Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नेपाल प्रहरीका ५ डीआईजीको एआईजीमा बढुवा

काठमाडौँ । प्रहरी संगठनकाे नेतृत्व खालि हुनै लाग्दा नेपाल प्रहरीका ५ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले डीआईजीहरू वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । गृहसचिवको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले पाँचै जना डीआईजीलाई बढुवा सिफारिस गरेको थियो । सिफारिस भएका कुँवर मधेस प्रदेश, राई लुम्बिनी प्रदेश, थापा वाग्मती प्रदेश, ज्ञवाली कोशी प्रदेश र बज्राचार्य प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत छन् । एआईजीहरू विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अनिवार्य अवकाश पाएपछि उनीहरूको ठाउँमा बढुवा ५ डीआईजीको बढुवा गरिएको हो । थापा २०५२ र अरु ४ जना २०५१ सालमा निरक्षकबाट प्रहरी सेवा प्रवेश गरेका हुन् । आगामी चैत ११ देखि हालका महानिरीक्षक धिरजप्रताप सिंहसहित २०४९ मा सेवा प्रवेश गरेका सबै अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका छन् । यद्यपि यहीबीच सरकारले ३० वर्षे सेवा अवधि हटाएर अवकाशका लागि उमेर र पदावधि लगाउने गरी ऐन संशोधनको गृहकार्यसमेत गरिरहेको छ । यदि ऐन संशोधन भए अवकाशमा जान लागेका अधिकारीहरूको अवधि थपिन्छ ।