Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अफतावको पक्षमा दुई दर्जनबढी वकिल

काठमाडौं । रौतहट बम विस्फोट प्रकरणका मुख्य अभियुक्त कांग्रेस नेता मोहम्मद अफताव आलमको अदालती बयान सकिएको छ । मंगलबारदेखि शुरु भएको बहस बिहीबार दिउँसो १ः२० बजेतिर सकिएको हो । अब केही समयमै आलमको थुनछेक बहस शुरु हुने छ ।
आलमको तर्फबाट बहस गर्नका लागि २८ जना कानून व्यवसायीहरुले वकालतनामा दर्ता गराएका छन् । आलमको पक्षबाट बहस गर्ने कानून व्यवसायीहरुमा वरिष्ठ अधिवक्ताहरु शेरबहादुर केसी, योगेन्द्र अधिकारी, सुनिल पोखरेल, कृष्ण घिमिरे लगायत छन् ।
यस्तै, सरकारको तर्फबाट महान्यायाधीवक्ताको कार्यालयका एकजना सहमहान्यायाधीवक्ताको नेतृत्वमा ५ जना सरकारी वकिलहरुले बहस गर्ने छन् । यस्तै, आलमविरुद्ध जाहेरी दिने पीडित पक्षका तर्फबाट ९ जना कानून व्यवसायीले बहस गर्नका लागि आफ्नो वकालतनामा दर्ता गराएका रौतहट जिल्ला अदालतका श्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।
२७ चैत २०६४ मा भएको बम विस्फोट र विस्फोटमा घाइते भएका व्यक्तिलाई इटाभट्टामा जलाएर मारेको अभियोगमा कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य आलमसहित ११ जनाविरुद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रौतहटले १२ वर्ष अगाडिको घटनामा आलमसहित १० जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग तथा विस्फोटक पदार्थ भण्डारण र उत्पादन कसुरमा जन्मकैद सजायको मागदाबी सहित सोमबार अभियोग पत्र दायर गरेको थियो । उक्त प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले १ जनालाई मतियारको रुपमा प्रस्तुत गरी अभियोग पत्र दायर गरेको छ ।