Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अझै बिक्ला राष्ट्रवादको कार्ड

काठमाडौं । दिनभरि राष्ट्रवादका चर्का कुरा गर्नेहरु साँभ परेपछि दूतावास धाउँछन् यो नेपालको राजनीतिक दलको नियती नै बनेको छ । २६ महिनाअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘भारतले आफूलाई सत्याच्युत गर्न खोजेको’ बताएको थियो। २०७७ असार १४ गते मदन भण्डारीको ६९ औं जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ओलीको त्यो भनाइ आएको थियो। उनले भनेका थिए,‘भारतद्वारा अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतबाट आफ्नो प्रधानमन्त्रीको पदमा गम्भीर असुरक्षा पैदा भएको थियो।’ त्यो बेला ओली वाम गठबन्धन (एमाले–माओवादी) का तर्फबाट सरकारको नेतृत्व गरिरहेका थिए।
पार्टीभित्रै चेपुवामा परेर प्रधानमन्त्रीको कुर्सीमाथि खतरा देखेपछि त्यतिबेला ओलीको त्यो भनाइ आएको थियो। त्यसअघि २०७४ सालको आम निर्वाचनका बेला पनि मधेस आन्दोलन चलिरहँदा नेपाल–भारत सीमामा भएको नाकाबन्दीलाई ओलीले चुनावी मुद्दा बनाए। नाकाबन्दीका कारण आजित जनताको ठूलो समर्थन देखियो ओलीको पक्षमा। वाम गठबन्धनलाई मतमात्रै दिएनन् बरू दुई नजिककै बहुमत दिलाएर सरकारको नेतृत्वमा पु¥याए। अबको ११ दिनपछि मंसिर ४ गते अर्को आम निर्वाचन हुँदैछ। यतिबेलासम्म चुनाव उठेका प्रत्याशीहरूको भविष्य बक्सामा बन्द सइसकेको हुनेछ। त्यसअघि २०७४ सालकै शैलीमा फेरि एकपटक ‘राष्ट्रवाद’ चुनावी मुद्दा बन्न थालेको छ। र, यसको सुरूवात गरिदिएका छन् एमालेका अध्यक्ष ओलीले। केही दिनअघि चुनावी सभालाई सम्बोधन गर्न दार्चुला पुगेर ‘राष्ट्रवाद’ को ‘कार्ड’ फ्यालेका छन्।
दार्चुलाबाट प्रचार अभियान सुरू गर्दै ओलीले राष्ट्रियताको मुद्दालाई मुख्य चुनावी मुद्दा बनाउने प्रस्ट सन्देश दिए। चुनाव जिते नक्सामा समेटिएको भूमि फिर्ता ल्याउन दाबी ओलीले गरे। विगतमा नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी नेताका रूपमा आफूलाई स्थापित गरेका ओलीले यसपटक कालापानी, लिपुलेक, लिम्यिाधुरा समेटिएको नक्साअनुसार नेपाली भूमि फिर्ताको विषय उठाएका हुन्। दार्चुलाको खलंगामा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले भनेका थिए,‘हामीले नक्सा जारी गरेका छौं। संसदले सर्वसम्मत पारित गरेको छ। त्यो भूमि हामी फिर्ता ल्याउँछौं, आज ग्यारेन्टी गर्न चाहन्छौं।’ ओलीले भनेका थिए– भारतले मिचेको जनिम एक इन्च पनि छाड्दैनौं। फिर्ता लिन्छौं। अघिल्लोपटकको निर्वाचनमा सफल भइसकेको राष्ट्रवादको ‘कार्ड’ यसपटक पनि सफल हुने ओलीलाई लागेको छ। चुनावका बेला वा त्यसबाहेक पनि राष्ट्रवादलाई ‘अस्त्र’ का रूपमा ओलीले प्रयोग गर्न चाहिरहेका छन्।
नाकाबन्दीका बेला उनले फ्यालेको राष्ट्रवादको ‘कार्ड’ जस्तै यसपटक सफल होला वा नहोला त्यसका लागि मंसिर ४ सम्म कुर्नुपर्ने हुन्छ। तर, ओलीको यो ‘अस्त्र’ लाई यसपटक सत्ता गठबन्धनका नेताहरूले प्रतिवाद गर्न थालेका छन्। चुनाव जिते नक्सामा समेटिएको भूमि फिर्ता ल्याउने ओलीको दाबीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘काउन्टर’ जवाफ दिएका छन्। संवेदनशी विषयलाई भोट माग्ने माध्यम बनाउनु अनुचित हुने ओलीको त्यो अभिव्यक्तिप्रति लक्षित गर्दै देउवाले भनेका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले व्यवहारतः सीमामा पुग्न चेतावनी दिएर ओलीको राष्ट्रवादी ‘कार्ड’ लाई चिर्ने प्रयास गरेका छन्।
राष्ट्रवादी ‘कार्ड’ चिर्न देउवाले एमाले अध्यक्ष ओलीलाई बन्दुक लिएर सीमामा लड्न जान चुनौती दिएका छन्। शनिबार डडेलधुराको अजयमेरू गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले दार्चुला पुगेर भाषण गर्दैमा अतिक्रमित भूमि फिर्ता नहुने ओलीलाई जवाफ फर्काए। भाषण गरेर नभएर कूटनीतिक माध्यमबाट जग्गा फिर्ता हुने बताउँदै देउवाले एमाले अध्यक्ष ओलीलाई काउन्टर जवाफ दिएका छन्। ‘दार्चुलामा भाषण गरेर लिम्पियाधुरा आउँछरु कि लड्नुप¥यो। बन्दुक ल्याउनुहोला। होइन भने कूटनीतिक माध्यमबाट आफ्नो भूमि फिर्ता ल्याउने हो,’ उनले भनेका थिए,‘भाषणमा त हामीले काठमाडौंमै बसेर भारत नै हाम्रो हो भनिदिन पनि सक्छौं। भाषण गर्दैमा भूमि फिर्ता हुने होइन।’ ओलीले आफ्नो पहिलो चुनावीसभामा लिपुलेकलाई प्रमुख चुनावी मुद्दा बनाउँदै आफ्नो कारणले चुच्चे नक्सा पास भएको बताएका थिए। उनले राष्ट्रियताको मामिलामा गठबन्धन दलहरू अनुउत्तरदायी भएको आरोप पनि लगाएका थिए। एमालेले प्रमुख चुनावी मुद्दा नै लिपुलेकलाई बनाएपछि सत्ता र प्रतिपक्षबीच सबालजवाफ सुरू भएको छ, यतिबेला।


सम्बन्धित समाचार