Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अचाक्ली बढ्यो सुन, १ लाख २० हजार पुग्ने अनुमान

चार वर्षअघि ५०/५५ हजार रुपैयाँ तोलामा पाइने सुनका लागि अब १ लाख १० हजार खर्चनु पर्ने भएको छ । आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चैत ५ गते, सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको छ । सुनको भाउमा अघिल्लो रेकर्ड भने माघ १९ गते कायम भएको थियो । सो दिन सुन प्रतितोला एक लाख ७ हजार ५०० रूपैयाँ पुगेर इतिहासकै सर्वाधिक महंगो भएको थियो । त्यसपछि भने सुनको भाउ केहि घटिरहेको थियो । फागुन २६ गतेदेखि भने सुनको भाउ नाटकीय रूपले वृद्ध भएको महासंघको तथ्यांकमा देखिन्छ । प्रतितोला एक लाख एक हजार ८०० रूपैयाँमा कारोबार भएको सुन त्यसयता तोलामै ८ हजार २०० रूपैयाँले महंगिएको छ । अथवा ९ दिनमा नै सुनको भाउमा उच्च वृद्धि देखिएको हो ।
अन्तरराष्ट्रिय बजारमा सुनको भाउमा उछाल आउँदा त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो । अमेरिकी बैंकिङ्ग क्षेत्र संकटग्रस्त अवस्थामा रहेको भन्दै लगानीकर्ताहरु त्रसित हुँदा सुन महंगिएको विज्ञहरु बताइरहेका छन् । बैंकलाई असुरक्षित मानिरहेका विश्वभरका लगानीकर्ताहरुले सुरक्षित लगानी खोज्दै सुनमा लगानी गर्दा भाउमा तीव्र बढोत्तरी भएको हो । अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेजर बैंकको टाट पल्टेयता नै सुनको भाउ बढिरहेको थियो । विश्वट्याक्स हेभन मानिने स्वीट्जरल्याण्डमा क्रेडिट सुइस बैंकको संकट ठूलो बनेपछि भने शुक्रबार विश्व बजारमा सुनको भाउ आकाशियो । सुन ३।४७ प्रतिशत वा प्रतिअउन्स ६६.७० डलरले बढेर सो दिन एक हजार ९८८.११ डलरमा कारोबार भएको थियो । सो दिन सुन २०२३ कै उच्च विन्दुमा पुगेको हो । यसअघि सुन फेब्रुअरीमा रेकर्डस्तर छोएको थियो । फेब्रुअरीमा सुन प्रतिअउन्स एक हजार ९७६ डलरसम्ममा खरिदबिक्री भएको थियो ।
यद्यपि अन्तरराष्ट्रिय बजारमा नाटकीय रुपमा सुनको भाउ बढ्नुमा डलर कमजोर हुनुलाई पनि सानो कारण मानिएको छ । विज्ञहरुले भने केहि समयदेखि सुनको भाउको मूल्यांकन अन्य वस्तुसरह नभएको भन्दै आपत्ति जनाइरहेका थिए । महंगी बढिरहँदा सुनको भाउ पनि बढेर कम्तिमा ३ हजार डलर पुर्याउनुपर्ने उनीहरुको माग थियो । जसको प्रभाव पनि बजारमा देखिएको हुन सक्छ । विश्व विज्ञहरुले २०२३मा सुनको भाउ थप बढ्ने अनुमान गरिरहेका छन् । यो वर्ष सुन प्रतिअउन्स २ हजार डलर पुग्ने आंकलन गरेका छन् ।
अन्तरराष्ट्रिय विज्ञहरुको विश्लेषण अनुसार नेपालमा सुनको मूल्य विश्लेषण गरिने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । विश्व संचारमाध्यमहरुले गरेको विश्लेषणको आधारमा हामीले पनि विश्लेषण गर्ने गरेका छौं । हामीले नेपालको अवस्था अनुसार सुनको भाउ तोक्ने होइन । शुक्रबार विश्वमा सुनको भाउ धेरै बढ्दा नेपालमा पनि आइतबार बढेको हो,नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए । महासचिव बज्राचार्यका अनुसार अहिले विश्वकै सुनबजार अस्थिर रहेको छ। अहिले सुनबजारमा केहि अन्यौल देखिए पनि सुनको भाउ बढ्न सक्ने बज्राचार्यको अनुमान छ ।
सुनको भाउ चार वर्षमा झण्डै दोब्बर भएको छ । नेपालमा तीन वर्ष १० महिना वा ४६ महिनामा सुन ५१ हजार रूपैयाँले महंगिएको छ । २०७६ को वैशाखमा तोलाको ५९ हजार रूपैयाँ रहेको सुन २०७९ चैतमा एक लाख १० हजार रूपैयाँ पुगेको छ । कोरोनाको समयसम्म आइपुग्दा नै सुन प्रतितोला १८ हजार रूपैयाँले वृद्धि भएको देखिन्छ । २०७६ कै चैत महिनाको १० गते सुन प्रतितोला ७७ हजार रूपैयाँमा कारोबार भएको थियो । कोभिड १९ फैलँदा जारी भएको लकडाउनका कारण नेपाली सुनचाँदी व्यवसायी महासंघले सो समय जेठको २४ गतेसम्सम्म सुनको भाउ तोकेको थिएन । जेठ २५ गते, सुन प्रतितोला ८७ हजार ४०० रूपैयाँ तोकिएको थियो । यसरी कोरोना महामारी फैलिएपछि नै नेपालमा सुनको भाउ ३३ हजार रूपैयाँले बढिसकेको महासंघको तथ्यांकमा देखिन्छ ।