीय प्रस्तुतिहरू समेत रोपाइँजात्रामा समावेश गरिने छन् र उत्कृष्ट प्रस्तुतिलाई पुरस्कृत गरिने बताइएको छ ।
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल
२०८२ फाल्गुन २३
ताजा नेपाल