Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जेनजी आन्दोलनपछि पार्टीको नेतृत्व परिवर्तन गर्दै अघि लैजाने सोच काँग्रेसका युवा दुई महामन्त्रीले बनाए पनि उनीहरुको सोच अनुसार पार्टी चल्न नचाहँदा त्यहाँको विवाद चरम उत्कर्षमा पुगेको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पटकपटक स्थगित गरेर शीर्ष तहमा सहमति खोज्ने प्रयास गरिए पनि शुक्रबार पनि सहमति जुट्न सकेन । बिहीबारको बैठक शनिबारको लागि सारेर शीर्ष तहका नेताहरूको हिजो र आज अनौपचारिक छलफल भएको थियो । बैठकमा सहभागी नेताहरुको अनुसार शुक्रबार रातिसम्म सहमति हुन नसकेपछि शनिबार बिहान पुन शीर्ष तहका नेताहरुको अनौपचारिक छलफल हुने भएको छ । पछिल्लो समय संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका ल्याउने तर विशेष महाधिवेशनको लागि गरिएको माग फिर्ता गर्नुपर्ने शर्त राखेको नेताहरुले जानकारी गराएका छन् । विशेष महाधिवेशन पक्षधर भने उक्त शर्त स्वीकार्न तयार छैनन् । नियमित महाधिवेशन पुसभित्रै भए विशेषको माग स्वत निष्क्रिय हुने विशेष पक्षधरको तर्क छ । विशेष महाधिवेशनको लिखित प्रस्ताव फिर्ता नहुने केन्द्रीय सदस्य मधु आचार्यले बताउँछन् । कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले २९ असोजमा लिखित माग गरेर कार्यबाहक सभापति पूर्ण बहादुर खड्कालाई प्रस्ताव पेश गरेका थिए । विधान अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र महाधिवेशन आह्वान गर्नुपर्छ । विशेष महाधिवेशनको लागि माग गरिएको समयावधि २८ पुसमा सकिन्छ । महाधिवेशन चुनाव अघि वा पछि र विशेष महाधिवेशनको प्रस्तावको विषयमा विगत पाँच सातादेखि कांग्रेसमा छलफल भएपनि निकास निस्केको छैन । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पुस १६ देखि १९ सम्म नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । नेता डा। शेखर कोइराला नियमित महाधिवेशन हुन नसके विशेषमा जानुपर्ने विचार राखेका छन् । सभापति शेरबहादुर देउवालाई भेटेका नेताहरूका अनुसार उनी अलमलमा देखिन्छन् । साथै, उनलाई भेट्न जाने सबै पक्षका नेताहरुलाई आपसी सल्लाह गरेर सहमति जुटाउन सुझाव दिँदै आएका छन् । पूर्व पदाधिकारीको एक समूह चुनावअघि कुनै पनि प्रकृतिको महाधिवेशन गर्न नहुने पक्षमा देखिएको छ । केन्द्रीय समिति बैठक स्थगित गरेर शीर्ष तहमा छलफलमा जुटेका नेताहरुको अनुसार शनिबारको बैठक भने स्थगित हुने छैन । २८ असोजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा नेताहरूको बोल्ने क्रम भने सकिएको छ । महाधिवेशनको विषयमा सर्वसहमतमा निर्णय हुने परिस्थिति नबनेपछि बैठक रोकेर नेताहरू अनौपचारिक छलफलमा जुट्दै आएका छन् ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल