Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताबारे सर्वोच्च अदालतले दिएको फैसला स्वीकार्ने निर्णय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गरेको छ। शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा देउवा पक्षका नेताहरूले सर्वोच्चको निर्णय मान्ने निष्कर्ष निकालेका हुन्। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले ‘हामीले फैसला स्वीकार्ने निर्णय गरेका छौँ’ बताए।
उनका अनुसार बैठकमा सर्वोच्चको फैसला र पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्ने विषयमा छलफल भएको थियो। साथै, अब खड्का निवर्तमान कार्यवाहक सभापतिकै हैसियतमा रहने विषय पनि स्वीकार गरिएको उनले जानकारी दिए।
शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने फैसला गरेको थियो। यसअघि खड्का कार्यवाहक सभापतिका रूपमा काम गर्दै आएका थिए र सोही हैसियतमा प्रेस विज्ञप्तिहरू पनि जारी गर्दै आएका थिए।
विश्वकर्माले सर्वोच्चको निर्णयप्रति केही असहमति भए पनि त्यसलाई स्वीकार्ने सहमति भएको बताए। उनले भने, ‘हाम्रा केही फरक मत छन्, तर स्वतन्त्र न्यायपालिकाको निर्णयलाई नेपाली कांग्रेसले सधैं सम्मान गर्दै आएको छ, यसपटक पनि गर्छ।’
उनका अनुसार कानुनी र वैधानिक विवाद टुंगिए पनि राजनीतिक चुनौती अझै बाँकी छ। अब पार्टीलाई कसरी अघि बढाउने भन्ने जिम्मेवारी सभापति गगन थापामा रहने उनले बताए।
उनले निर्वाचन आयोगले कार्यसमितिलाई मान्यता दिँदा पनि देउवाले पार्टी एकता जोगाउन प्रतिनिधि सभा निर्वाचनमा सहभागी गराएको स्मरण गरे। सर्वोच्चमा मुद्दा विचाराधीन हुँदा फागुन २१ मा भएको निर्वाचनमा देउवा पक्षका नेताहरू पनि थापाको टिकटमा चुनाव लडेका थिए।
अब पार्टी एकता जोगाउने जिम्मेवारी देउवाबाट थापामा सरेको विश्वकर्माले बताए। ‘पहिले पार्टी सञ्चालनको मुख्य जिम्मा देउवामा थियो भने अब सर्वोच्चको निर्णयसँगै त्यो जिम्मेवारी गगन थापामा आएको छ,’ उनले भने।
उनले थपे, ‘अब पार्टीलाई कसरी एकताबद्ध बनाउने, कसरी सुदृढ र व्यापक बनाउने भन्ने कुरा गगन थापाको नेतृत्वमा निर्भर हुनेछ। सबैलाई एकजुट गरेर अघि बढ्ने वातावरण सिर्जना गर्नु उहाँको मुख्य चुनौती हो।’
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल