Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सत्ता गठबन्धनलाई नै धर्मराउने अवस्थामा पु¥याएको गभर्नर नियुक्ति ठूलो आलोचना सहँदै पूरा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त भएको एक महिनापछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गरेका छन्। तर, यसका लागि उनले पहिलोपटक सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको थर्काइ खानु पर्यो। वैशाख ३ गते नै देउवाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन ओलीलाई नाम दिएका थिए। तर, ओलीले अटेर गर्दै लगे। यद्यपि, भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट दिएको राजीनामा राष्ट्र बैंककै कायममुकायम गभर्नर नीलम ढुङ्गानाले स्वीकृत नगरेको कारण नियुक्त गर्न समस्या भएको ओलीले देउवा समक्ष बताएका थिए। जबकि, देउवा साताव्यापी उपचारका लागि बैंकक गएका थिए। यता भट्टको राजीनामा स्वीकृत पनि भएन र गभर्नर नियुक्ति गर्ने सिफारिस समितिको बैठक पनि बसेन। यसले कांग्रेस नेताहरू असन्तुष्ट बन्दै गए। देउवा स्वदेश फर्किएपछि वैशाख १३ गते ओली भेट्न बालुवाटार गए। देउवाले गभर्नर नियुक्तिमा ढिलाइको कारण सोधे। ओलीले प्राविधिक कारणले रोकिएको जवाफ दिए। अर्थमन्त्री पौडेलले पनि कायममुकायम गभर्नर नीलम ढुङ्गानाले कार्यकारी निर्देशक भट्टको राजीनामा स्वीकृत नगरेकैले रोकिएको सुनाए। छिटो गर्नुपर्यो, ढिला गर्दा बाहिर सन्देश राम्रो जाँदैन, देउवाले भनेका थिए। लगत्तै प्रधानमन्त्री ओलीले अर्थमन्त्री पौडेललाई नीलमसँग कुरा गरेर तत्काल भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिए। वैशाख १४ गते पौडेलले नीलमलाई बोलाएर भट्टको राजीनामा स्वीकृत गरेर पठाउन सुझाए। तर, नीलमले मानिनन्। भट्टको राजीनामा कुनै हालतमा स्वीकृत नगर्ने उनले अड्डी कसिन्। बरु राष्ट्र बैंक छोड्न तयार रहेको बताइन्। वैशाख २० र २१ गते फेरि ओली भेट्न देउवा बालुवाटार गए। गभर्नर नियुक्तिले पार्टीभित्र दबाब बढेको सन्देश लिएर पुगेका देउवासमक्ष ओलीले २४ गते भट्टको राजीनामा स्वीकृत गराएर २५ गते गभर्नर नियुक्त गर्ने समयसीमा दिए। यही सन्देश लिएर देउवा फर्किए। सोही कुरा पार्टीका नेतालाई दिए। वैशाख २५ गते पनि गभर्नर नियुक्ति त परैको कुरा, कार्यकारी निर्देशकबाट भट्टले दिएको राजीनामा समेत स्वीकृत भएन। यसले देउवालाई झस्कायो। अनि फेरि ओली भेट्न गए बालुवाटार। तर, यसपटक ओलीले कुरा फेरे। भट्टलाई गभर्नर बनाउन नसकिने भयो भन्दै ओलीले देउवा समक्ष नयाँ नाम दिन आग्रह गरे। यद्यपि, त्यसमा भट्टलाई नै गभर्नर बनाउन कोसिस गर्ने पनि उल्लेख थियो। वैशाख २६ गते पार्टीको पदाधिकारी बैठकमा देउवाले ओलीबाट आएको नयाँ विकल्पबारे ब्रिफिङ गरे। तथापि, गुणाकरलाई नै बनाउन अन्तिमसम्म जोड गर्नेमा उनीहरू पुगे। भट्टको राजीनाका स्वीकृत हुने सम्भावना कमजोर बन्दै गयो। वैशाख २७ गते देउवाले ओलीसमक्ष अर्थविद् डा विश्व पौडेललाई गभर्नर बनाउने नयाँ प्रस्ताव गरे। अर्थमन्त्री पौडेल संयोजकत्वको गभर्नर सिफारिस समितिका विज्ञ सदस्य रहेका पौडेलको नाम आएपछि ओलीले मिलाएर गर्ने जवाफ दिए। पौडेलले वैशाख २८ गते गभर्नर सिफारिस समितिबाट राजीनामा दिए। तर, उनलाई पनि गभर्नर नियुक्त गर्न ओलीले ढिलाइ गरे। ११ दिनसम्म पनि गभर्नर नियुक्त नभएपछि ओलीसँग रुष्ट भएका देउवा मंगलबार बालुवाटार पुगे र निकै आक्रोश पोखेको उनीनिकट एक नेताले बताए।
२०८२ असार २
ताजा नेपाल
२०८२ असार २
ताजा नेपाल
२०८२ असार २
ताजा नेपाल